काठमाडौँ — यस वर्ष डेनमार्कका फोटोपत्रकार म्याड्स निसेनको फोटोले वर्ल्ड प्रेस फोटो अफ द इयरको अवार्ड जितेको छ । निसेनको ‘पहिलो अँगालो’ शीर्षकको तस्बिरले यस वर्षको उत्कृष्ट फोटोको अवार्ड हात पारेको हो ।
निसेनले कोरोनाबाट अति प्रभावित मुलक ब्राजिलको साओ पाओलोस्थित एक स्याहार केन्द्रमा एक जना वृद्ध महिलालाई नर्सले अँगालो हालेको तस्बिर खिचेका थिए । उक्त तस्बिरमा ८५ वर्षीया रोजा लुजिया लुनार्डीलाई नर्स एड्रियाना सिल्भा डा कोस्टा सुजाले अँगालो हालेको देखिन्छ । रोजालाई ५ महिनापछि कसैले अँगालो हालेको थियो । कोरोनाका कारण ब्राजिलका सबै स्याहार केन्द्रमा बाहिरका मानिसलाई आउन रोक लगाइएका कारण पनि रोजालाई कसैले भेट्न पाएको थिएन ।भर्चुअल रुपमा गरिएको अवार्ड घोषणापछि फोटोपत्रकार निसेनले भने, ‘सबैभन्दा कष्टकर समयमा यो एउटा आशा र मायाको कथा हो । जब ब्राजिलमा संकटको बादल मडारिँदै थियो, राष्ट्रपति बोल्सोनारोले यसलाई सुरुवातदेखि नै सानो ज्वरो त हो नि भन्दै बेवास्ता गरिरहेका थिए ।’
कमेन्ट गर्नुहोस्