विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं, ४ असार ।
रुसमा जारी २१औं विश्वकप फुटबलमा सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः४५ बजे एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ भने दोस्रो खेलमा राति ८ः४५ बजे बलियो बेल्जियमले विश्वकपको नवप्रवेशी टोली पानामासँग भिडन्त गर्नेछ । यसैगरी राति ११ः४५ बजे विश्वकपको पूर्वविजेता इङ्ल्यान्डले ट्युनिसियासँग खेल्नेछ ।

जारी विश्वकपमा नवप्रवेशी र तुलनात्मक रूपमा कमजोर मानिएका टोलीले स्तरीय प्रदर्शन गर्दै थुप्रै समर्थकको मन जितेका छन् । शनिबार मात्र नवप्रवेशी आइसल्यान्डले दुई पटकको विश्वकप विजेतासमेत रहेको साविक उपविजेता अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोक्दै आफ्नो क्षमताको परिचय दिइसकेको छ । यस्तोमा थुप्रै प्रभावशाली खेलाडीले भरिएको बेल्जियमविरुद्घ खेल्दा पानामाको प्रदर्शनमाथि पनि धेरैको आँखा हुनेछ ।

बेल्जियम चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको टोली हो । त्यसमाथि बेल्जियन टोलीमा विभिन्न युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका क्षमतावान् खेलाडीको बाहुल्य छ । रोमेलु लुकाकु, नासिर चाड्ली, मिची बात्सुई, ड्रिज मेर्टन्स, यानिक कारास्को, केभिन डे ब्रुन, इडेन हाजार्ड, माउरोन फेलानी, भिनसेन्ट कोम्पनी बेल्जियन टोलीका यस्ता नाम हुन्, जो विश्व फुटबलका जस्तोसुकै बलिया प्रतिद्वन्द्वीलाई पनि मैदानमा आच्छुआच्छु पार्न सक्षम छन् ।

अर्कोतिर पानामासँग न यसअघि विश्वकप खेलेको अनुभव छ, न त विश्व फुटबलमा स्थापित खेलाडी नै । नाम चलेको युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने पानामाका एकमात्र खेलाडी हुन्, डेपोर्टिभो ला कोरुनाका इस्मायल डियाज । यद्यपि, उत्तर र मध्य अमेरिका तथा क्यारेबियन (कनकाकाफ) क्षेत्रको पाँचौं चरणको छनोटमा तेस्रो हुँदै रुस विश्वकपमा स्थान पक्का गरेको टोली हो, पानामा ।

प्रारम्भिक चरणका छनोट खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं चरणसम्म पुगेको पानामाले होन्डुरस, अमेरिका, ट्रिनिडाड एन्ड टोबागोजस्ता बलिया टोलीलाई पछि पार्दै रुसको यात्रा पक्का गरेकाले पनि सोमबार हुने समूह ‘जी’ अन्तर्गतको पहिलो खेलमा बेल्जियमका लागि पानामा सहज प्रतिद्वन्द्वी पक्कै हुनेछैन । बेल्जियमको पक्षमा विश्वकपमा एउटा गतिलो इतिहास भने छ । सन् १९८६ को विश्वकपको समूहगत चरणमा मेक्सिकोसँग पराजित भएयता बेल्जियमले विश्वकपमा कनकाकाफ क्षेत्रका कुनै पनि टोलीसँग पराजित भएको छैन ।

यसको विपरीत पानामाले हालसम्म युरोपेली टोलीविरुद्घ खेलेका नौ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । युरोपेली टोलीविरुद्घ पानामा पाँच खेलमा पराजित भएको छ भने चार खेलमा बराबरीको नतिजा निकालेको छ । यसका बीच विश्व फुटबलमा एउटा भनाइ चर्चित छ, ‘फुटबल मैदानमा खेलिन्छ, कागजमा होइन ।’ त्यसैले इतिहास र तथ्यांक दुवै बेल्जियमको पक्षमा भए पनि सोमबार हुने खेलमा उसका लागि पानामा सहज प्रतिद्वन्द्वी भने पक्कै हुनेछैन । बेल्जियमको यो १३औं विश्वकप सहभागिता हो । सन् १९३० मा पहिलो विश्वकपमै सहभागिता जनाएको बेल्जियम सन् १९८६ मा चौथो भएको थियो भने सन् २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

यसैगरी समूह ‘जी’कै अर्को खेलमा इङ्ल्यान्डले ट्युनिसियाको सामना गर्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको यो १५औं सहभागिता हो । इङ्ल्यान्ड सन् १९९० मा चौथो भएको थियो । त्यसयता इङ्ल्यान्ड विश्वकपमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । ट्युनिसिया भने पाँचौंपटक विश्वकपमा सहभागी हुँदैछ । सन् १९५८ विश्वकपसम्म फ्रान्सको अधीनमा रहेको ट्युनिसियाले स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक सन् १९७८ को विश्वकप खेलेको थियो । त्यसयता पाँचौंपटक विश्वकप खेल्न लागेको ट्युनिसियाले पहिलो चरण नै पार गर्न सकेको छैन ।

यसैगरी समूह ‘एफ’ अन्तर्गतको खेलमा एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ । सन् १९३८ को विश्वकपसम्म जापानको अधीनमा रहेको दक्षिण कोरियाले १०औं पटक विश्वकप खेल्न लागेको हो । सन् २००२ मा आफ्नै देशमा भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया आठवटा संस्करणमा भने पहिलो चरणबाटै घर फर्किएको थियो । सन् २०१० को विश्वकपमा दक्षिण कोरिया दोस्रो चरणसम्म पुगेको थियो ।

स्विडेनको भने यो १२औं विश्वकप सहभागिता हो । सन् १९३४ मा पहिलो सहभागितामै क्वार्टरफाइनलसम्म पुगेको स्विडेन सन् १९३८ मा चौथो र सन् १९५० मा तेस्रो भएको थियो । त्यसपछि सन् १९५८ मा भएको विश्वकपमा स्विडेन उपविजेता बनेको थियो । त्यसपछि विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न नसकेको स्विडेन एकैपटक सन् १९९४ मा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

सन् २०१० र सन् २०१४ को विश्वकपमा भने स्विडेनले छनोट चरण नै पार गर्न सकेको थिएन । यसपटक विश्वकपमा स्विडेनले पहिलोपटक घरेलु लिग खेल्ने एकजना खेलाडीलाई पनि टोलीमा समावेश गरेको छैन । विश्वकपमा स्विडेन र दक्षिण कोरिया भिड्न लागेको पनि यो पहिलोपटक हो । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्विडिस टोलीमा यसपटक अनुभवी खेलाडी ज्लाटन इब्राहिमोभिचको अभाव भने खड्कने अन्नपुर्णमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here