नख्खु कारागारका कैदीको रहस्यमय मृत्यु

एक दशकदेखी सजाँय काटिरहेका बर्दियाका एक कैदको नख्खु कारागारमा रहस्यमय मृत्यु भएको छ । ४ महिना अघि डिल्लीबजारबाट स्थानान्तरण भई नख्खु गएका बर्दियाका ३२ बर्षिय भक्त सुनुवारको रहस्यमय मृत्यु भएको छ ।

गत बिहीबार साँझ बन्दीगृहका नाईकेले सुनुवार एक्कासी बिरामी भएको प्रहरीलाई जानकारी गराएपछि बिर अस्पतालमा भर्ना गरिएको थियो । बिर अस्पतालमा आइसियु खाली नभएकोले शुक्रवार बिहान सुनुवारलाई पाटन अस्पताल लगिएको थियो ।

कारागारका जेलर टेक ब. केसीका अनुसार उनले सोही दिन आईसीयु कक्षमै जूस पिएका थिए भने सामान्य कुराकानी समेत गरेका थिए । तर शुक्रवार राती ३ बजे अस्पतालले सुनुवारलाई मृत घोषित गरेको थियो । अहिले उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

सुनुवारको परिवारले भने उनको हत्या भएको आरोप लगाएका छन् । यसअघि सुनुवारले माफी मिनाहाको लागी १५ लाख रुपैयाँ बुझाउन भनिएको र उक्त रकम नदिए ज्यान मार्ने धम्की आएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई समेत उजुरी दिएका थिए ।

गृहमन्त्री थापाले मंगलवार कारागार बिभागका महानिर्देशक र जेलर केसीलाई बोलाएर घटनावारे जानकारी लिएका छन् । घटनाको निश्पक्ष छानविन गर्न र क्षतिपुर्ती उपलब्ध गराउन मृतकका परिवारले माग गरेका छन् । सुनुवार जबरजस्ती करणी तथा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । नख्खु कारागारमा ७ सय कैदी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here