हेर्नुस् कति सुरक्षित छन् ठुला नेताहरु ?

गाउँदेखि सहरसम्म देश चुनावी पर्वमा होमिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले स्थानीय तहको निर्वाचनमा भन्दा धेरै चासो बढाएको छ । किनकी यो चुनावमा ठुला नेताहरु नै मैदानमा छन् । एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले पनि चुनावलाई थप रोचक बनाएको छ । बाम गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसले पनि राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग तालमेल गरेको छ ।

राष्ट्रिय जनता पार्टी र मधेसी जनअधिकार फोरमले समेत चुनावमा सहकार्य गरेका छन् । जसले गर्दा चुनावलाई थप प्रतिस्पर्धात्मक बनाएको छ । मधेसमा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेसकेन्द्रित दुई दलको गठबन्धनबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ । जसले उम्मेदवारहरुले निकै मेहनत गर्नुपर्ने देखिन्छ । अझ प्रेसर ठुला नेताहरुलाई छ । हुन त ठुला नेताहरुलाई जनताले अरुलाई भन्दा बढी बिश्वास गर्न सक्छन्, तर सहज भने छैन ।,

झापामा ओली ढुक्क
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसले ओलीसँग प्रतिस्धर्पा गर्ने उम्मेदवार नै पाएन । बिश्वप्रकाश शर्माको कुरा चलेपछि उनले आँट गरेनन् । पछि स्थानीयले समेत नचिनेका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ बाट ओलीले कांग्रेस उम्मेदवार सुरेशकुमार सुब्बालाई ८ हजारभन्दा बढी मतान्तरले पछि पारेका थिए । निर्वाचनका केही ठाउँहरु हेरफेर भएपनि ओलीलाई चुनाव जित्न कठिन छैन ।

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल काठमाडौं–२ बाट प्रतिस्पर्धा गर्दैछन् । पहिलो संविधानसभाको चुनावमा माओवादी उम्मेदवार झक्कु सुवेदीसँग पराजित भएका उनले दोस्रो संविधानसभा चुनावमा कांग्रेस उम्मेदवार प्रतिमा गौतमलाई ९ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका थिए । यसपटक नेपालसँग कांग्रेस उम्मेदवार दीपक कुइँकेल प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभाको चुनावमा दुई ठाउँबाट विजयी नेपालले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा कुइँकेल विजयी भएका थिए । जसकारण नेता नेपाललाई पनि चुनाव जित्न सहज छैन । अर्काेतर्फ विवेकशिल साझा पार्टीका नेता सूर्यराज आचार्यले पनि दुवै पार्टीका उम्मेदवारको भोट काट्ने देखिन्छ ।

झलनाथलाई सजिलो
झलनाथ खनाल इलाम–१ बाट प्रतिस्पर्धा गर्दैछन् । उनी सोही क्षेत्रबाट दुवै संविधानसभामा विजयी भएका थिए । पहिलो संविधानसभाको चुनावमा उनले नेपाली कांग्रेसका बेनुपराज प्रसाईंलाई हराएका थिए भने दोस्रोमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरे । यसपटक खनालसँग कांग्रेसका भूपेन्द्र कट्टेललले प्रतिस्पर्धा गर्दैछन् । बाम गठबन्धनका कारण खनाललाई पनि चुनाव जित्न कठिन छै्रन ।

वामदेव–सञ्जयको टक्कर
गौतम बर्दिया–१ बाट प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रबाट संविधानसभाको निर्वाचन २०६४ मा माओवादीकी उम्मेदवार सरला रेग्मीसँग ४ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । दोस्रो संविधानसभाको चुनावमा उनले माओवादीकै उम्मेदवारलाई करिब ७ हजार मतान्तरले पराजित गरे । यसपटक उनी नेपाली कांग्रेसका सञ्जय गौतमसँग प्रतिस्पर्धा गर्दै छन् । सञ्जय ०७० सालको चुनावमा बर्दिया–२ बाट विजयी भएका थिए । बाम पार्टीको प्रभाव सो क्षेत्रमा धेरै भएकाले गौतमलाई चुनाव जित्न समस्या नहुने सबै पार्टीका जिल्लाका नेताहरुको आँकलन छ ।

देउवालाई चुनौती
देउवा आफ्नो पुरानै क्षेत्र डडेल्धुरा–१ बाट चुनाव लड्दैछन् । डडेल्धुरामा प्रतिनिधिसभाको एउटा मात्रै चुनाव क्षेत्र छ । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन् । देउवासँग भट्ट दुई पटक पराजित भइसकेका छन् । २०६४ सालको निर्वाचनमा थोरै मतअन्तर भट्ट पराजित भएका थिए । देउवाले २० हजार ५ सय २९ मत ल्याएका थिए, भट्टले १९ हजार १ सय ६१ मत ल्याएका थिए । दोस्रो संविधानसभाको चुनावमा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्याउँदा भट्ट १२ हजार ३ सय ३२ मात्र ल्याए । सो क्षेत्रमा एमाले पहिला कमजोर थियो । तर स्थानीय तहमा एमालेले समेत जित हात पारेको देउवालाई निकै कठिन हुने देखिन्छ । चुनाव जित्न कठिन हुने भएपछि देउवाले कांग्रेसकै अर्काे गुटका कर्ण मल्ललाई प्रदेशसभाको टिकट दिएर आफ्नो पक्षमा पारेका छन् । उम्मेदवारी दर्तामा समेत आफु नगएपछि डडेल्धुराबासी देउवासँग रुष्ट बनेका छन् ।

पौडेललाई सकस
तनहुँ–१ बाट प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेललाई उम्मेदवारी दर्ताको दिन निकै तनावमा थिए । किनकी कांग्रेसकै नेता गोविन्दराज जोशीले समेत उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि उनलाई चुनाव जित्न केही सहज भएको छ ।

उनीसँग यसपटक पनि एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले प्रतिस्पर्धा गर्दैछन् । ०७० को दोस्रो संविधानसभा चुनावमा पनि पौडेलका मुख्य प्रतिस्पर्धी किसान नै थिए । त्यतिबेला पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा किसानले ११ हजार ७ सय ३९ मत पाएका थिए । बाम गठबन्धनका कारण यसपटक किसानको भोट बढ्ने देखिन्छ । सोझो र लोभी स्वभावका नेताका रुपमा चिनिने पौडेलविरुद्ध गोविन्दराज जोशीको समूह पनि लाग्ने सम्भावना छ । २०७० मा उनीविरुद्ध गुन्डा नाइके पूर्ण गुरुङले पनि बागीमा उम्मेदवारी दिएका थिए । यसपटक भने गुरुङले उनलाई सघाएका छन् ।

रविन्द्र मिश्रको चर्चा
काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह सधैं भारी मतान्तरले बिजयी हुँदै आएका व्यक्ति हुन् । त्यसकारण यसपटक बाम गठबन्धनबाट सो क्षेत्रमा चुनाव उठ्न दुवै पार्टीका नेताहरुले चासो दिएका छैनन् । अन्त्यमा माओवादीका युवा नेता अनिल शर्माले टिकट पाए ।

तर, सिंहलाई शर्माको भन्दा रबिन्द्र मिश्रको चिन्ता छ । सोमबारबाट चुनावी अभियान सुरु गरेका सिंहले शर्माभन्दा मिश्रको आलोचना गरे । राजनीतिक रत्नपार्कमा चटक देखाएजस्तो नभएको भन्दै उनले मिश्रको आलोचना गरे । १ नम्बरमा मिश्र र सिंहको नै प्रतिस्धर्पा हुने देखिन्छ । मिश्र एक महिनाअघिदेखि नै घरदैलो अभियानमा लागेका छन् । काठमाडौंका जनताको मत हरेक निर्वाचनमा फरक देखिने गरेको छ । मिश्रको बौद्धकता, इमान्दारीता र मेहनतले सिंहलाई झस्काएको छ । मिश्रको वाचामा काठमाडौंका जनताले बिश्वास गरेकामा क्षेत्र नम्बर १ को निर्वाचनको नजितामा भुईचालो आउने निश्चित छ । दोस्रो संविधानसभाको चुनावमा सिंहले १५ हजार १ सय ३९ मत ल्याउँदा प्रचण्डपुत्री रेणु दाहालले जम्मा ४ हजार ६३ मत ल्याएकी थिइन् ।

संकटमा सिटौला
कांग्रेस नेता कृष्ण प्रसाद सिटौला समानुपातिक सूचिमा बस्ने हल्ला धेरै पहिलादेखि चल्यो । तर, उनले त्यसलाई खण्डन गरिरहे । उनी पनि चुनाव लड्ने किन समानुपातिकमा बस्ने दोधारमा थिए । तर, अहिले समानुपातिकमा बस्दा आफ्नो राजनीतिक क्षेत्रबाट सधैंका लागि टाढा हुने देखेपछि उनी झापा–३ बाट प्रतिस्पर्धा गर्ने निर्णयमा पुगे । उनका मुख्य प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देन हुन् । जो निकै बलिया उम्मेदवार हुन् । उक्त क्षेत्रमा बाम गठबन्धनले उम्मेदवारी दिएको छैन । लिङदेनलाई नै सघाउने निर्णय गरेको छ । जसले गर्दा सिटौला समस्यामा छन् । ०७० सालको चुनावमा भने झापा–३ बाट लिङ्देनलाई नै पराजित गरेर संविधानसभा सदस्य भएका थिए । त्यतिबेला उनले १४ हजार ३ सय ५५ मत ल्याउँदा लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए ।

गढमै शशांकलाई धक्का
पूर्वी नवलपरासी अर्थात् नवलपुल कुनै समय कांग्रेसको गढ थियो । तर स्थानीय चुनावमा त्यो गढ भत्कियो । गैंडाकोटमा एमालेका उम्मेदवार मेयरमा बिजयी भए । जसकारण कांग्रेस महामन्त्री शशांक कोइराला यतिबेला दौडधुपमा लागेका छन् । उनीसँग वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविश्वर पराजुली प्रतिस्पर्धा गर्दैछन् । माओवादी सो क्षेत्रमा कमजोर भएकाले एमालेको केही भोट तान्न सके उनी बिजयी हुनेछन् ।

तनावमा महत
बाम गठबन्धनका कारण कांग्रेस नेता रामशरण महत ठुलो तनावमा छन् । किनकी नुवाकोट एमाले र माओवादी दुवै पार्टीको धेरै भोट भएको जिल्ला हो । दुवै पार्टी मिलेको अवस्थामा उनले चुनाव जित्न ठुलै चमत्कार नै गर्नुपर्ने नुवाकोटकै कांग्रेसका नेताहरु बताउछन् ।

हुन त उनले उनले दुवै पटक माओवादीका उम्मेदवार हितबहादुर तामाङलाई पराजित गरेका थिए । यसपटक उनी उनै तामाङसँग प्रतिस्पर्धा गर्दैछन् । दुवै चुनावमा उनी थोरै मतले बिजयी भएका थिए । पटक पटक अर्थमन्त्री हुँदा पनि जिल्लाको बिकासमा चासो नदिएकाले पनि उनलाई चुनाव जित्न कठिन छ ।

शेखरलाई लालबाबुको त्रास
मोरङ कांग्रेसको जनाधार भएको जिल्ला हो । त्यो हिसाबले कांग्रेस नेता शेखर कोइरालालाई चुनाव जित्न गाह्रो हुनु नपर्ने हो । तर, यसपटक उनका प्रतिस्पर्धी निकै लोकप्रिय व्यक्ति छन् । मोरङ– ६ मा शेखरलाई लालबाबु पण्डितले टक्कर दिदै छन् । सामान्य प्रशासनमन्त्री हुँदा निकै चर्चित रहेका लालबाबुको जिल्लामा पनि राम्रो प्रभाव छ ।

गगनलाई कपनको डर
यो चुनावमा कांग्रेसका अर्का बलिया उम्मेदवार गगन थापा हुन् । थापा यसपटक पनि काठमाडौं–४ बाटै उम्मेदवार भएका छन् । पहिलो संविधानसभामा समानुपातिक सभासद भएका उनी दोस्रो संविधानसभाको चुनावमा भने यही क्षेत्रबाट भारी मतान्तरले उम्मेदवार भएका थिए । त्यतिबेला उनी एमालेका निर्मल कुइँकेललाई १३ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भए । तर यसपटक उनलाई सहज छैन । किनकी एमाले प्रभावशाली युवा नेता राजन भट्टराई उनका प्रतिस्पर्धी छन् । अर्काेतर्फ क्षेत्रमा गगनको अलोकप्रियता बढेको छ ।

कपनबासीलाई २ वर्षसम्म हिलैहिलो सडक उपहार दिएको भन्दै कपनबासी उनीसँग रुष्ट छन् । कपनमा स्थानीय तहमा पनि एमालेले जितेको थियो । बुढानिलकण्ठका स्थानीय नेता राजु श्रेष्ठको पनि गगनसँग राम्रो सम्बन्ध नभएकाले गगनलाई यसपटक चुनाव जित्न सहज छैन । माओवादीको भोट कम भएको र राप्रपाले गगनलाई समर्थन गरेकाले उनका सहयोगीहरु भने चुनाव जित्नेमा बिश्वस्त छन् ।

पोखरल–महत टक्कर
एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल पछिल्लो दुई चुनावमा लगातार पराजित भएका छन् । पहिलो र दोस्रो दुवै संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ५ बाट नरहरि आचार्यसँग पराजित भएका थिए । यसपटक पोखरेलसँग कांग्रेसका प्रकाशशरण महतले प्रतिस्पर्धा गर्दैछन् । महत नयाँ उम्मेदवार भएकाले पोखरेललाई केही सहज हुन सक्छ । यही क्षेत्रबाट साझा विवेकशील पार्टीका नेता उज्जवल थापाले पनि प्रतिस्पर्धा गर्दैछन् । उनले धेरै कांग्रेसकै भोट काट्ने अनुमान गरिएको छ ।

सुवासको सिट सुरक्षित
सुवाचन्द्र नेम्वाङ इलाम–२ बाट निरन्तर जित्दै छन् । नेम्वाङसँग कांग्रेसका केशव थापाले प्रतिस्पर्धा गर्दैछन् । थापा ०७० सालको चुनावमा इलाम–३ बाट एमाले उम्मेदवार टेकबहादुर राईलाई पराजित गर्दै संविधानसभा सदस्य भएका थिए । पहिले ३ वटा निर्वाचन क्षेत्र रहेको इलाममा अहिले २ निर्वाचन क्षेत्र कायम भएको छ । बाम गठबन्धनका कारण उनलाई पनि चुनाव जित्न समस्या छैन । स्थानीय तहको निर्वाचनमा पनि उनको क्षेत्रमा एमालेले राम्रो भोट ल्याएको थियो ।

रावल र स्वाँर मैदानमा
०७० सालको दोस्रो संविधानसभा चुनावमा अछाम–१ बाट भिम रावल विजयी भएका थिए । उनी पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस पटक उनीसँग प्रतिस्पर्धा गर्दैछन् कांग्रेसका भरतकुमार स्वाँरले । स्वाँर नेपाली कांग्रेस अछामका जिल्ला सभापति हुन् । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेस दुवैको राम्रो मत आएको थियो । पार्टी र गठबन्धनबाट घात नभएको अवस्थामा उनलाई चुनाव जित्न सहज हुनेछ ।

ज्ञवाली निश्चिन्त
एमालेका सालिन र लोकप्रिय नेता प्रदीप ज्ञवाली ०७० सालको चुनावमा गुल्मी–२ बाट चन्द्र भण्डारीसँग पराजित भएका थिए । यसपटक उनी गुल्मी–१ बाट प्रतिस्पर्धा गर्दैछन् । ०७० सालमा भण्डारीले २१ हजार १ सय ८७ मत ल्याउँदा ज्ञवालीले १८ हजार ६ सय १४ मत पाएका थिए । गुल्मीमा माओवादी पनि राम्रो भोट भएकाले ज्ञवालीको बिजय निश्चित जस्तै छ ।

प्रचण्डलाई अन्तर्घातको त्रास
पहिलो संविधानसभाको चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट उठेका थिए । दुवै क्षेत्रमा भारी मतान्तरले बिजयी भए । दोस्रो निर्वाचनमा उनलाई ठुलै समस्या भयो । उनी काठमाडौं–१० बाट पराजित भए सिरहा–५ बाट बल्लतल्ल बिजयी भए ।

अहिले दुई क्षेत्रबाट चुनाव लड्न पाउदैनन् । अहिले उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चितवन–३ बाट प्रतिस्पर्धामा छन् । उनीसँग राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् । पाण्डेले ०७० सालको चुनावमा नवलपरासी–१ र चितवन–५ बाट प्रतिस्पर्धा गरेका थिए। उनी चितवन ५ बाट बिजयी भएका थिए ।
चितवनमा एमालेको भोट माओवादीको भन्दा दोब्बर छ । बिक्रम पाण्डे पनि स्थानीय लोकप्रिय नेता हुन् । स्थानीय तहको निर्वाचनमा माओवादीले एमालेका देवी ज्ञवालीमाथि गरेको जालझेल बिर्सिएर एमाले कार्यकर्ताले भोट दिएमा प्रचण्डलाई समस्या छैन ।

नारायणकाजी भर्सेस बाबुराम
‘नारायणकाजी वडा अध्यक्षको लागि योग्य व्यक्ति हुन्,’ नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईको नारायणकाजी श्रेष्ठमाथिको टिप्पणी हो । कुनै समय माओवादीका खम्बा रहेका उनीहरु अहिले परम दुश्मन बन्न पुगेका छन् । दुवै जना गोरखा–२ बाट प्रतिस्पर्धा गर्दैछन् ।

बाबुरामले यसअघि गोरखाबाट दुई पटक चुनाव जितिसकेका छन् । नारायणकाजी नयाँ उम्मेदवार हुन् । २०६४ को चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए । पहिलोमा उनले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चन्द्रप्रकाद न्यौपानेले ६ हजार १ सय ४३ मत पाएका थिए । त्यतिबेला उनी सर्वाधिक मतान्तरमा विजयी नेता बनेका थिए । संविधानसभाको दोस्रो चुनावमा भने उनले २२ हजार ८ सय २४ मत पाएका थिए । तर पछिल्लो समय नयाँ शक्तिका धेरै व्यक्तिहरु माओवादी प्रबेश गरेका छन् । जसकारण बाबुराम भन्दा नारायणकाजी बलियो देखिएका छन् । कांग्रेससँग बाबुरामले तालमेल गरेपनि उनीहरुबीचको टक्कर निकै कडा हुने दृष्टिमा खबर छ ।

महरालाई सहज
महरा दाङ–२ बाट प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी दाङ–३ बाट निर्वा्चित भएका थिए । ०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी रोल्पाबाट विजयी भए। महरासँग कांग्रेसका राजु खनालले प्रतिस्पर्धा गर्दैछन् । खनालले २०७० को चुनावमा दाङ–३ मा माओवादी उम्मेदवार निर्मल आचार्यलाई पराजित गरेका थिए । त्यस हिसाबले खनाल पनि कमजोर उम्मेदवार होइनन् । तर, एमालेको पनि राम्रो जनाधार भएको क्षेत्र भएकाले महरालाई सहज नै हुने देखिन्छ । त्यसैगरी जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिस्पर्धामा छन् । रुकुम एउटै जिल्ला हुनुअघि उनी रुकुम २ बाट विजयी भएका थिए । उनीसँग नेपाली कांग्रेसका उम्मेदवार गोपालजीजंग शाह प्रतिस्पर्धामा छन्। शाहले शर्मासँग ०७० सालमा पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनी झन्डै १० हजार मतान्तरले पराजित भएका थिए । उर्जामन्त्रीका रुपमा थप लोकप्रिय भएकाले शर्मापनि चुनाव जित्न गाह्रो छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here