विष्णु माझीलाई किन बाहिर आउन दिँदैनन् सुन्दरमणि ? कहाँ छिन् विष्णु ?

लोकदोहोरी गीतको दुनियाँमा अलग पहिचान बनाएकी गायिका विष्णु माझीका विषयमा धेरैलाई थाहा नहुन सक्छ । राष्ट्रियस्तरको कलाकारका विषयमा सोधीखोजी हुनु स्वभाविक पनि हो । तर, विष्णु गुमनाम छिन् । कसैसँग सम्पर्कमा आउँदिनन् ।

विष्णुले गाउने वा नगाउने भन्ने विषय उनको इच्छाअनुसार हुँदैन भन्छन् सहकर्मीहरू । नाम उल्लेख नगर्ने सर्तमा एकजना गायक भन्छन्, ‘सुन्दरमणि अधिकारीले विष्णु माझीलाई एकाधिकार बनाएर राखेका छन् । गीत गाउने वा नगाउने सबै कुराको निधो अधिकारीले गर्छन् । मिडियामा पनि आउन दिँदैनन् ।’

गायिका माझीका विषयमा मिडियालाई पनि धेरै थाहा छैन । माझीका विषयमा सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन । सुन्दरमणि अधिकारीले आफ्नो मोबाइल फोन उठाएनन् । अचम्मको कुरा त के छ भने सामाजिक सञ्जाल र मोबाइलको दुनियाँमा गायिका माझीले मोबाइल नै बोक्दिनन् । सामाजिक सञ्जाल पनि चलाउँदिनन् । उनलाई यो अवस्थामा सुन्दरमणिले पु¥याएको सहपाठी गायक गायिकाहरूको आरोप छ ।

विष्णुले एउटा गीत गाएको ४० हजार रुपियाँ पारिश्रमिक लिन्छिन् । यति धेरै महँगी गायिका हुँदा पनि माझीको माग बजारमा धेरै छ । उनका समकक्षी कलाकारसँग उठबस छैन । कतिसम्म भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि गायिका माझीले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाइ छ । विष्णुको फोटो कसैले खिचेर लिक गर्ने डर सुन्दरमणिलाई सधै रहन्छ । विगत ८–१० वर्षदेखि विष्णुको तस्बिर सार्वजनिक भएको छैन ।

काठमाडौं बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका गुमनाम छिन् । विष्णुलाई सार्वजनिक जीवनबाट किन लुकाएर राखिएको हो सुन्दरमणिले कसैलाई केही बताएका छैनन् । बताउन पनि चाहँदैनन् । सुन्दरमणि नाताले विष्णुका श्रीमान् हुन् । आठ वर्षको ‘लिभिङ टुगेदर’पछि उनले करिब तीन वर्षअघि पोखराको एक मन्दिरमा विष्णुसँग गुपचुप विवाह गरेका थिए । तर, अहिले सुन्दरमणि विष्णुसँगको विवाहको विषय निकाल्न रुचाउँदैनन् । विवाहपछि विष्णुले बच्चा जन्माएको सुन्दरमणिलाई चिन्नेहरू बताउँछन् ।

१५ वर्षकै उमेरमा दोहोरी गाउन विष्णु बाहिर जिल्ला पनि पुगिसकेकी थिइन् । विष्णुलाई पहिलोपटक स्टेजमा गाउने मौका दिने गायक नारायण लेकाली हुन् । अहिले नारायणसँग विष्णुलाई सुन्दरमणिले बोल्न र भेट्न दिँदैनन् ।

स्याङ्जा रत्नपुर गाविस– ६ मा जन्मिएकी विष्णुका बाबुआमा अहिले पनि मजदुरी गर्छन् । आर्थिक अवस्था कमजोर छ । कमजोर आर्थिक अवस्थाका कारण विष्णुले ५ कक्षामाथि पढ्न सकिनन् । पोखरातिरका कलाकारसँग मात्र होइन, काठमाडौंमा भेटिएका लोकसर्जकसँग पनि विष्णुको सम्पर्क छैन ।

सुन्दरमणि कास्की जिल्लाको लेखनाथ नगरपालिकाका बासिन्दा हुन् । सपना म्युजिक प्रालिका मालिक सुन्दरमणि गायनका अलावा शब्द लेखन र लय संकलनमा पनि सक्रिय छन् । विष्णुलाई सामाजिक जीवनबाट टाढा राखे पनि सुन्दरमणि आफूचाहिँ लोकगीतका भिडियोमा मोडलिङ गर्छन् ।

२०७३ फागुन २९ -dainik nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here