संकटग्रस्त मानविकी संकाय, इतिहासमा शून्य विद्यार्थी

काठमाडौं, २६ जेठ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो । विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन् । भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी भएपनि हामीले पढाएका थियौँ, अहिले कोही छैन ।’

भाषाविज्ञानका चार सेमेस्टरमा जम्मा १८ विद्यार्थी छन्, पहिलो सेमेस्टरमा चार जना मात्रै । भाषविज्ञान विभागका प्रमुख दुबिनन्द ढकाल आफ्नो विभागमा विद्यार्थीको ठूलो चाप कहिल्यै नहुने भएपनि यति कम संख्या पढाएको अनुभव नरहेको बताउँछन् ।

इतिहास विभागका प्रमुख थापालाई लागेकै थिएन- विद्यार्थीशून्य विभागको जिम्मेवारी सम्हाल्नुपर्ला भनेर । २०३३ सालमा उनी आफै विद्यार्थी हुँदा त्रिविमा इतिहास पढ्नेहरू ४० जना थिए । ‘हामीभन्दा पछिल्लो ब्याचमा ७० जना थिए,’ उनले भने । त्यो त्यस्तो बेला थियो, जतिबेला मानविकी अन्तर्गतका अरु विषयमा पनि सबैभन्दा धेरै विद्यार्थी हुन्थे ।

इतिहास र भाषाविज्ञान उदाहरण मात्र हुन्, मानविकी संकायअन्तर्गतका प्रायः विषयको अवस्था उस्तै छ । विषयको महत्वअनुसार मानविकीभित्र विद्यार्थी भर्नादर फरक-फरक रहेको बताउँछन्, मानविकी संकायका डिन शिवलाल भुसाल । ‘समग्र मानविकीकै अवस्था हेर्दा अरुको तुलनामा यो संकायमा विद्यार्थी घटेका छन् ।’

स्नातकोत्तरमा मात्र हैन, स्नातक तहको अवस्था पनि उस्तै छ । लालबन्दीको जनज्योती मल्टिपल क्याम्पसमा २०७४ सालमा व्यवस्थापन संकाय स्नातकमा १ सय ३५ विद्यार्थी भर्ना भए भने शिक्षा संकायमा ८७ र मानविकीमा जम्मा १५ जना विद्यार्थी भर्ना भएका अन्नपूर्णमा खबर छ । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस, दाङमा बिएस्सी प्रथम वर्षमा १०९ जना भर्ना भए भने बिबिएस प्रथम वर्षमा १ सय ६० जना भर्ना भएका छन् । शिक्षा संकायमा १२३ जना र मानविकी स्नातकमा ८४ जना विद्यार्थी भर्ना भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here