नेपाली सिमा सुरक्षाका लागि रगत बगाउने देवनारायणलाई भारतले जेल हाल्यो, रिहाईको लागी दबाब सिर्जना गरौं ।  

गत वर्ष भारतीयको ज्यादतिविरुद्ध रगत बगाउने सप्तरीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका उनलाई पनि पक्राउ गरिएको बताइएको छ ।
भागी विवाह गरी अजयले भारतीय चेली नेपाल ल्याएको र सोहि प्रकरणमा बाबुछोरालाई पक्राउ गरिएको बताइएको छ ।

बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरिएको बताइएपनि सप्तरीका एसपी मुकेश सिंहले भने बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिए ।

सप्तरीको तिलाठास्थित दशगजा क्षेत्रमा भारतीयले दादागिरी शैलीमा बाँध बनाउन लागेपछि गत वर्ष उनको नेतृत्वमा सीमा रक्षार्थ जुट्दा यादव घाइते भएका थिए ।
त्यतिबेला उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने उनले सीमा रक्षार्थ मर्न पनि तयार रहेको लोकान्तरसँग बताएका थिए ।

सोहि अभिव्यक्तिले राष्ट्रवादी नेपाली भन्दै उनको निकै प्रशंशा समेत भएको थियो ।त्यतिबेला उनले भनेका थिए- मेरो घर सप्तरीको तिलाठी गाविस (तत्कालिन)मा छ । पारीपट्टि भारतको बिहार राज्य अन्तर्गत पर्ने कुनौली गाउँ छ ।

भारतका सरकारी अधिकारीहरू त्यो कुनौली गाउँका बासिन्दालाई बेलाबेला उचाल्छन् । र त्यहाँका बासिन्दा नेपाली जमिन डुबानमा पर्नेगरी बाँध बनाउन थाल्छन् । २०७१ सालमा दोस्रो संविधानसभाको निर्वाचन हुनुअघि पनि त्यसैगरी त्यहाँका बासिन्दालाई उचालियो र उनीहरूले नेपाली भूभाग डुबानमा पर्नेगरी बाँध बनाउन थाले ।

केही साथीहरू घर गइसकेका थिए । हामी थोरै थियौं । तैपनि फेरि त्यही ठाउँमा जाने निर्णय ग—यौं र हामी गयौं । मैले त्यहाँ पुगेपछि पछाडि फर्केर कुरा गरिरहेको थिएँ । त्यही बेलामा मलाई एक्कासी टाउकोमा बाँसको भाटाले हिर्काइयो । मैले लगाएको गम्छा निकालेर फालिदिए र टाउकोमा हिर्काए ।

छातीमा पनि हिर्काए । साथीहरूलाई पनि हिर्काएछन् । म ढलें । मलाई ढालिसकेपछि लतारेर उतै लान खोजेका रहेछन् तर गाउँका साथीभाइले छुटाएर ल्याएछन् । अहिले मेरो टाउकोमा ११ वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा पनि टाँका लगाइएको छ । शरीरभरि चोट नै चोट छ । तर मैले हिम्मत हारेको छैन । बरू मर्न तयार छौं, नेपाली जमिन मिच्न दिँदैनौं ।

लोकान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here