हारेपछि यसरी चित्त बुझाए ओलीले

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अबको निर्वाचनबाट सातवटै प्रदेश र केन्द्रमा पनि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरे । स्थानीय चुनावको समग्र परिणाममा पार्टी पहिलो भएको उल्लेख गर्दै यही जनमतको आडमा मंसिरको चुनावमा सफलता हासिल गर्ने उनले उल्लेख गरे ।

‘सत्ताको दुरुपयोग, षड्यन्त्रलगायत कारण प्रदेश २ को परिणाम यस्तो आए पनि समग्रमा एमालेको मत राम्रो छ, आउँदा चुनावमा हामी त्यहाँ जित्छौं,’ ओलीले भने, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने चुनावले पनि पुष्टि गरेको छ ।’ स्थानीय चुनावको समग्र परिणामले पार्टीलाई उत्साहित बनाएको उल्लेख गर्दै ओलीले आम घेराबन्दीको बीचमा आएको परिणाम राम्रो भएको उल्लेख गरे । उनले नवौं महाधिवेशनले पास गरेको नीति र सिद्धान्तकै जगमा पार्टीले काम गरिरहको र त्यहीअनुसारको चुनावी परिणाम हासिल गरेको बताए ।

बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरेपछि सचिव प्रदीप ज्ञवालीले अध्यक्षको प्रतिवेदन पढेका थिए । नेता माधव नेपालले भने पार्टी सञ्चालन गर्ने शैलीदेखि माओवादीसँगको गठबन्धन तोडेकासम्म विषयहरू ल्याएर अध्यक्ष ओलीको आलोचना गरेका कान्तिपुरमा खबर छ । उनले माओवादीसँगको सत्ता गठबन्धन तोड्नु एमालेको गल्ती भएको उल्लेख गरे । ‘माओवादीसँग सत्ता गठबन्धन तोड्नु गलत थियो, हाम्रो कारणले गठबन्धन तोडिएको थियो, यसमा गल्ती महसुस गर्नुपर्छ,’ उनले भने ।

त्यसबेला माओवादीसँग भएका वार्ताका प्रसंगसमेत उठाउँदै नेपालले गठबन्धन कायम रहेको भए स्थानीय चुनावमा प्रदेश २ लगायत अन्य क्षेत्रमा समेत अहिलेको भन्दा धेरै सिट बढी जित्न सकिने अवस्था हुने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here