कांग्रेसले गर्यो नेताहरुको कार्यबिभाजन, कसैले कवाडी उठाउने, कसैले जुत्ता सिउने

मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरमा फरक दृश्य देखियो। सहिद दिवसको बिहानै कांग्रेसका केही युवा नेता हातमा ब्रस लिएर जुत्ता पालिस गर्न सडकको पेटीमा पंक्तिबद्ध भएर बसेका थिए। त्यही लाइनमा देखिए, कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ। उनी भ्रष्टाचार विरुद्ध सुशासन राजनीतिक प्रणालीको पक्षमा निरन्तर संसद् र सडकमा आवाज उठाउँदै आएका नेता हुन्।

पार्टीभित्रको गलत प्रवृत्ति विरुद्ध खरो उत्रने स्वभावले धनराजले यस पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा टिकट नै पाएनन्। उनी जनजीविकाको हरेक समस्या विरुद्ध आवाज उठाउँछन्। बानेश्वरमा जुत्ता पालिस गरेका धनराज लगायतका कांग्रेस नेताको कामलाई केहीले चर्चामा आउने मेलोको रुपमा व्याख्या गरे भने केहीले भ्रष्टीकरणमा डुबेको नेपाली राजनीतिलाई व्यंग्यका रुपमा बुझे। यसै क्रममा हामीले जुत्ता पालिस गर्ने कार्यक्रमको औचित्य के हो भनी धनराजलाई प्रश्न गरेको थियौं। जवाफ उनकै शब्दमा:

नेपालको राजनीति एकदमै भ्रष्टीकरण भएको छ। त्यसैले सहिद दिवसको अवसर पारेर हामीले राजनीतिक शुद्धीकरणका लागि सांकेतिक रुपमा जुत्ता पालिस गरेका हौं। भ्रष्ट हुँदै गएको राजनीतिलाई व्यंग्यात्मक कार्यक्रम मार्फत प्रस्तुत गरिएको हो। कार्यक्रम गर्न एउटा ब्यानर आवश्यक थियो, हामीले कृष्णप्रसाद भट्टराईको ब्यानर मुनि कार्यक्रमको आयोजना गर्‍यौं।

कृष्णप्रसाद भट्टराई राजनीतिक रुपमा शुद्ध र नैतिकवान् हुनुहुन्थ्यो। उहाँ आजीवन आश्रममा बस्नुभयो, त्यहीँ अन्तिम सास लिनुभयो। दुई-दुई पटक प्रधानमन्त्री बनेको व्यक्ति कहिल्यै पनि लोभमा लाग्नुभएन। किशुनजीको एउटा मार्गदर्शन पनि थियो, राजनीतिक शुद्धीकरण। राजनीतिज्ञमा नैतिकता हुनुपर्छ भन्ने किशुनजीको जुन प्रकारको मार्गदर्शन हो, त्यसैलाई पछ्याउने प्रयास स्वरुप म कार्यक्रममा सहभागी भएको हुँ।

जुत्ता पालिस गर्ने कार्यक्रम कुनै पार्टी विशेषको होइन, यो सबै राजनीतिक दलहरुको हो। यहाँ सबै पार्टीभित्र भ्रष्टाचार व्याप्त छ। त्यसकै असरले नेपाली राजनीति भ्रष्टीकरण भइसकेको छ। कुनै व्यक्ति र पार्टीको नभई अब भ्रष्टाचारमुक्त राजनीति सबै नेपालीको साझा अभियान बन्नुपर्छ भन्ने मलाई लाग्छ। सहिद दिवसमा सहिदहरुले देखाएको बाटोलाई एक पटक हामीले स्मरण गरेका छौं। सहिदलाई सम्झिँदै पथभ्रष्ट भएको नेपाली राजनीतिलाई सही दिशामा ल्याउने प्रयासस्वरुप यो कार्यक्रम आयोजना गरिएको हो। पुनश्च: शिर्षक रमाइलोका लागि त्यस्तो राखिएको हो । स्रोत नेपाललाइभ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here