‘निश्चित रुपमा म नै प्रधानमन्त्री हुन्छु’- दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुंगो लाग्ने बताएका छन् । मंगलबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुंगो लाग्ने बताएका हुन् । पद बाँडफाँटका विषयमा पनि भोलिसम्ममा टुंगो लाग्ने विश्वास उनले व्यक्त गरे ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए ।

देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उनले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताए ।फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति–सम्झौताले दूरगामी परिवर्तन ल्याउन सफल भएको बताए ।

नेपालमा भएको शान्ति–सम्झौताले विश्वको ध्यानकेन्द्रित गराउन सफल भएको उनको भनाइ थियो ।कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशुकक्षादेखि कक्षा ५ सम्मको दुईतले ९ कोठे भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here