मिस नेपाल २०१८ को आवेदन खुल्यो, यस्तो छ मापदण्ड

मिस नेपाल २०१८ का लागि आवेदन खुला भएको छ। आइतबार काठमाडौंस्थित होटेल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी आयोजक द हिडन ट्रेजरले २३औं संस्करणका लागि आवेदन खुला गरिएको जानकारी गराएको हो।

प्रतियोगितामा भाग लिन इच्छुक १९ वर्षदेखि २५ वर्षसम्मका युवतीले फेब्रुअरी १५ सम्म आवेदन दिन सक्ने जनाइएको छ। सन् १९९४ बाट सुरु गरिएको मिस नेपाल प्रतियोगितामा भाग लिन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरु हुनुपर्ने आयोजकको मापदण्ड छ।

आयोजकले देशका विभिन्न ८ प्रमुख शहरका साथै अन्तिम चरणमा काठमाडौंबाट प्रतियोगीहरुको छनोट गरिने जनाएको छ। आयोजकका अनुसार, उपत्यका बाहिर वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमा फेब्रुअरी ४ देखि १० सम्म उम्मेदवारहरुको छनोट गरिनेछ भने काठमाडौंमा फेब्रुअरी १७ मा प्रतिष्पर्धीहरु छानिनेछ।

विभिन्न स्थानबाट छनोट भएका २० देखि २५ प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने र ११ अप्रिलमा ग्रान्ड फिनाले सम्पन्न गरिने आयोजकको तयारी छ।