कति पढेका छन हाम्रा नेता र मन्त्रीले ? हेर्नुहोस नालीबेली

टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ ।

डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ ।

यही सन्दर्भमा दीपेन्द्र सापकोटाले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलेका छन् ।

पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित

५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।

डबल डिग्री गरेका दुईजना

मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् ।

प्रधानमन्त्री एमए पास

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् ।
भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् । भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् । अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् ।

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् । स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् ।

गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बिए गरेका मन्त्रीहरु उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् ।

विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् ।

वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् ।
कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् ।

भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् । ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् । उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।

आइए पढेका मन्त्रीहरु 

आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् ।पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् ।जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् ।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् । पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् ।

एसएलसी मात्र गरेका

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् ।ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् ।कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ ।

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ । सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् ।

अन्डर एसएलसीवाला/स्वअध्ययनवाला

गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।

यी हुन् विदेश पढेका नेता

शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् ।

डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए ।

डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए ।

महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे ।

रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ ।

पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् ।

डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए ।

डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् ।

डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् ।

भारतमा पढ्ने धेरै

नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् ।

डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् ।

के भन्छन् कम पढेका मन्त्री ?

अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु ।

मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो ।

पढाइ नै निर्णायक होइन

नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन्

डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् ।

तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ ।
विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् ।

तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ नयाँ पत्रिकावाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here