भगवान गणेशको अङ्गप्रत्यङ्गमा लुकेको रहस्य, यो पढेर सक्दो सेयर गर्नुस् गणेश भगवानको आशिर्वाद मिल्नेछ 

भगवान् श्रीगणेशको रूपमा सामान्य देवता र प्राणीमा पाइने रूप भन्दा भिन्न स्वरूप रहेको पाइन्छ । यी भिन्नताले आआफ्ना छुट्टाछुट्टै महत्वलाई दर्शाउने गर्दछन् । भगवान् श्रीगणेशको पूजा अन्य समस्त देवताहरू भन्दा पहिले गर्ने गरिन्छ । कुनै पनि काममा कुनै किसिमको बिध्न बाधा उत्पन्न नहोस् भन्ने कामनाले जुनसुकै काम थालनी गर्नुभन्दा पहिले सबैले भगवान् श्रीगणेशको आराधना र स्मरण गर्ने चलनको स्थापना भएको हो । यस आलेखमा भगवान् श्रीगणेशको त्यो विचित्रको रूपभित्र लुकेका प्रतीकात्मक अर्थलाई खोतल्ने प्रयास गरिएको छ –

टाउको

भगवान् गणेशलाई गजवदन पनि भनिन्छ, यसको अर्थ हो श्रीगणेशको टाउको हात्तीको जस्तो छ । हात्तीलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणीका रूपमा लिइन्छ । कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर उच्च रहोस् र आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने सोच राखेको हुन्छ । भगवान् श्रीगणेशको शिरले कसैले पनि जुनसुकै कामको थालनी गर्दा समाजमा शिर झुक्ने काम नगरोस् भन्ने प्रेरणा प्रदान गर्दछ ।

त्यसैले हामीले कुनै पनि कामको थालनी गर्दा भगवान् श्रीगणेशको शिरको अग्रभागको स्मरण गरी समाजमा शिर ठाडो रहोस् र समाजका सामु टाउको निहुरिने परिस्थिति नआओस् भन्ने ज्ञान प्राप्त गर्नुपर्दछ । जीवविज्ञानका अनुसार हात्ती ठूलो प्राणी भए पनि यसले अन्य सबै चिजहरू आफुभन्दा ठूलो देख्छ । त्यसैले श्रीगणेशको हात्तीको शिरले संसारमा भएका समस्त प्राणीलाई आफुभन्दा ठूलो मान भन्ने उपदेश पनि प्रदान गर्ने कुरालाई पनि बिर्सनु हुँदैन ।

कान

भगवान् श्रीगणेशका कानहरू सूर्पाकार अर्थात् नाङ्लाजत्रा छन् । मानिसले कुनै पनि कामको थालनी गर्दा सबैका कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ । सबैका कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरुदेखि अन्त्यसम्म कुनै बिघ्नबाधा हुँदैन । गर्न लागेको काममा सफलता समेत प्राप्त हुन्छ । अरुसँग नसोधी वा अरुका धारणालाई वास्तै नगरी आफ्ना स्वेच्छाले गरिएको कुनै पनि काममा सफलता हासिल हुने कुरामा शङ्का र सन्देह हुन्छ । कसैले आफ्ना बारेमा नराम्रो गर्यो वा भन्यो भने पनि त्यसलाई सुन्न ठूलो र उदार कानको आवश्यकता पर्दछ । त्यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान् श्रीगणेशका ठुला कान र तिनको प्रतीकात्मक अर्थलाई मनन गरी हामी जुन काम गर्न खोज्दैछौं त्यस कामप्रति अरुका राम्रानराम्रा कुरालाई सुनेर व्यवहारमा ल्याउने वा पचाउनु पर्छ भन्ने शिक्षा प्राप्त गर्न सक्छौं ।

नाक

भगवान् श्रीगणेशको नाक नै सुँड हो, त्यसैले यसको आकार लामो हुन्छ । हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “फलाना मानिसले नाक काट्यो” । मान्छेले कुनै पनि काम आफ्नो प्रतिष्ठा र इज्जतको ख्याल गरी गर्नु आवश्यक छ । यदि समाजमा इज्जत र प्रतिष्ठा बचाउने काम गरेन र आफ्नो इज्जत फाल्यो भने सबैले त्यसलाई ‘नाककटुवा’ भन्नेछन् । त्यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान् श्रीगणेशको नामो नाकको प्रतीकात्मक अर्थ मनन गरेर हामीले जस्तो काम गरे पनि त्यसबाट नाक नकाटियोस् भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ र हाम्रो इज्जत र प्रतिष्ठा कायम होस् भन्ने ज्ञान ग्रहण गर्नुपर्दछ ।

भुँडी

भगवान् श्रीगणेशलाई ‘लम्बोदर’ भनिन्छ, जसको अर्थ ठुलो भुँडी भएको भन्ने हुन्छ । मान्छेले काम गर्दा त्यसको क्रिया-प्रतिक्रिया हुनु स्वाभाविक हो । कत्तिले गर्न लागिएको कामको प्रशंशा र कत्तिले विरोध पनि गर्न सक्छन् । विरोध गर्नेले ईर्ष्यावश रिस गर्न सक्छन्, भए-नभएका कुराहरू भन्न सक्छन्, त्यसैले कर्ताले ती राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ र यी सबै पक्षविपक्षका कुरालाई पचाउनु पर्ने हुन्छ । राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्नु पर्छ र नराम्रा कुरालाई पचाउनु पर्छ । पचाउनको लागि ठूलो भुँडीको आवश्यकता हुन्छ ।

कसैले विरोध वा प्रतीकार गर्यो भन्दैमा विवाद वा झगडा गर्ने लाग्यो भने काममा बाधा उत्पन्न हुन्छ र सम्पन्न गर्न सकिंदैन । यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो भुँडीको प्रतीकात्मक अवधारणालाई मनन गरेर अघि बढ्यौं भने कुनै पनि वादविवाद वा नकारात्मक पक्षलाई पचाउन सक्छौं र कार्यसम्पन्न गर्न सहजता प्राप्त गर्न सक्छौं ।

हात

भगवान् श्रीगणेशका चारवटा हात छन् । ती हातमा क्रमशः बन्चरो, लड्डु, वरमुद्रा र फूल रहेका छन् । जो दया, दण्ड, कोमलता र मिठासका प्रतीक मानिन्छन् । मान्छेले कुनै पनि कामको थालनी गर्दा दया, अनुशासन, प्रेरणा र सद्भावलाई ख्याल गरेमा निर्विघ्नतापूर्वक कार्यसम्पादन गर्न सकिन्छ भन्ने अर्थलाई यी वस्तुले द्योतन गर्दछन् ।

वाहन

मुसो आकारमा सानो भएपनि भगवान् श्रीगणेशको बाहनको प्रतिष्ठा पाउन सफल जीव हो । मुसो सानो भए पनि चलाख प्राणीका रूपमा यसको गणना हुन्छ । भारतीय उपमहाद्वीपमा मुसाले समुद्रपारिबाट अन्नको बिउ ल्याएको जनधारणा छ । मुसाबाट चलाखीपन र बुद्धिमत्ता ग्रहण गर्दै आफुभन्दा सानो र कम बुद्धि भएको मनुष्य र प्राणिको सहयोग र प्रेरणालाई पनि समयानुकूल उपयोग गर्दा कार्यसम्पन्न गर्न सहयोग पुग्छ भन्ने शिक्षा मूषकवाहन श्रीगणेशको वाहन मुसोबाट प्राप्त हुन्छ । त्यसैले हामीले कुनै पनि कामको थालनी गर्दा भगवान् श्रीगणेशको विशिष्ट रूप र वाहन मुसाबाट भिन्नभिन्न ज्ञान, प्रेरणा र प्रतीकात्मक अर्थ ग्रहण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here