आमालाई दुर्व्यवहार गरेपछि ईश्वरको हत्या

काभ्रे, १९ जेठ ।
बुबाको निधन भएको चार महिना नपुग्दै आमामाथी भएको ज्यादती सहन नसकेर चुप्पीको आक्रमणलाई रोक्न खोज्दा बाँसको भाँटा र रडले प्रहार गर्दा छिमेकीको निधन भएको बयान दिएका छन् । बनेपा नगरपालिका वडा नम्वर ११ घट्टेखोलामा जेष्ठ १४ गते राति ८ बजे ३७ बर्षीय इश्वर थापाको कुटपिटबाट निधन भएपछि प्रहरीले गरेको अनुसन्धानमा घटनामा संलग्न १८ बर्षिय बसन्त खड्काले प्रहरीलाई आमालाई गरेको अत्याचार सहन नसकी रड प्रहार गरी भागेको बताए ।

पक्राउ परेका बसन्तले भने– ‘हरेक दिन जसो मेरी आमा मेनुका खड्कालाई इश्वर थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई कुटपिट गर्दै आएका थिए । जेष्ठ १४ गते दिउसो हामी कोहि नभएको बखतमा मेरी आमालाई कुटपिट गरी मरणासन्न पारी बुबा र आमाको नागरिकता, लालपुर्जा समेत खोसी लगेका रहेछन् । वर्कशपमा काम गरेर घर पुग्दा आमाको दयनिय अवस्था देखें । साथी वर्ष २२ को राजु सिग्देललाई पनि सँगै लिएर इश्वर बस्ने अस्थायी टहरामा पुगें । मैले बाँस लिएर गएको थिएँ । हातखुट्टा मात्रै भाँच्ने उदेश्यले हामी गएका थियौ ।

उसले घर भित्रबाट हामीलाई काट्न चुप्पी बोकेर आयो । बाँसको भाँटाले हातमा हान्दा पनि चुप्पी छाडेन । उसले उल्टै आक्रमण गर्न आयो । हामीले लालपुर्जा र नागरिकता माग्दा समेत दिन मानेन । उल्टै आमा माथी अपशब्द प्रयोग गर्न थाल्यो । घरमा त्यो अवस्थामा छाडेर गएकी आमालाई गरिएको ब्यवहार सहन सकिन । साथीले पनि मलाई आक्रमण गर्न रोक्दै थियो । मैले बाँसले हान्दा पनि त्यो नढलेपछि फलामको रडले हानें । केहि पटक हानेपछि उ ढल्यो । हामी फर्कियौं । राति नै हामी विराटनगरतर्फ लाग्यौं । भोलिपल्ट हजुरआमाले उ मरेको कुरा भन्नु भयो । हामीसँग खाने र भाग्ने पैसा थिएन । दाजुलाई फोन गरेर खानका लागि पैसा पठाईदिन भनेका थियौं । त्यतिनै बेला प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

लक्ष्मण भनिने बसन्त खड्काको घर सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस ३ भई कापजी बनेपा नगरपालिका वडा नम्वर ४ बस्दै आएका थिए । बाबु गणेशबहादुर खड्काको चार महिना निधन भएको थियो । बसन्तका साथी सिग्देल सोहि दिन मात्रै उनीसँग गएका थिए । बनेपा नगरपालिका वडा नम्वर ४ बस्ने २२ बर्षिय राजु मजदुरी गर्दै आएका छन् । प्रहरीले इश्वरलाई पटक पटक मादक पदार्थ सेवन गरी अपशब्द बोलेकोमा पक्राउ गरी कारवाही गर्दै आएको थियो । घटनाका दिनमा पनि मेनुकालाई इश्वरले कुटपिट गरेका थिए । नाताले उनिहरु भिनाजु र साली हुन् । ईश्वरको श्रीमती नभएकाले एक्लै बस्दै आएका थिए । मेनुका माथी पटक पटक दुब्र्यवहार गर्दै आएका इश्वरको हातखुट्टा भाँचिएको अवस्थामा उनकै टहरा छेउमा शब फेला परेको नेपाल समाचारपत्रमा खबर छ ।

प्रहरीले घटनामा सँलग्न बसन्त र राजुलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जानकारी दिए । पत्रकार सम्मेलन गरी घटनाको बारेमा बताउँदै शाहले मेनुकाको घाउचेक जाँच गरी उपचार गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here