किरण गुरुङ उठ्ने ठाउँमा काँग्रेसले उमेद्वार नै भेटेन

प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता किरण गुरुङ तनहुँ क्षेत्र नम्वर २ ख वाट प्रदेश सभामा उमेद्वार बन्ने भएपछी स्थानीयबासी खुसी भएका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक गुरुङ आफ्नो जन्मथलो भिमाद नगरपालिका (साविकको भानुमति) सहित घिरिङ र रिसिङ गाउँपालिका रहेको प्रदेश निर्वाचन क्षेत्रवाट उमेद्वार बन्दैछन् ।

एमालेको पकड रहेको सो निर्वाचन क्षेत्रमा माओवादी समेत रहेको बाम गठबन्धनवाट गुरुङ साझा उमेद्वार बनेपछी नेपाली काँग्रेसले उमेद्वार नै भेटेको छैन । चर्चामा रहेका नेता जितप्रकाश आले किरणसँग सकिँदैन भन्दै समानुपातिकतर्फ लागेका छन् । अर्का पात्र तरुण दलका पुर्व महासचिव पुष्पराज पराजुली भने चुनावको मुखमा काँग्रेस पार्टी नै परित्याग गरेको घोषणा गरेका छन् ।

पराजुली स्थानीय निर्वाचनमा भिमाद नगरपालीकाको मेयरमा पराजित भएका थिए । पराजुलिले आफुसँगै अन्य स्थानीय काँग्रेस कार्यकर्तालाई पनि नेपाली काँग्रेस परित्याग गर्न दवाव दिएका छन् । सो क्षेत्रमा काँग्रेसले कमजोर उमेद्वार अघि सार्ने तयारी गरेको छ ।

गुरुङ उमेद्वार बन्ने खवरले बाम गठबन्धनमा त स्वभाविक खुसी छाएको छ नै राष्ट्रिय राजनीतिमा स्थापित नेतालाई उमेद्वार पाउँदा अन्य दल नजिक रहेका मतदाता समेत खुसी छन् ।

उनिहरु यसलाई सुखद अबसरका रुपमा लिएका छन् । आफ्नो गाउँका नेतालाई प्रदेश कै नेतृत्वमा अगाडी सारेर उमेद्वार बनाउने खबरले उनिहरु खुसी भएका हुन् । तनहुँका जनता आफ्नो गाउँको मात्र होइन प्रदेशको समृद्धि र बिकासको नेतृत्व किरणवाट होस् भन्ने चाहन्छन् ।

विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका गुरुङ वामपन्थी आन्दोलनमा लागेर दश वर्ष भन्दा लामो समय भूमिगत जीवन बिताएका छन् ।  तनहुँ क्षेत्र नं. ३ बाट पहिलो संविधान सभामा निर्वाचित गुरुङ २०४८ सालको आम चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । निरन्तर जनताको पक्षमा लागेर राजनीति गर्दै आएकाले आफूलाई जनताले पुन जिताउने उनको बिश्वास छ ।

२०६४ सालको संविधान सभा चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले विजयी गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वनमन्त्रीको जिम्मेबारी पाएका थिए । गण्डकी धौलागिरी क्षेत्रका पुराना र शिर्ष नेता गुरुङ एमालेको गत महाधिवेशनमा उपाध्यक्ष पदमा चुनाव लडेका थिए ।

प्रदेशको भावि नेतृत्वका रुपमा गुरुङ आफ्नो जिल्लाको जनप्रतिनिधि बन्न लाग्दा यहाँका मतदाता निकै खुसी छन् । उनिहरु भन्छन् – हाम्रो गाउँ, नगर, जिल्ला र प्रदेशले एउटा असल अभिभावक पाउँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here