सवैले छोडे दीपकको साथ, चिया पिउने साथी पनि छैनन् 

‘त्यो बेलामा अमेरिका गएको भए के हुन्थ्यो’ भन्ने प्रश्नले दीपकराज गिरी मुस्कुराउँदै एकछिन घोत्लिए । सायद उनको मस्तिष्कको स्टोरमा धुलाम्य भइसकेका जीवनको पुराना पानाहरू एकाएक पल्टिएको हुनुपर्छ। त्यो दिन अमेरिका जाने सबै तयारी गरेर पनि अन्तिम अवस्थामा एकाएक यूटर्न भएका थिए ।

‘त्यो बेलामा अमेरिका भासिएको भए जीवन कहाँ हुन्थ्यो?’ उनीसँग यसको जवाफ छैन। उनले भने, ‘यसको लागि दिनेश दाइ (दिनेश डिसी) लाई धन्यवाद दिनुपर्छ । मैले दिनेश दाइको सल्लाहका कारण अमेरिका जाने योजना हापेको थिएँ।’

उनी जताततै असफल हुन थालेपछि परिवारबाट अमेरिका भासिनुपर्ने चर्को दबाब आइपरेको थियो । त्यसअघि पनि थुप्रै पारिवारिक दबाव झेलिसकेका उनीसँग अमेरिका जाने बाहेकको विकल्प थिएन।

बरालिएर हिँडेको भन्दै उनी खाना खाने समयमा खानाभन्दा बढी बुवाको गाली खान्थे । ती दिन सम्झिँदै ठट्टा गरे, ‘त्यो बेलामा खानासँगै गाली खाएर होला, म कहिल्यै मोटाउन सकिनँ।’

कलाकारितामा लाग्दाको सुरुवाती समय उनको लागि कठिनाइले भरिएको थियो । घरको खप्की कम गर्न वैकल्पिक पेशामा लाग्न खोजे पनि उनी असफल भइरहे । उनी पुलिसको जागिर खान जाँदा तालिमबाटै भागे । मास्टरीको काम पनि उनीबाट पार लागेन।

‘कलाकारितामा असफल भएको झोंक म विद्यार्थी पिटेर निकाल्थेँ’, उनले भने, ‘घरमा त बदनाम थिएँ नै, गाउँभरिमै म बदनाममा नम्बर १ थिएँ । गाउँका मान्छेहरू आफ्ना छोराछोरीलाई राम्ररी पढ् नत्र दीपक जस्तो होलास् भन्थे।’

दीपकका बुवा गाउँका पहिलो बिए पासका साथै पहिलो सेक्सन अफिसर भएकाले इज्जत ठूलै थियो । उनले बरालिएर हिँडेको छोरालाई लाइनमा लगाउन ठूलै सोर्सफोर्स लगाएर असईमा नाम निकालिदिएका थिए । तर, छोरा तालिमबाटै भागेपछि उनको केही जोड चलेन। जागिरबाट भागेका दीपक र बाबुबीच चोर–पुलिसको जस्तै लुकामारी चल्यो।

दीपकले अमेरिका त्यागे, बुवाले दीपक

छोराको हावादारी तालबाट दिक्किएका बाबुले अमेरिकामा रहेका दीपकका दाजुलाई फोन लगाए । ‘लौ न बाबु, भाइ बिग्रियो । केही कागज पठाइदे । जसरी नि यसलाई अमेरिका पठाउनुपर्‍यो।’ तर, दाजु आफ्नो भाइको बानीसँग परिचित थिए । उनले बाबुलाई भने, ‘कागज पठाउने र? मलाई त त्यसले यहाँ पनि दुःख दिन्छ । मलाई नि फसाउँला।’

अन्ततः बाबुसँग हार्न नसकेपछि उनका दाजुले कागजात पठाए । अमेरिका जाने तयारी अन्तिम चरणमा थियो । अन्तरवार्ता फेस गर्न बाँकी थियो । दीपकको मन अझै मानिरहेको थिएन । उनले दिनेश डिसीलाई सोधे, ‘दाइ म के गरुँ ?’

दिनेश डिसीले सुझाए, ‘कलाकार मात्रै बन्ने तिम्रो सोच हो भने अमेरिका नै जाऊ । यो जीवनमा तिम्रो केही हुनेवाला छैन । तिमी लेखक पनि भएकाले पछि निर्माण र निर्देशन पनि गर्छु भन्ने लाग्छ भने नजाऊ । तिम्रो भविष्य यहीँ छ ।’

दीपकले दोस्रो विकल्प रोजे । उनी अन्तर्वार्ता दिन गएनन् । कागजात ठिक्क पारेर छोरालाई अमेरिका उडाउन तयार भएर बसेका बाबुलाई रिसको पारो चढ्ने नै भयो । उनले दीपकलाई कठोर निर्णय सुनाए, ‘आजदेखि घरबाट एक रूपैयाँ पाउँदैनस् । स्वास्नी–छोराछोरी कसरी पाल्ने हो, आफैं कमाएर गर । आजबाट सम्बन्ध मात्र छ, अरू खत्तम!’

बुवाले त्यस्तो भनेको रात दीपक निदाउन सकेनन् । तर, असफल र हुतिहारा साबित भइसके पनि उनले जीवनमा हिम्मत भने हारेका थिएनन्।
‘मलाई भगवानमाथि के विश्वास थियो भने उनले कुनै दिन केही न केही मेरा लागि चमत्कार गरिदिनेछन् । त्यो रात अब म एक्लै हो भन्नेमा स्पष्ट भइसकेको थिएँ’, दीपक सम्झिन्छन्।

त्यसपछि बाबुसँगको उनको सम्बन्ध पातलिँदै गयो । दीपकले त्यतिबेलासम्म टेलिभिजनको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क’ मा खेल्न थालिसकेका थिए । त्यसैले मानिसहरू अलिअलि चिन्थे।

अमेरिका जाने योजना हापेपछि उनी दिनरात दिनेश डिसीसँगै हिँड्न थाले । घर जानै छोडे । ठमेलमा बस्ने निश्चल नामका साथीको घर उनको अड्डा थियो । साथीकी आमा दीपक आइहाल्छन् कि भनेर उनका लागि समेत भात पकाउँथिन् ।

रामविलास जब हिट भयो

संघर्षमा जुटिरहँदा यस्तैमा उनलाई लन्डन जाने मौका मिल्यो। ‘त्यो बेलामा लन्डनको अर्कै सान थियो । जो लुक्यो, त्यसको जीवन कायापलट । एक महिनाको कमाइले नेपालमा एक रोपनी जग्गा किन्न सकिन्थ्यो । हामी १८ जना गएका थियौं तर नेपाल फर्कँदा म, धिरज राई र ममता दीपविम मात्र थियौं,’ उनले त्यतिबेलाको लन्डनको चुम्बकीय आकर्षण सम्झिए, ‘कोही साथी बजारबाट भागे। कोही साथी स्टेजबाटै हराए। कति साथी नेपाल फर्कन भनी एयरपोर्टमा जाँदै गर्दा ट्वाइलेट जाने बहाना पनि लुके । मलाई पनि नफर्की, नेपाल गएर के गर्छस् भन्ने साथीभाइ थुप्रै थिए।’

फर्कदा दीपकसँग करिब ७० हजार रुपैयाँ थियो। ‘ट्वाक्कटुक्क’ आदिबाट २०–२५ हजारसम्म पैसा हात पार्दै आएका दीपकको हातमा यति धेरै पैसा परेको पहिलोपटक थियो । उनले बाबुको कुरा सम्झिरहेका थिए। छोराछोरी पढाउनुपर्छ भनेर त्यसलाई बैंकमा राखे।

लन्डनबाट नेपाल फर्किसक्दा दीपकको अवस्था फेरिइसकेको थियो । गायिका ज्ञानु राणा रेडियो नेपालमा कार्यक्रम निर्माता थिइन् । उनलाई एक घण्टाको कार्यक्रम बनाउने जिम्मा दिइएको थियो। दीपक रेडियो नेपालमा नाटकहरू गरिरहेका हुन्थे।

दीपकले तराईको लवज नेपाली बोल्ने रामविलास पात्र भएर एक्लै कार्यक्रम चलाउन थाले । ‘म कार्यक्रममा धनियाँसँग लभ परेको उल्लेख गरिरहन्थेँ । कार्यक्रममा स्रोताले ‘धनियाँ खै?’ भनेर सोध्न थालेपछि दीपाश्रीजीलाई धनियाँ बन्न आग्रह गरेँ। अनि सुरू भयो रामविलास र धनियाँको केमिस्ट्रिवाला कार्यक्रम । श्रोतामाझ चर्चा अझै बढ्न थाल्यो,’ सफलता सम्झिए।

जीवन दर्शनः घुमिरहने ढुंगामा लेउ लाग्दैन

दीपकको रेडियो जागिरको कुनै ठेगान थिएन। उनको जागिर खोसियो। दुई पटक त कार्यक्रम बन्दै भयो । एकपटक रामविलास नाम गरेका एक नेता जसको सालीको नाम धनियाँ थियो, उनको कारणले कार्यक्रम बन्द भयो । अर्कोपटक रेडियो नेपालको वार्षिकोत्सवमा गरेको ‘२०५’ नामक प्रहसनमा सांसदहरू व्यङ्ग्य गरेपछि उनको जागिर नै खोसिन पुग्यो । कार्यक्रममा राजा वीरेन्द्र प्रमुख अतिथि थिए।

‘टेलिभिजनको कार्यक्रम बन्द भइसकेको थियो । जागिर खोसिएपछि उनलाई केही कठिन पनि भयो । कान्तिपुर एफएमको जागिरले केहि भरथेग गर्‍यो । पछि नेपाल टेलिभिजनबाट ‘तीतो सत्य’ सुरू भएपछि मैले फर्केर हेर्नुपरेन’, उनले भने ।

बाबुसँगको वचनले केहि गरिछाड्छु भन्ने अठोट बोकेका दीपक आफ्ना बाबु र हजुरबाबुबाट विशेष प्रभावित छन् । पछि हुँदा उनको बाबुको पैसा नदिने निर्णयले नै अगाडि बढ्न प्रेरित गरेको उनी बताउँछन्। बाबुसँग सम्बन्ध त्यो बेलामा पातलो भए पनि उनका लागि कालाकारिताको संघर्षको दिनमा बाबुको एउटा भनाइले सधैं ऊर्जा दिइरह्यो’, दीपक भन्छन्, ‘बुवाले ‘घुमिरहने ढुंगामा लेउ लाग्दैन’ भन्नुहुन्थ्यो। त्यसको विशेष प्रभाव ममा परेको थियो । कला क्षेत्रमै एक दिन मेरा लागि पनि आउनेछ भनेर संघर्ष गरिरहें । हरेश खाइनँ।’

‘तीतो सत्य’ सुरू नहुँदासम्म पनि उनका बुवा ‘अरू त ठीकै छ। एउटा जागिर खाए हुन्थ्यो भनिरहनुहुन्थ्यो । रेडियो नेपलामा जागिर भएपछि खुसी हुनुभयो । नत्र बेलाबेलामा फलानोको छोरा डिएसपी भो । डाक्टर भो सुनाइरहनुहुन्थ्यो,’ उनले सम्झिए।

आमाको माया हजुरबुवाबाट

बाबुबाट जीवनमा थुप्रै गाली र आलोचना खेपेका दीपकले आफ्ना हजुरबुवाबाट भने लाडप्यार नै पाए । जीवनको अन्तिम कालसम्म पनि दीपकका हजुरबुवाले चिन्ता लिइरहे । सानैमा आमा गुमाएका उनी हजुरबुबाको काखमा नै हुर्केबढेकाले हजुरबुबाको चिन्ता स्वभाविक रूपले दीपकमाथि बढि थियो। आज पनि कुनै समस्या पर्दा एकान्तमा हजुरबुबाको याद आउँछ।

‘मलाई मनमा पीर वा कुनै समस्या पर्‍यो भने म राति गाडी चलाइरहेको बेलामा सडकमा गाडी साइड लगाएर हजुरबुबालाई सम्झन्छु । छेउको सिटमा बसेर दीपक सबै ठीक हुन्छ भनेको जस्तो अनुभव हुन्छ। त्यसैले मेरो सारा पीरलाई पर पुर्‍याइदिन्छ,’ उनले भने ।

दीपकले हजुरबुबाको आफूप्रतिको मायाको एउटा सम्झना सुनाए, ‘म पुलिसको तालिम छोडेर भागेँ । बुवामलाई खोज्दै आउनुभयो । म दिदीको घरमा लुकिरहेको थिएँ। त्यो समय नुहाँउदै थिएँ । पर देख्छु बुवा दुई जना मान्छेसँग आइरहनुभएको छ । म फेरि भाग्न थालेँ । बुवाले ‘नभाग हजुरबुवाबा बिरामी हुनुहुन्छ, त्यही भन्न आएको भन्नुभयो । म अस्पताल पुगें। मैले ‘बा’ भनेर बोलाएपछि हजुरबुबा तुरून्तै ठीक भएर घर फर्कनुभयो।’

सफलताले खोस्यो साथी र स्वतन्त्रता

‘यो सारा सफलता भोग्दा खुसी लाग्छ,’ जिन्दगीको यो यात्रामा उनले धेरैको मुखबाट सुनेका छन् भने कयौंपटक स्वयंले भनेका पनि छन् । दीपक यस्तो भन्नु एउटा झुट हो भन्छन्, ‘प्राप्तिको कुरा सबैलाई थाहा छ। यसको बारेमा के बोल्नु ? अहिले मसँग सँगै बसेर चिया खाने साथीभाई छैनन्।’

यसो भन्दै गर्दा दीपकको गला केहीबेर अवरूद्ध भयो । त्यसलाई लुकाउँदै उनले थपे, ‘सफलताको ठूलो मूल्य चुकाउनुपर्छ। अहिले आलोचकको संख्या असाध्यै बढेको छ । रिस त हामी नेपालीको स्वभाव नै भइहाल्यो। प्राप्तिले स्वछन्दता र स्वतन्त्रता खोसेको छ । मानिसलाई खास खुसी त यिनैबाट मिल्ने हो। बाँकी सब क्षणिक हो।’

आज दुनियाँको नजरबाट हेरिँदा दीपक सफल देखिन्छन् । तर, दीपकको मत फरक छ। उनी कसलाई भेट्दा कसरी हाँस्ने र कसरी बोल्ने भनेर सोच्दा व्यावसायिकता र पूरै बनावटी रुपमा प्रस्तुत हुनुपरेको ठान्छन्।

‘कतिसम्म व्यावसायिक भइएछ भने हाँस्ने काम पनि व्यावसायिक रूपमा तौलिएर हाँस्ने भइसकिएछ । स्वतन्त्रता र पुराना साथीभाइ त सफलताले कता टाढा छुटिसकेछन् । यसो हेर्छु, दिल खोलेर सँगै चिया खाने साथी नै छैनन्’, जिन्दगीको तीतो सत्य खुलेर सुनाए।

स्रोत: अशेष अधिकारी/ Nepal Live

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here