हिजो सपथ लिएका अर्थमन्त्री खतिवडाको पद आजै धरापमा !

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका ८० जना जन निर्वाचित, समानुपातिक ४१ गरेर जम्मा १२१ सांसद मध्ये एकजना पनि नेपालको अर्थतन्त्र बुझेको (केपी ओलीको मनमा बसेको) मानिस नपाएको, उत्पादन गर्न नसकेको दुखदायी अवस्था २०७४ फागुन १४ गते सोमबार देखा पर्यो। केपी ओलीका लागि आफ्नो गर्दन माथि ओलीको गर्दन तल भन्दै कदम कदममा साथ दिंदै आएका पार्टीका उपमहासचिव, पूर्व अर्थमन्त्री बिष्णु पौडेल पनि यो पटक उनको विश्वासमा पर्न सकेनन।

अघिल्लो पटक केपी ओलीलाई सफल बनाउन अर्थमन्त्रीको हैसियतले महत्वपूर्ण भूमिका खेलेका पौडेल आफ्नो कार्यकालमा विवादरहित कामगर्दै जनमुखी बजेट ल्याएर विदा भएका थिए। यो पटक किन पौडेल रिंग आउट भए ? एमाले पंक्तिमा प्रश्न उठेको छ। १२१ जना सदस्य मध्ये नेपालको अर्थतन्त्र बुझेको एकजना पनि अर्थविद सांसद एमाले पार्टीभित्र नहुनु २०४६ सालबाट २०७४ फागुन १४ गतेसम्म २८ वर्षको अवधिमा अध्यक्ष ओलीको मनले खाएको व्यक्ति फेला नपर्नु दुखदायी कुरा त हुँदै हो, एक नम्बर पार्टीका लागि लाजमर्दो विषय पनि हो।

प्रतिगमनकालमा तत्कालीन महाराजा ज्ञानेन्द्रले विश्वास गरेका युवराज खतिवडा जस्तो गैरराजनीतिक व्यक्तिले वाम गठबन्ध सरकारको अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। अर्थमंत्रीको छनौटमा राम्रो, नराम्रो, गल्ती, कमजोरी जे जे भए पनि यसको सम्पूर्ण जिम्मेवारी एमाले पार्टीले लिनु पर्ने छ, किन भने २०७४ फागुन ११ गते बसेको एमाले स्थायी समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता माधवकुमार नेपालको प्रस्तावमा मन्त्रीहरुको छनौट गर्ने सम्पूर्ण अधिकार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको थियो। विश्व बैंक, एडीबी र अन्तराष्ट्रिय मुद्रा कोषका भरपर्दा एजेन्टको आरोप खेप्दै आएका गैरराजनीतिक, विवाद्स्पद व्यक्ति युवराज खतिवडालाई देशको अर्थतन्त्रको बागडोरको जिम्मा दिईएको चर्चा आर्थिक क्षेत्रमा चलेको छ ।

धरापमा अर्थमन्त्रीको पद !

ओली सरकारका अर्थमन्त्री युवराज खतिवडा स्वतन्त्र र स्वस्थ ढंगले समेत काम गर्न नपाउने भएका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित भएका तीन जनालाई तत्काल शपथ नखुवाउन सर्वोच्च अदालतले २०७४ फागुन १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै, राष्ट्रियसभामा मनोनित गरिएका युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलको शपथ नहुने भएको छ । फागुन १३ गते आइतवारको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि २०७४ फागुन २० गते डाकिएको छ।

अर्थमन्त्री खतिवडाको सांसद पद अवैधानिक भयो र सपथ लिन नपाउने भए भने उनी अर्थमन्त्रीको पदमा २०७५ भदौ १३ गतेसम्म बहाल रहने छन्। सांसद नरहेको अवस्थामा पनि खतिवडाले २०७५/०७६ आ.व. को बजेट भने अर्थ मन्त्रीकै हैसियतले प्रस्तुत गर्न पाउने छन्। संविधानको विद्यमान व्यवस्था अनुसार, त्यसपछि संसदको बाँकी अवधिका लागि भने उनी मन्त्रीका लागि योग्य हुने छैनन्। ६ महिनाभित्र सांसद नबनेको अवस्थामा अर्थ वा अन्य मन्त्रीका लागि अयोग्य भएतापनि अन्य राजनीतिक नियुक्तिका लागि भने योग्य मानिने छन्। संविधानको धारा ७८ को उपधारा (२)मा यस किसिमको व्यवस्था गरिएको छ। (हेर्नुस् संविधानको सम्बन्धित धारा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here