अव २० तहको नतिजा बाँकी,अहिलेसम्म कसले कहाँ जिते ?

प्रदेश २ को १३६ मध्ये ११५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार काँग्रेसले ३५ स्थानमा विजयसहित पहिलो दल बनेको छ भने दोस्रो दल बन्न तीन दल बीच प्रतिस्पर्धा भइरहेको छ । राती दश बजेसम्म सङ्घीय समाजवादी फोरम नेपालले २१, राष्ट्रिय जनता पार्टी नेपालले २० र माओवादी केन्द्रले १९ स्थानीय तहमा चुनाव जितेका छन् । एमालेले १४, नेपाल लोकतान्त्रिक फोरम नेपालले तीन, नेपाली जनता दलले दुई र नयाँ शक्ति नेपालले एक स्थानमा जित हासिल गरेका छन् ।

महोत्तरीका १३ स्थानीय तहको नतिजा आइसकेको छ जसमा राजपाले पाँच, काँग्रेसले तीन, माओवादी केन्द्रले चार, तथा सङ्घीय फोरमले एक स्थानमा जित हासिल गरेका छन् । मत गणना जारी रहेको मनरासिस्वा नगरपालिका र पिपरा गाउँपालिममा राजपा अगाडि छ । त्यस्तै, सिरहाको सिरहा नगरपालिकाबाहेक १६ स्थानीय तहको परिणाम आइसकेको छ । जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार माओवादी केन्द्रले छ, एमालेले चार, फोरम नेपालले चार र काँग्रेसले दुई स्थानीय तहमा विजय प्राप्त गरेको छ । मत गणना जारी रहेको सिरहा नगरपालिकामा फोरम नेपालले अग्रता लिएको छ ।

पर्सामा वीरगन्ज महानगरपालिकामा फोरम नेपाल र काँग्रेसबीच कडा प्रतिश्पर्धा छ । सुरुमा राजपा अग्र स्थानमा रहेको वीरगन्जमा पछि काँग्रेस अग्र स्थानमा आएको थियो भने शनिबारदेखि फोरम नेपालले अग्र स्थान लिएको छ । पर्सामा माओवादी केन्द्र तीन, फोरम नेपाल तीन, काँग्रेस तीन, नेपाली जनता दल दुई र एमाले दुई स्थानमा विजयी भएका छन् ।

बारामा १६ स्थानीय तहमध्ये ११ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये काँग्रेसले चार, राजपाले तीन, फोरम नेपालले तीन र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानमा जित हासिल गरेका छन् । कलैया उपमहानगरपालिकामा फोरम नेपाल अग्रस्थानमा छ भने जितपुर सिमरा उपमहानगरपालिकामा एमाले, बारागढीमाई गाउँपालिकामा काँग्रेस, आदर्श कतोवाली गाउँपालिकामा माओवादी, कोलवी नगरपालिकामा एमाले र महागढीमाई नगरपालिकामा काँग्रेस अगाडि छ ।

धनुषामा १८ स्थानीय तहमध्ये जनकपुर उपमहानगरपालिका र सबैला नगरपालिकाबाहेक सबै तहको नतिजा आएको छ । जनकपुर उपमहानगरपालिकामा राजपा अघि छ भने सबैलामा काँग्रेस अघि छ । नतिजा सार्वजनिक भएको १६ स्थानमध्ये काँग्रेस सात, एमाले चार, फोरम नेपाल दुई, राजपा एक, माओवादीले दुई स्थानमा जित हासिल गरेका छन् ।

त्यस्तै, २० स्थानीय तह रहेको सर्लाहीमा १६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमा काँग्रेसले चार, माओवादीले दुई, राजपा पाँच, फोरम नेपालले एक, एमालेले तीन र लोकतान्त्रिक फोरमले एक स्थानमा जित हासिल गरेको छ । मलङ्गवा नगरपालिकामा काँग्रेस कवलासीमा राजपा, वरहथवा नगरपालिकामा माओवादी र हरिपुर नगरपालिकामा एमाले अघि छ ।

सप्तरीको १८ स्थानीय तहमध्ये १४ तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये काँग्रेसले चार, एमालेले एक, राजपा चार, फोरम नेपाल चार, नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजय भएका छन् । मतपत्रमा हस्ताक्षर नभएको कारण देखाउँदै विवाद भएपछि राजविराज नगरपालिकाको मत गणना स्थगित छ । खरक र कन्चनरूप नगरपालिकामा काँग्रेस, शम्भुनाथ नगरपालिकामा एमाले र राजविराजमा फोरम नेपाल अघि छ ।

रौतहटमा १८ स्थानीय तहमध्ये १६ तहको नतिजा आएको छ, जसमध्ये काँग्रेसले ८, फोरम नेपालले तीन, माओवादी केन्द्रले दुई, राजपाले दुई, लोकतान्त्रिक फोरमले एक स्थान जितेको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here