समर्थन टिकाउन संशोधन : राजपा

काठमाडौं, २० जेठ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेस आन्दोलनका मुद्दा सम्बोधन गर्न सरकारलाई दबाब दिएको छ। मधेसवादी दल संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि राजपाले मधेस आन्दोलनका मुद्दा ओझेलमा पर्न सक्ने भन्दै सरकारलाई दबाब दिन थालेको हो।

‘मधेसका मुद्दाको सम्बोधन चाँडै गर्नुपर्छ। अन्यथा परिणाम गम्भीर हुन सक्छ’, राजपा नेताहरूले चेतावनी दिँदै भने। मधेस आन्दोलनले उठाएका मुद्दाको सम्बोधनका लागि सरकारले पहल नगरे मुलुककै लागि ठूलो दुर्भाग्य हुने उनीहरूको चेतावनी रहेको अन्नपुर्णमा खबर छ ।

‘मधेस स्वायत्त प्रदेश र स्वतन्त्र मधेस’को राजनीतिलाई मधेसबाट मुक्त गर्न संसद्वादी मधेसी दलको मागलाई यथाशक्य सम्बोधन गर्नु नै वास्तविक राष्ट्रवाद हुन्छ’, उनीहरूले भने। राजपा अध्यक्षमण्डलका नेता शरत्सिंह भण्डारीले आफूहरू सरकारको रणनीतिमा भन्दा पनि पार्टीको मुद्दामा सचेत रहेको बताए।