प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस सुरु

0
16

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ। अदालतले बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास पुनर्गठन गरेको छ।

रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेकोको संवैधानिक इजलास गठन भएको हो। राणाले न्यायाधीश हरिकृष्ण कार्की इजलासमा आफू सामेल नहुने निर्णय गरेपछि कार्कीको स्थानमा मल्ललाई राखेर संवैधानिक इजलास पुनर्गठन हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहद् पूर्ण इजलासमा हुने भन्ने टुंगो पनि आज नै लाग्ने छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत विपक्षीबाट लिखित जवाफ आइसकेको अवस्थामा पुस २२ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको पेसी तय भएको थियो। तर, न्यायाधीश कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि बहस रोकिएको थियो।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका एक दर्जन रिटका निवेदकले संवैधानिक इजलासबाहेक बृहद् पूर्ण इजलास गठनको माग गर्दै आएका छन्। यसअघि रिट निवेदकको निवेदन प्रशासनिक तवरबाट अस्वीकार गरिएको थियो। उक्त मागका विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा गठित ‘संवैधानिक बेन्च’बाटै टुंगो लगाइने भएको छ।

रिट निवेदकका कानुन व्यवसायी बुधबार पनि बृहद् पूर्ण इजलास गठनको माग दोहोर्‍याउने तयारीमा छन्। यस्तो इजलास गठन गर्नुपरे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित ११ जनाभन्दा बढी न्यायाधीश संलग्न गर्दै ‘बेन्च’ तोक्ने सम्भावना औंल्याइएको छ। तर सुरुमै संविधानबमोजिम संवैधानिक इजलास तय भइसकेको अवस्थामा यसैअनुरूप सुनुवाइ अघि बढाउन प्रधानन्यायाधीश स्वतन्त्र रहेको तर्क पनि आएको छ।

बुधबार हुने सुनुवाइमा रिट निवेदकका तर्फबाट सुरु बहस हुनेछ। त्यसपछि विपक्षीका तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गर्दैछन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा हुन लागेका बेला रिट निवेदकमध्येका नेकपा नेता एवम् विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन्। उनले संवैधानिक इजलासले यो मुद्दा हेर्न नमिल्ने भन्दै बृहत पूर्ण इजलास माग गरेका छन् ।