हिजोआज किन पर्दामा देखिन्नन् राजेश हमाल ? भित्री कारण जान्नुहोस् ।

डेढ वर्ष भयो, राजेश हमालले फिल्मको एक्सनकट सुन्नु नपरेको। हिजोआज उनको दैनिकी नै अध्ययन, शारीरिक व्यायाम, विभिन्न कार्यक्रमको आतिथ्य र कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘क्विज शो’ को ‘होस्ट’ गरेर बित्छ।

फिल्मी करिअरको उतारचढावमा उनले आफूलाई प्रमाणित गरिसकेका छन्। त्यसैले होला, ढल्कँदो उमेरमा पनि उनी अझै ‘योङ’ देखिन्छन्।

लाजिम्पाटको ’एली’ कफी क्याफेमा यसै साता हाफपाइन्ट र टिसर्टमा भेटिएका उनै राजेशलाई नेपाल लाइभले सोधेको थियो, ‘हिजोआज किन पर्दामा देखिनुहुन्न?’ राजेश भन्दै थिए, ‘सुरुका दिन मेरो फिल्म कति वटा बजारमा गयो, यसले खासै फरक पर्दैनथ्यो। आज फरक पर्छ। मैले फिल्म गरेँ तर बजारमा रुचाइएन भने त्यसको के फाइदा? म अब रोजेर मात्र फिल्म गर्न चाहन्छु।’

राजेशले बितेको दुई दशक नेपाली फिल्म उद्योगमा चढेको उचाइ उनको ६ फिटे लम्बाइभन्दा धेरै अग्लो छ। झडै डेढ दशक उनले नेपाली फिल्ममा कब्जा जमाए।
बामे सर्दै गरेको नेपाली फिल्मको यात्रा सुरु गर्दा उनलाई आफ्नो ‘रिल–लाइफ’ यति लामो चल्ला भन्ने कल्पनै थिएन।

आज उमेरले ‘हाफ सेन्चुरी’ नाघिसक्दा उनको आधा उमेर यही क्षेत्रमा बितिसकेको छ। कुनै बेला उनलाई भ्याइनभ्याई थियो। सुटिङमा दौडिँदै गर्दा उनलाई २ सयभन्दा बढी फिल्म खेलिसकेको पत्तै भएन। पछिल्लो समय फिल्ममा उनको ’ग्याप’ लामो भइसकेको छ। तर, उनी यसलाई सहजतासाथ स्विकार गर्छन्, ‘उपयुक्त स्क्रिप्ट आएको छैन। जथाभावी फिल्म खेल्ने कुरा पनि भएन नि।’

राजेशलाई राम्रोसँग थाहा छ, फिल्म खालि स्क्रिप्टले मात्र चल्ने होइन। त्यसमा जीवन्त अभिनय, उत्कृष्ट निर्देशन र संजोग पनि चाहिन्छ। तर, फिल्म खेल्नुअघि नै उनीकहाँ आउने स्क्रिप्टले उनको मन खिच्न सकिरहेको छैन। भन्छन्, ‘पहिले त मन खानुपर्यो नि। त्यो हुँदा गर्ने हो। नभएपछि अर्को फिल्म मात्र थपेर के गर्नु?’

उनलाई बीचका केही वर्ष फिल्मको अफर नआएको होइन। तर, आफूले अस्विकार गर्नुको कारण खुलाउँदै भन्छन्, ‘म कहाँ खालि त्यही ‘योङ’ राजेश हमालको भूमिका बोकेर आउँछन्।’ उनले अस्विकार गरेको एउटा फिल्मको ‘टाइटल’ रहेछ, उनकै नामबाट उच्चारण भएको। सुन्दै हाँसउठ्ने! राजेशले फिल्मको नाम मात्र के भनेका थिए, पल्लो टेबलमा बसिरहेका दुई महिला गलल्ल हाँसे।

अघिसम्म केही निराश देखिएका राजेश एक्कासि खुलेर आए। उनले आफ्नो पावरवाला चस्माबाट अर्को टेबलतर्फ इसारा गर्दै भने, ‘ऊ उहाँहरु पनि हाँस्नुभयो।’पछिल्लो रिलिज दुई फिल्म ’बागमती’ र ’शकुन्तला’ ले उनलाई निराश तुल्याएको रहेछ। कथाको हिसाबले उनलाई फिल्म राम्रो लागेको थियो तर प्रस्तुति र निर्देशन फितलो भएपछि फिल्म चुर्लुम्म डुब्यो।

त्यसैले अहिले फिल्म रोज्ने कुरामा झन् ‘चुजी’ बनेका रहेछन्, राजेश। यस अवधिमा उनलाई ६–७ वटा फिल्मको अफर नआएको होइन। तर, रोल मन नपरेपछि उनले त्यो प्रस्ताव ठाडै अस्विकार गरेका रहेछन्। ’सायद संसारमा अन्य कुनै कलाकारले मैले जसरी काम गरेका छैनन् होला। नेपालमा मभन्दा पुराना र मेरै समकालीन धेरै कलाकारको फिल्मी करिअरमा ४–५ वर्षको ‘ग्याप’ छ,’ उनले विगत कोट्याए, ‘म २२ वर्षदेखि अनवरत अनुहारमा मेकअप पोतिरहेको छु।’

फिल्मीवृत्तमा पछिल्लो समय एउटा चर्चाले ठूलो बजार लिएको छ। त्यो के भने, राजेश हमाल फिल्मी उद्योगबाट बाहिरिइसके। हामीले पनि बुझ्न चाहेको मुख्य कुरा नै यही थियो। के साँच्चि नै राजेश हमाल नेपाली फिल्मबाट टाढिइसकेका हुन् त? उनले यसको जवाफ निकै सहजतापूर्वक दिए, ‘म फिल्मबाट ‘रिटायर्ड’ भएको छैन। सिनेमा गर्ने अझै धोको छ। दर्शकहरुको पनि मप्रति ठूलो अपेक्षा छ। त्यसैले म जथाभावी फिल्म खेलेर उहाँहरुलाई निराश पार्न चाहन्नँ।’

उनी उमेरका कारण पहिले जस्तो सक्रिय बन्न नसकेको स्विकार्छन्। तर, कला–साहित्यमा संयमताको ठूलो महत्व र मूल्य हुने उनको भनाइ छ। उनी मानिसको जीवनलाई किताबसँग तुलना गर्छन्। किताबमा अनेकौं अध्याय हुन्छ। त्यसैले राजेश पनि अभिनयको एउटा अध्याय पूरा गरेर अर्को अध्याय निर्देशनमा जाने सोचमा छन्।

’अब मेरो भूमिका निर्देशकका रूपमा फेरिन सक्छ। एउटा कथा गरिरहेको छु। मेरो तर्फबाट एउटा सशक्त फिल्म आओस् भन्ने चाहना छ,’ अभिनयसँगै नयाँ भूमिकामा आफूलाई तयार पारिरहेका राजेश भन्छन्, ‘म अभिनयलाई मात्र निरन्तरता दिइरहूँ भन्ने पक्षमा छैन। अभिनय मात्र गर्दा २–४ रुपैयाँ कमाइ होला। तर करिअरलाई फाइदा हुँदैन। त्यसैले निर्देशन मेरो नयाँ बाटो हुनेछ।’

राजेशलाई आउँदो दिनमा यस्तो मात्र भूमिकामा देखिने रहर छ, हलबाट दर्शकहरु बाहिर निस्किँदा सबैले भनून्, ‘राजेश हमाल नयाँ ढंगबाट आयो है।’ नेपाली फिल्ममा ‘स्टारडम’ को एक मात्र हकदार मानिन्छन, राजेश। उनको सबैभन्दा ठूलो पुँजी नै नेपाली दर्शक हुन्। राजेश जहाँ उभिन्छन्, त्यहीँबाट दर्शकको लाइन सुरु हुन्छ। त्यसैले राजेश डेढ वर्ष फिल्म नगर्दा पनि आत्तिएका छैनन्। बरु नयाँ भूमिकाका लागि आफूलाई तयार पार्दैछन्। स्रोत : नेपाल लाइभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here