रामचन्द्र पौडेललाई अर्को धक्का, तनहुँका कांग्रेस प्रभावशाली नेता एमालेमा जाने

नेपाली कांग्रेसबाट प्रदेसको टिकट दाबी गर्दै आएका तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ एमाले प्रवेश गर्ने समाचार श्रोतले दाबी गरेको छ । विगतमा तनहुँ क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दिएका गुरुङले यसपल्ट कारबाही फुकुवा गराउँदै आफूलाई प्रदेसको टिकट दिन माग गर्दै आएका थिए । तर कांग्रेसबाट टिकट नपाउने करिब निश्चित देखेका गुरुङले एमाले प्रवेश गर्ने योजना बनाएको उनीनिकट एक कांग्रेस केन्द्रीयस्तरका नेताले बताएका छन् ।

एमाले श्रोतले पनि गुरुङ पार्टी प्रवेश गर्ने पुष्टि ग¥यो । एमालेबाट क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ गुरुङलाई पार्टी प्रवेश गराउँदै चुनावमा सहयोग लिनका लागि दमौलीमा सक्रिय बनेका थिए । यसबीचमा उनीहरुबीचको वार्ताले निचोड पाएको श्रोतको दाबी छ । यद्यपि यसबारेमा एमालेका सीमित नेताहरुलाई मात्र जानकारी दिइएको छ ।

‘प्रतिनिधि सभा सदस्य उम्मेदवारको नितान्त पहलमा भएको कुरा हो,’ श्रोतले भन्यो,‘पार्टी प्रवेश भए पछि मात्र औपचारिक रुपमा सबैले थाहा पाउनेछन् ।’ उनलाई प्रवेश गराउँदा तत्काल कुनै पद नदिने एमाले श्रोतको दाबी छ । ‘चुनावअघि नै भएको भए उहाँलाई पद दिनेबारेमा छलफल हुन्थ्यो,’ श्रोतको दाबी छ ,‘अहिले हाम्रा उम्मेदवारलाई सघाउने गरी उहाँ आउन लाग्नुभएको हो ।’ तर पछिका दिनहरुमा पार्टीमा जिम्मेवारी दिइने एमाले श्रोतको दाबी छ ।

ओली–गौतम सहमत
गुरुङलाई पार्टीमा प्रवेश गराउने विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीदेखि उपाध्यक्ष वामदेव गौतमसम्म तयार भए पछि औपचारिक कार्यक्रम नै गरी उनलाई पार्टी प्रवेश गराइने बताइएको छ । एमाले उम्मेदवार श्रेष्ठ र गुरुङ दुवै सँगै काठमाडौं गएको र केही समयभित्रै पार्टी प्रवेश गराइने बताइएको छ ।

यसमा तनहुँ क्षेत्र नम्बर १ क बाट प्रदेस सभा सदस्य उम्मेदवार बन्न लागेका रामबहादुर गुरुङको समेत विशेष हात रहेको श्रोतको दाबी छ । यसबारेमा केही दिनयता अनौपचारिक च्यानलबाट खबर आए पनि औपचारिक रुपमा बोल्न कोही तयार छैनन् । यस खबरका बारेमा पुष्टि गर्न गुरुङसँग सम्पर्क स्थापित हुन सकेन ।

चुनावी असर
गत संविधानसभा निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारका रुपमा उठेका गुरुङले २९ सयको हाराहारीमा मत पाएका थिए । यद्यपि यसपल्ट उनी अर्को दल प्रवेश गरेका र उम्मेदवार बन्ने सम्भावना नभएका कारण उनको बहिर्गमनले कस्तो नतिजा ल्याउँछ हेर्न बाँकी छ । तर पनि युवामाझ बलियो नेटवर्क बनाएका गुरुङले कांग्रेस छाडेमा त्यसले नकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।

पार्टीभित्र केन्द्रीय सदस्य शंकर भण्डारीनिकट मानिएका गुरुङ एमाले गएमा यसले उनलाई समेत असर पार्न सक्ने ठानिएको छ । केन्द्रीय सदस्य भण्डारीले आफूले यसबारेमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई जानकारी गराए पनि रोक्नका लागि पहल नभएको निकटस्थसँग गुनासो गर्ने गरेका छन् ।

स्रोत दमौली एफएम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here