हेर्नुहोस् आज मन्त्री बनेका किरण गुरुङको जीवन दस्तावेज

नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती- किरण गुरुङ । जसको संघर्षपूर्ण जीवन दस्तावेज अनुकरणीय र उत्प्रेरक छ । निजी जीवन र सुखलाई त्यागेर आम नागरिकको मुक्तिका लागि उहाँले गर्नुभएको संघर्षका श्रृङ्खला प्रेरणादायीसँगै जर्जर छन् । देश र जनताका लागि कसैले कतिसम्म त्याग गर्नसक्छ ? भन्ने ‘नमुना योद्धा’का रुपमा परिचित हुनुहुन्छ, किरण गुरुङ ।

२०१७ साल चैत २३ गते पिता तुलाराम गुरुङ र माता बालकुमारी गुरुङको कोखबाट उहाँ यो धर्तीमा पदार्पण गर्नुभएका हो । उहाँको बाल्यकाल तनहुँको भानुमतिमा बित्यो । गुरुङका हजुरबुबा मनबहादुर गुरुङ गोरखा लेकबाट बसाई सरेर भानुमति आउनु भएको थियो ।

तत्कालिन अवस्थामा औसतभन्दा सम्पन्न परिवारमा जन्मनु भएका कारण उहाँको बाल्यकाल सुख र खुसीका साथ नै वित्यो । उहाँको पूरै पारिवारिक पृष्ठभूमि सैन्यमय थियो । यसअर्थमा कि, पिताका पाँच दाजुभाई मध्ये चार जना ब्रिटिस आर्मीमा भर्ती हुनुभएको थियो । पाँच दाजुभाई मध्ये तुलाराम सबैभन्दा कान्छो हुनुहुन्थ्यो । र, १६ वर्षकै कलिलो उमेरमा गोरखपुर पुगेर ब्रिटिस आर्मीमा भर्ती हुनुभएको थियो । गुरुङ चार वर्षको भएपछि उहाँका पिता पेन्सन पकाएर नेपाल फर्कनु भयो । र, उहाँले पिताको असीमित प्यार पाउनुभयो ।

नेपाल फर्किएपछि उहाँका पिताले केही समय अध्यापन गर्नुभयो । सँगै पञ्चायत सचिव हुँदै प्रधानपञ्च समेत हुनुभयो । जसले गुरुङलाई राजनीतिप्रतिको आकर्षण बढाएको थियो । भानुमति स्थित गाउँबाटै प्रारम्भिक शिक्षा आरम्भ गर्नु भएका गुरुङको अध्ययन अनुभूति कम्ति रोचक छैन । जतिबेला उहाँ चिहान डाँडाको चौतारीमा बसेर कखरा सिक्नुहुन्थ्यो । प्रारम्भिक शिक्षापछि उहाँ थप अध्ययनका लागि पोखरा जानुभयो । जतिबेला पोखरामा उक्त क्षेत्रकै एकमात्र आवासीय विद्यालय थियो, गण्डकी बोर्डिङ स्कुल । उहाँ त्यहीं बोर्डिङ स्कुलमा पाँच कक्षामा भर्ना हुनुभयो । र, त्यहींबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उतीर्ण गर्न सफल हुनुभयो । अध्ययनमा उहाँ सधैं अब्बल हुनुहुन्थ्यो । उहाँ कहिल्यै चौथो हुनुपरेन । गाउँमा प्रायः प्रथम हुनुभएका गुरुङले पोखरामा पनि तेस्रोभन्दा परको नतिजा ब्यहोर्नु परेन । किनकि, उहाँ घोक्नेभन्दा सिक्ने प्रयास गर्नुहुन्थ्यो, सधैं । उहाँ औपचारिक अध्ययनमा मात्रै सीमित हुनुहुन्थेन, त्यतिबेलैदेखि । भेटेजति पुस्तक पढ्नुहुन्थो । रोचक पक्ष त यो छ कि, उहाँले चार कक्षा अध्ययन गर्दागर्दै रामायण खारिसक्नु भएको थियो । अक्षर अति राम्रो भएकोले उहाँलाई गाउँलेले तमसुक लेख्न लगाउँथे । ४ कक्षा पढ्दैदेखि उहाँलाई तमसुकको भाषा कण्ठस्थ थियो ।

उहाँले विद्यालयकालमा नै माओत्सेतुङ, होची मिन्ह, भोल्टेयर र लक्ष्मीप्रसाद देवकोटा लगायतका जीवनीसँगै चर्चित चिनियाँ उपन्यास ‘आमा’को नेपाली अनुवाद पढिसक्नु भएको थियो । यससँगै थुप्रै रसियन साहित्यका नेपालीमा अनुवाद भएका पुस्तकहरु पढ्नुभयो । पोखरामा पढ्दा गण्डकी बोर्डिङ स्कुलमा रहेको लाइब्रेरीमा रहेका ५ हजार भन्दा धेरै पुस्तक एसएलसीअघि नै पढिसक्नुभएको थियो । होष्टलमा राति बत्ति बाल्न दिंदैनथे । तर, ईच्छाशक्तिलाई केहीले पनि रोक्न सक्दैन भनेझैं, उहाँ मैनवत्ती वा टर्च टाइट बालेरै रातरात भर अध्ययन गर्नुहुन्थ्यो । जसले उहाँमा सामाजिक र राजनीतिक चेतना वृद्धि गर्न खुब सघाउ पु¥यायो । यतिसम्म कि, विद्याययमा कोर्सभन्दा बाहिरको किताब पढेको भन्दै उहाँले कारबाहीको समेत सामना गर्नुपरेको थियो । तर, उहाँले आफ्नो अध्ययन यात्रालाई कहिल्यै रोक्नु भएन ।

औपचारिक÷अनौपचारिक अध्ययनसँगै बढेको उहाँको चेतनाले राजनीतिक मोड लिएको हो । पिता प्रधानपञ्च भएकोले घरको वातावरण पनि राजनीतिमय नै थियो । घरमा राजनीतिबाहेक अरु कुरै  हुँदैनथ्यो । तर त्यतिबेला गुरुङलाई राजनीतिप्रति खासै चासो थिएन । परिवारले पनि डाक्टर÷इन्जिनियर बन्नुपर्छ भन्थे । उहाँलाई पनि डाक्टर बन्ने चाह थियो । प्रवेशिका पछि डाक्टर बन्ने उद्धेश्यका साथ उहाँ हेल्थ एसिस्टेनको प्रवेश परीक्षा दिन काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल आउनुभयो । जहाँ उहाँले प्रवेश परीक्षा पनि उतीर्ण गर्नुभयो । त्यति नै बेला उहाँले पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा पनि सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा दिनुभयो र उतीर्ण हुनुभयो । तर सँगै आएका समकक्षी हरी गुरुङ भने प्रवेश परीक्षामा अनुतीर्ण हुनुभयो । त्यसपछि उहाँहरु दुवैजना पोखरा फर्केर पृथ्वीनारायण क्यापसमा बिज्ञान विषय लिएर आइए पढ्न थाल्नुभयो । जहाँ उहाँको प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निस्कियो । त्यतिबेला पोखराको पिएन क्याम्पसमा खुबै राजनीतिक गतिविधिहरु हुन्थे । उहाँ त्यहीं राजनीतिक गतिबिधिमा संलग्न हुनुभयो । अध्ययन गर्दागर्दै उहाँ २०३५ सालमा गोर्खा भर्तीबिरुद्ध भएको आन्दोलनमा सहभागी हुनुभयो । पोखराको ब्रिटिस क्याम्प घेर्न जानुभयो । २०३५ सालमा जनमतसंग्रह अघि उहाँको पार्टीसँग सम्पर्क भयो ।

कास्कीमा पहिलोपटक कम्युनिष्ट पार्टीको क्रान्तीकारी संगठन ‘रेड गार्ड स्क्वायर’ निर्माण भयो । नेता बामदेव गौतमले निर्माण गर्नुभएको संगठनमा उहाँ संगठित हुनुभयो । र, पार्टी निर्देशन अनुसार बहुदलको पक्षमा अभियान चलाउन थाल्नुभयो । जुन उहाँका लागि निकै चुनौतीपूर्ण थियो । प्रधानपञ्चको छोराले बहुदलको पक्षमा आन्दोलन चलाउनु उहाँको साहसको एउटा उदाहरण हो ।  बहुदलको पक्षमा भएको आन्दोलनमा उहाँको अभियान निकै प्रभाबकारी भयो । ढोरफिर्दी, चिसापानी, बिरुवा कोल्माहुँदै स्याङ्जा बजारसम्म पुगेर बहुदलका पक्षमा भाषण गर्नुभयो । चुनावको बेला गाउँ फर्कनुभयो । बहुदल कि निर्दलको जनमत संग्रहमा उहाँ बहुदलको पक्षमा लाग्नु भयो भने पिता निर्दलको । जसकारण पारिवारिक कलह हुनपुग्यो । मतदानको दिन बुवाले पञ्चायतको पक्षमा मतदान स्थलमै भोट माग्न थालेपछि बावुछोराको झगडा सतहमै आयो । गाउँका पाका मानिसहरु बुबाको पक्षमा देखिए भने युवाहरु छोराको पक्षमा । तनावका बीच चुनाव सकियो । नतिजा आयो, निर्दलको पक्षमा ।

पारिवारिक कलह उत्कर्षमा पुगेपछि उहाँले घर छाडेर जनताको पक्षमा संघर्ष गर्ने निष्कर्ष निकाल्नुभयो । र, जनताको मुक्तिका लागि परिवारसँग विद्रोह गरेर हिँड्नु भयो । त्यतिबेला एउटा पञ्चेको छोराले यो साहस गर्नु चानचुने कुरा थिएन । घर छाडेर पोखरा आएपछि उहाँको भेट नेता बामदेव गौतमसँग भयो । जतिबेला गौतम गिरिस भनेर चिनिनुहुन्थ्यो । गुरुङलाई गिरिसले नै पार्टी कामका लागि पोखराको वाटुलेचौरदेखि अर्मला पुरनचौरसम्मको भूगोल तोकिदिनु भयो । र, त्यतिबेलैदेखि उहाँ होलटाइमर कार्यकर्ताका रुपमा भूमिगत रहेर राजनीतिक जीवन सुरु गर्नुभयो ।

जब उहाँले पूर्णकालिन कार्यकर्ता भएर पार्टी काम थाल्नु भयो, तब आफ्ना औपचारिक अध्ययनका सम्पूर्ण प्रमाणपत्रहरुसँगै पुस्तकहरु जलाइदिनु भयो । नयाँ कपडा दीनदुखीलाई दिएर, पुराना कपडा पहिरिएर भूमिगत हुनुभयो । भूमिगतकालमा उहाँ ‘सुमन’ नामले चिनिनुहुन्थ्यो । जतिबेला उहाँले जनताको प्रगाढ प्रेम पाउनुभयो । अंग्रेजी स्कुलमा पढेको र पढाई राम्रो भएकोले सेल्टर बसेको ठाउँमा पनि बिद्यार्थीहरुलाई अंग्रेजी, गणित, बिज्ञान पढाउनुहुन्थ्यो । अरुलाई सेल्टर नदिने ठाउँमा पनि उहाँलाई जनताले सेल्टर दिन्थे ।  भूमिगत कालमा उहाँको निकै पटक पुलिससँग लुकामारी भयो । तर, उहाँको चतुर्याइंसामू पुलिस पराजित हुन्थ्यो । उहाँ जोगिन सफल हुनुहुन्थ्यो । र त उहाँले त्यतिबेला पनि जेलजीवनको सामना गर्नुपरेन ।

उहाँले आफ्नो निजि जीवनलाई कहिल्यै जनताको आवश्यकता भन्दा ज्यादा महत्व दिनुभएन । घरबाट विद्रोह सुरु गरेर राजनीतिमा अघि बढ्नु भएका गुरुङ भूमिगत राजनीतिकै सिलसिलामा पार्टीकै सहयोद्धा कृष्णकुमारी श्रेष्ठसँग बिबाह बन्धनमा बाँधिनु भयो । आफूलाई आश्रय दिइरहेका मोदनाथ रेग्मीको घरबाटै उहाँको जनवादी बिबाह भएको हो । उहाँहरुको बिबाहको प्रमुख अतिथिका रुपमा पार्टीका नेता जीवराज आश्रीत उपस्थित हुनुहुन्थ्यो । अहिले उहाँका दुई छोरा छन्, केविन आकाश गुरुङ र रवीन आकाश गुरुङ ।

पार्टी जिम्मेवारी

भूमिगत राजनीतिकसँगै उहाँले पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कुशलतापूक नेतृत्व बहन गर्नुभयो । २०३६ सालमा कास्कीको उपसचिवहुँदै सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी निर्बाह गर्नुभयो । २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज हुँदा गण्डकी र धौलागिरी अञ्चललाई उहाँको कार्यक्षेत्र तोकिएको थियो । त्यस्तै २०४५ सालमा स्याङ्जाको सचिव, जनआन्दोलन २०४६ पछि गण्डकी र धौलागिरीको पालैपालो सचिव, २०४७ सालमा माले माक्र्सवादी एकीकरणपछि पार्टीको रापस हुँदै उहाँले निकै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । र, २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुन सफल हुनुभयो । २०४९ सालको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उहाँ निरन्तर केन्द्रीय कमिटीमा हुनुहुन्छ । र, नेकपा एमालेको नवौं महाधिवेशनपछि उहाँ पार्टीको सर्वोच्च निकाय स्थायी कमिटीमा हुनुहुन्छ । २०६४ को संबिधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित भई उहाँ चुनाव पछि बनेको सरकारमा वनमन्त्री बन्न सफल हुनुभयो । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा उहाँ तनहुँ २(ख) वाट निर्वाचित हुनुभयो र अहिले प्रदेश नम्वर ४ को आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभयो ।

देश र जनताका लागि घरभित्रैबाट विद्रोह सुरु गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा ल्याइपु¥याउन निरन्तर संघर्षरत नेता किरण गुरुङको जीवन आदर्श वा पहिचान भनेको निष्ठा र इमानदारिता हो । हरकुनै कठिन मोडमा पनि निडर भएर सिर्जनशील सोचका साथ अघि बढिरहनु भएका गुरुङको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हो । विश्व राजनीति र कम्युनिष्ट राजनीतिबारे यथेष्ट ज्ञान हाँसिल गर्नु भएका किरणको राजनीतिक विश्वास वा आदर्श भनेको समाजवाद हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here