एमाले फकाउने प्रचण्डको तरिका सुन्दा तपाई पनि हाँस्नुहुन्छ

०६३ मंसिरमा जब सरकार र माओवादीको बीचमा विस्तृत शान्ति सम्झौता भयो, एउटा अचम्मको प्रस्ताव माओवादी वृत्तबाट सुनिन थाल्यो– गिरिजाबाबुलाई अब नोबेल शान्ति पुरस्कार दिइनुपर्छ। उनीहरुले अनौपचारिक रुपमा यो कुरा यति जोडतोडका साथ प्रचार गराए कि धेरैलाई लाग्यो– हो त! त्यत्रो युद्ध गरेर आएको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन भूमिका खेल्ने ‘टावर पर्सन’ त्यो पुरस्कारको हकदार नै छन् नि!

तर माओवादीले न त नोबेल पुरस्कार दिन सक्थ्यो, न त त्यसको लागि सिफारिस नै गर्न सक्थ्यो। उसले बढीमा गिरिजाबाबुलाई फकाउन सक्थ्यो र गठन हुनै लागेको अन्तरिम व्यवस्थापिकामा आफ्ना सदस्यको संख्या बढाउन सक्थ्यो। भयो पनि त्यस्तै, कहिल्यै जनतामा परीक्षण नै नभएको शक्तिलाई एमालेको हाराहारी हैसियत प्राप्त भयो। ३ सय ३० सदस्यीय अन्तरिम व्यवस्थापिकामा यी दुवै दलले ८३/८३ सिट प्राप्त भयो। जबकि, त्यतिबेला नेपाली कांग्रेसबाट ८५ र कांग्रेस प्रजातान्त्रिकबाट ४८ जना विधायिका बनेका थिए। बाँकी अन्य दलको भागमा पर्‍यो।

गिरिजाबाबुको गुम्ने केही थिएन। बरु प्रतिस्पर्धात्मक शक्ति एमालेलाई साइजमा ल्याउन कांग्रेसका निम्ति त्यो आवश्यक पनि थियो। माओवादीलाई सुरुमै एमाले बराबरको हैसियत प्राप्त भयो। आम मान्छेलाई पनि सुरुमै माओवादी भनेको ठूलो शक्ति भएको छनक दिइयो।

माओवादीले नोबेल पुरस्कारको हल्ला पिटाएर होस् वा मसिनो स्वरमा पहिलो राष्ट्रपतिको आश्वासन दिएर होस्। गिरिजाबाबुबाट लिन सक्ने जति सबै लियो। मुद्दा र आश्वासन बिक्री गर्दै सत्ताका अंशहरु किन्नमै माओवादीले थुप्रै समय बिताए।

युद्धमा छँदा थर्काएर धेरै शक्ति आर्जन गरिसकेको पार्टीले शान्ति प्रक्रियामा आएसँगै रणनीति परिवर्तन गरेको थियो। थर्काएर होइन, फकाएर नै लिन सकिन्छ। आफूलाई फकाएर माओवादीले धेरै थोक लिएको कांग्रेसले पछि मात्रै थाहा पायो। पहिलो संविधानसभाको चुनावमा एमालेसँग माओवादीको तालमेलको हल्ला चलिरहेका बेला तत्कालिन कांग्रेस महामन्त्री रामवरण यादवले एउटा साप्ताहिक पत्रिकासँग भनेका थिए, ‘माओवादीले हामीलाई उचालेर थचारिदियो, एमालेहरु सचेत बनून्।’

करिब एक दशकपछि माओवादी गिरिजाले कायम गरिदिएको हैसियतबाट धेरै तल पुगिसकेको छ। एमाले पहिलो दल बन्दा माओवादी एमालेकै सहारामा तेस्रो शक्ति मात्रै बन्न सकेको छ। र, एक दशकअघि ‘एमालेकरण’ शब्दलाई घृणा गर्ने माओवादी अहिले एमालेसँगै एकताको लागि दिनरात मेहनत गरिरहेका छन्।

सामान्य नेताहरु मात्रै होइन, स्वयं सुप्रिमो प्रचण्ड नै एमालेको भाइ हुनुमा गौरब महसुस गरिरहेका छन्। उनले भन्न थालेका छन्, ‘माओवादी एमालेको भाइ हो भन्ने सावित भइसकेको छ।’

केही दिनअघि नयाँ पत्रिका दैनिकको फेसबुक लाइभमा प्रचण्डले भने, ‘माओवादी एमालेको आफ्नै भाइ हो, बन्धु हो भन्ने कुरा इतिहासमा साबित भइसकेको छ।’

त्यति मात्रै होइन, शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानुअघि पेरिसडाँडाको अन्तर्क्रियामा उनले भने- ‘एमाले माओवादीको गुरु हो।’ माओवादी एमालेको पछिपछि हिँडिरहेको भन्ने समर्पणभाव पनि व्यक्त गरे। प्रचण्डकै शब्दमा उतिबेलाको ‘भाले पार्टी’ यतिबेला चल्ला बनेर माउको पछिपछि चिउँचिउँ गरिरहेको छ। र त्यो माउ एमाले भएको प्रचण्ड अभिव्यक्तिले पुष्टि गर्छ।

एकताको नाममा अहिलेलाई प्रचण्डले जित्न बाँकी एउटै मात्र कुरा छ, अध्यक्ष पद। मिथकमा अर्जुनले माछाको आँखा हेरेजस्तो उनको दृष्टि एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष पदमा केन्द्रित भइरहेको छ। अहिलेको चिउँचिउँको अन्तर्य त्यही हो।

प्रचण्डले एक दशकअघि गिरिजाप्रसादमाथि जुन सूत्रको प्रयोग गरेर आफ्नो अनुकूलको फाइदा लिने वातारण बताए। अहिले त्यही सूत्र एमालेमाथि प्रयोग गरिरहेका छन्। उनी जसरी हुन्छ एमाले वृतलाई फकाउन चाहन्छन् र अध्यक्ष पद आफ्ना पोल्टामा पार्न चाहन्छन्। सके आफूपछिका नेता कार्यकर्ताको पनि पदीय हैसियत मिलाउने दाउ होला। दुई कम्युनिष्ट पार्टीको एकता हुँदै गर्दा सैद्धान्तिक पक्ष भने ओझेलमा पर्नु तर प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा भद्र सहमतिको कुरा बहसमा आउनुको पछाडि प्रचण्डको पदीय हैसियतकै सवाल छ।

अबका प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने पक्कापक्की जस्तै भएको बेला प्रचण्डको व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। एमालेमा ओली पक्षका नेताहरु अध्यक्ष पद छाड्न आनाकानी गरिरहेका छन् तर माओवादी भने ‘एकताका लागि पुल नै भत्काएर अघि बढिसकेका छन्’। ओली पक्षीय नेताहरुले प्रचण्डलाई अध्यक्ष मान्न नसकिने भनेर मिडियावाजीमा उत्रेका बेला प्रचण्डलाई अनेक किसिमका तुरुप फाल्नुपर्ने बाध्यता छ। प्रचण्डका पछिल्ला अभिव्यक्तिहरु एमाले नेताहरुले खनेको खाल्डो पुर्ने प्रयत्न हो भनेर बुझियो भने राम्रै होला।

शीर्ष नेताको व्यवस्थापनको मोडलमा आम बुझाइ जे छ, एमाले भित्रका शक्ति संघर्षले त्यसमा अबरोधको भूमिका खेल्ने वा खेलिरहेको प्रचण्डले नबुझेका पक्कै छैनन्। त्यसैले पनि उनी फकाएर लिनुपर्छ भन्ने सूत्रको प्रयोग गरिरहेका छन्। नत्र, दुई ठूला कम्युनिस्ट पार्टीको एकता हुँदै गर्दा एउटाले प्रधानमन्त्री पाएपछि अर्कोले अध्यक्ष पद स्वत: पाउनुपर्छ उनको भन्ने दाबी हुन्थ्यो होला।

तर जसरी गिरिजाप्रसादलाई फकाएर चाहेजति लिन सम्भव भयो, अहिले एमालेलाई फकाउन सकिए चाहिनेजति लिन सकिन्छ भन्ने बुझाइमा छन्, प्रचण्ड।

चुनावअघि प्रचण्डले एमाले अध्यक्ष ओलीलाई अबको प्रधानमन्त्री भनेर सार्वजनिक रुपमै भनिदिए। त्यो पद तत्कालका लागि आफ्नो हैसियतमा छैन भन्ने बुझेर मात्रै उनले ओलीका निम्ति बोलिदिएका थिएनन्। उनले अध्यक्षमा चाहिँ आफू है भनेर अप्रत्यक्ष संकेत सकेत गरेका थिए। प्रधानमन्त्री बन्ने लोभमा आफैंले प्रधानमन्त्रीमा प्रस्ताव गरेको व्यक्तिलाई ९ महिनामै अविश्वासको प्रस्ताव राख्न सक्ने व्यक्ति पो हुन् त प्रचण्ड। उनको पदीय आशक्ति कसले पो बुझेको छैन र?

उनी एमालेभित्रका अन्य समूहको पनि निकट नै देखिन्छन्। एमालेभित्र माधव नेपाल र झलनाथ खनाल पक्ष मसलाको रुखमुनि हुर्किन नसकेको दुबोजस्तो भइरहेको स्पष्ट नै छ। उनीहरुको चाहना पेलेर अघि बढ्ने ओलीभन्दा संयोजनकारी प्रचण्ड बढी सहज हुनसक्छन्। एमाले भित्रको शक्ति संघर्ष प्रचण्डले पनि नबुझेका होइनन्। त्यसैले त उनी एमालेभित्रका ती समूहका लागि पनि मन जित्ने प्रयत्न गरिरहेका छन्। शान्ति प्रक्रियामा माधव नेपालको भूमिकालाई प्रचण्डले जस दिइराख्नुको कारण मसलाको रुखमुनिको दुबोलाई पानी हाल्ने प्रयत्न हो भनेर बुझ्न कठिन छैन।

जे होस्, प्रचण्डका निम्ति अहिले एमालेलाई फकाउने र अध्यक्ष पद सुरक्षित गर्नुपर्ने बाध्यता छ। त्यसका निम्ति उनले अख्तियार गरिरहेको पछिल्लो रणनीति कति सफल होला, त्यो भने आगामी दिनमा देखिएला। किशोर दहाल/नेपाललाइभ