हेर्नुस् नेपाल आइडलको आतङ्क !

– सूर्यन्द्र

भारतमा केही वर्ष पहिले ‘इन्डियन आइडल’ भन्ने एक कार्यक्रम सुरु भयो । यो कार्यक्रम जनताको भावनासँग खेलेर आयोजकले कमाई गर्ने खालको थियो । यो पनि भारतीयहरूको मौलिक सोच थिएन । अमेरिकामा चलेको ‘अमरिकन आइडल’को काटी–कुटी नक्कल थियो ।

यहाँसम्म कि यसको लोगो पनि केवल ‘अमेरिकन’ शब्दको स्थानमा ‘इन्डियन’ राखिएको छ । यो ठगी नै भन्न सकिने कमाउ धन्दाको नेपाली सस्करण सुरु भएको रहेछ । यो पनि त्यही नक्कलको नक्कल रहेछ, याने ‘इन्डियन’को स्थानमा ‘नेपाल’ लेखिएको उही लोगोको साथमा ।

उहिले हामीबीच भारतको नक्कल गर्ने खुवीको बारेमा धेरै किस्सा प्रचलित थिए । त्यसमध्येको एक किस्सा यस्तो थियो । एकपटक भारत, अमेरिका र जापानका आविष्कारकहरूको भेट भएछ । सबैले आ–आफ्नो बखान गरेछन् । अमेरिकाकाले कपाल पनि सिउन सक्ने सियो बनाएर देखाएछ ।

जापानकाले त्यसमा नाथ्री बनाइदिएछ । भारतीयको हातमा सियो पुगेर फिर्ता हुँदा केही थप देखेनछन् । ‘खै त तिम्रो प्रविधि ?’ भनेर सोधेछन् । उसले ‘माइक्रोस्कपमा राखेर हेर’ भनेछ । त्यसरी हेर्दा त त्यसमा ‘मेड इन इन्डिया’ लेखेको भेटेछन् । अहिले नेपाल आइडलमा जातको कुरा थपेर सामाजिक सञ्जाल अनि समाजै दुर्गन्धित बनाउनेहरू त्यसमा ‘फर नेपाल’ थप्ने धुन्धुकारी हुन् ।

पुङ न पुच्छरको आइडल विजेता बनेर के उपलब्धि हुन्छ ? कसैले रिसले मुुर्मरिएर यसको उत्तर दिन खोज्लान् । भनुन् सन् २००३ देखि सुरु भएको अमेरिकन आइडलले घोषणा गरेका कति अमेरिकनको नाम सुनेका छन् ? प्रशान्त तामाङलाई जिताउन अर्थ सङ्कलन गरेर भोट त हाले ।

त्यसैले उनको नाम चिन्छन्, तर सन् २००४ देखि कति इन्डियन आइडल बने र अहिले कति प्रख्यात छन् ? हो पहिलो इन्डियन आइडल अभिजित सावन्तले केही समय चर्चा पाए । त्यसै चर्चाले केही पैसा पनि कमाए । नेपालीले चन्दा उठाएर त्यत्रो खर्च गरेर बनाएका इन्डियन आइडल प्रशान्त तामाङलाई गायन पेसाले पाल्न सकेको छैन । बरु भोटिङबाट विभिन्न चरणमा बाहिरिएकाहरूले गायनबाट नाम र दाम कमाएका छन् ।

किन यस्तो हुन्छ त ? यसको निमित्त त्यो कार्यक्रमको ढाँचा बुभ्mन आवश्यक छ । कार्यक्रम सुरु हुन्छ चयन प्रक्रियाबाट । यसमा गायन क्षेत्रका विभिन्न विभागका ज्ञाताहरू स्थायी निर्णायक हुन्छन् । उनीहरू मुलुकका विभिन्न भागमा गएर प्रतिभा खोज्छन् । छानिएकाहरूलाई ल्याइन्छ र तालिम अनि प्रतियोगिता सुरु गराइन्छ । सुरुमा यिनै निर्णायकहरूले क्रमशः निफन्दै जान्छन् ।

अर्थात् अगाडि जान अनुपयुक्तहरूलाई हटाउँदै जान्छन् । यो छनोट विशुद्ध कला र क्षमताको आधारमा हुन्छ । यसबेलासम्म आयोजकको लगानी मात्र भएको हुन्छ । कार्यक्रमको बीचमा दिइने विज्ञापनले तत्कालीन खर्चको केही भाग बोके पनि त्यो न्यून नै हुन्छ ।

आयोजकको कमाइ सुरु हुने बिन्दु हुन्छ भोटिङ सुरु भएपछि । यसका निमित्त निर्णायकले छानेका कम्तीमा १२ जना प्रतियोगीबाट खेल सुरु हुन्छ । यहाँसम्म आइपुग्ने प्रत्येक प्रतियोगी यो प्रतियोगिता जित्न योग्य हुन्छ । किनभने यसभन्दा पछि प्रशंसकको भोटले निर्णय गर्छ । यसभन्दा उता न आयोजक न निर्णायक कसैको नियन्त्रणमा निर्णय हुन्न । यदि यो चरणमा अयोग्य पुग्यो र भोटले त्यसैलाई जितायो भने आयोजक, निर्णयक दुवैको किरिकिरी हुन्छ ।

त्यसैले यो चरणसम्म सब बराबरका चुन्न निर्णायकले पूरा मिहिनेत गरेका हुन्छन् । भोटिङ चरणमा भोट दिने हरेक माध्यमले भोटको सङ्ख्याको आधारमा आयोजकलाई रकम बुझाउँछन् । यो नै आयोजकको अहिलेसम्म गरेको खर्च निकाल्ने र नाफा कमाउने बेला हो । यो भोट गर्दा गर्नेले भोटसँगै अतिरिक्त रकम पनि बुझाएको हुन्छ । यो परोक्ष रूपमा हुन्छ र भोट गर्नेले थाहा पाउन्न । त्यसैले एकजनालाई अनेकौँ भोट गर्न छुट दिइन्छ ।

केही गरी समग्र भोट आशा गरेको स्तरमा नपुगेमा आयोजकको आज्ञामा निर्णायकहरू विवाद जन्माउँछन् । कुनैपटक कसैलाई ननिकालेर थप भोट अर्थात् पैसा तान्ने प्रयत्न हुन्छ । त्यसैले धुन्दुकारी हो, तिमीहरू चाहे आफ्नो घर नै बेचेर भोट हाल, वा आफ्नो पेट काटेर भोट हाल, तर यही आधारमा बाहुनवाद, क्षेत्रीवाद, मगरवाद आदि भनेर नेपालविरुद्ध विष वमन नगर !

तिमीले जिताएको नेपाल आइडलले माखो पनि मार्न सक्ला–नसक्ला । तिमीहरूको आइडल जिताउने बहानामा नेपाली समाज नहराऊ । नेपाल आमाको छातीमा चक्कु रोप्ने काम नगर । एउटा गीताङ्गेको निमित्त भाइ फुटाउने कुरा नगर ! यो आतङ्क बन्द गर । नत्र भोलि शरणार्थी बनेका नेपालीको सन्तानले तिमीहरूलाई सराप्नेछ । घटना र विचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here