प्रदेश ४ को खास खुलासा, को बन्दैछ मुख्यमन्त्री ?

गत सोमवार प्रदेश नम्वर ४ को प्रदेश सभा बैठकसँगै सभामुख, उपसभामुख चयनको बाटो मात्र खुलेको छैन, प्रादेशिक सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री चयनको गृहकार्य पनि सुरु भएको छ ।  प्रदेश ४ को ६० सदस्यमध्ये प्रमुख दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना छन् । प्रदेशको मुख्यमन्त्री बन्नका लागि ३१ सदस्यको समर्थन प्राप्त गर्नुपर्नेछ ।

प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीका रुपमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङ र पार्टी सचिव पृथ्वीसुव्वा गुरुङ रहेका छन् । मुख्यमन्त्री बन्न संसदीय दलको नेता चुनिनुपर्नेछ । अघिल्लो साता एमाले स्थायी कमिटीले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो । प्रदेश नम्वर ४ का दुवै आकांक्षी अध्यक्ष केपी ओली निकट हुन् ।

शीर्ष नेताले नै अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेकोले चुनावबाटै नेता चयन हुने सम्भावना बढेको छ । प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । दुवै संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो देखिएको छ । दाबेदार दुवै नेताले आफुले जित्ने दाबी गर्दै आएको भएपनि चुनाव हुने अवस्थामा प्रदेश संयोजक किरण गुरुङको संम्भावना बलियो देखिएको स्रोतले बताएको छ । संयोजक गुरुङले सहमति जुटाउन अनौपचारिक प्रयास जारी राख्दै आफ्नो पक्षमा सर्वसम्मतको वातावरण बनाउन लागिपरेको समेत स्रोतको भनाई छ । केन्द्रीय स्तरमा प्रभाव राख्ने प्रदेश ४ मा रहेका अधिकांश नेता किरण गुरुङको पक्षमा छन् ।

किरणलाई न्याय गर्नुपर्छ

प्रभावशाली नेताहरु मात्र होइन, एमालेको तर्फवाट प्रदेशसभाका अधिकांश सदस्यहरु किरण गुरुङको पक्षमा देखिएका छन् । चार दशकदेखी निरन्तर पार्टीमा लागिपरेका किरण गुरुङलाई न्याय गर्नुपर्ने उनिहरुको बुझाई छ । किरण गुरुङ १७ बर्षको उमेरदेखी निरन्तर पार्टीको काममा इमान्दारीपुर्वक खटेका छन् ।

पञ्चायत विरुद्ध भएको आन्दोलनमा किरणले बिभिन्न जिल्लाको नेतृत्व गरिरहंदा पृथ्वीसुब्वा लमजुङकै एक बिद्यालयमा पढाइरहेका थिए । किरण २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज भएर गण्डकी र धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर काम गर्दा पृथ्वीसुब्वा शिक्षक संगठनमा काम गरिरहेका थिए । उनि २०४० साल मंसीरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीमा संगठित भएका थिए ।

किरण गुरुङ, पृथ्वीसुव्वा गुरुङ भन्दा करिव १२ बर्ष पहिले केन्द्रिय तहमा पुगेका नेता हुन् । किरण २०४८ सालमै एमालेको राष्ट्रिय परिषद सदस्य हुँदै २०४९ सालमा भएको पाँचौं महाधिवेशनवाट केन्द्रिय कमिटीमा निर्वाचित भएका हुन्‍ । जतिवेला पृथ्वीसुब्वा जिल्ला कमिटीमा काम गरिरहेका थिए । २०४८ साल फागुनमा भएको लमजुङ जिल्ला अधिवेशनबाट पृथ्वीसुब्वा जिल्ला कमिटीमा निर्वाचित भएका थिए ।

उनि २०६० मा बल्ल नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् ।  किरण गुरुङ २०३६ सालको जनमतसंग्रहको वेला बहुदलको पक्षमा लागे । प्रधानपञ्चको छोरा बहुदलको पक्षमा लागेपछी परिवारमा मनमुटाव भयो । त्यसपछि किरणले जनताको मुक्तिका लागि परिवारसँग विद्रोह गरेर भुमिगत भए ।

किरण १७ बर्षको उमेरमा भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीतिमा लागे । तर पृथ्वीसुब्वाले न पढाई छोडे न त परिवारसँग बिद्रोह गरे । त्यसअघि मनोनित भएका पृथ्विसुब्बा २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।

जवकी किरण २०४९ सालमै अर्थात १६ वर्षअघि नै केन्द्रिय कमिटी सदस्य निर्वाचित भएका थिए । पृथ्वीसुव्वा २०७१ मा नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । महाधिवेशनमा पृथ्वीसुव्वा पार्टी सचिव लड्दा किरण गुरुङ पार्टी उपाध्यक्ष पदका लागि चुनाव लडेका थिए ।

प्रदेश-४ बिद्यार्थीकालदेखी काम गरेको भुगोल हो

किरण गुरुङले बिद्यार्थीकाल देखी नै पोखरालाई केन्द्र बनाएर गण्डकी र धौलागिरी वा अहिलेको प्रदेश नम्वर ४ मा काम गरे । कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीको त उनले पार्टी प्रमुख भएर नै काम गरे । गण्डकी र धौलागिरी अञ्चलको पटक पटक नेतृत्व गरे । गृहजिल्ला तनहुँमा त कम्युनिष्ट पार्टी स्थापना र बिकासमा नेतृत्व नै गरे । प्रदेश ४ को सवै भुगोल उनलाई कण्ठस्तै छ । जनता चिनेका छन् । जनताको समस्यावारे जानकार छन् । र अहिले एमालेको प्रदेश संयोजक भएर भुगोलकै काम गरिरहेको हुनाले पनि मुख्यन्त्रीमा किरणको बिकल्प नहुने कार्यकर्ताको भनाई छ ।

किरण गुरुङ केही बर्ष भित्रै प्रदेश नम्वर ४ लाई नेपालकै नमुना प्रदेश बनाउने दृष्ट्रिकोणका साथ अघि बढेका छन् । हिमालदेखि तराईसम्मको भूभाग समेटेर बनेको प्रदेश ४ हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि दाउन्नेदेवी पूर्व नवलपुर, गैँडाकोटसम्म फैलिएको क्षेत्र हो । यो प्रदेशलाई पर्यटन, कृषि, जलस्रोत आदिका माध्यमबाट समृद्ध बनाउन सक्ने उनको बुझाई छ ।

जलसम्पदाका रुपमा कालीगण्डकी, सेती, मस्र्याङ्दी, मादी, मोदी, म्याग्दी बूढीगण्डकी होइन महाभारत पर्वतबाट निस्केका नदी र खोला रहेका छन् । गुरुङ भन्छन् – जलस्रोतको अपार भण्डार रहेको प्रदेशलाई जलस्रोतकै उपयोग मात्र गर्न सके पनि आर्थिक समृद्धि र विकासमा  अघि बढाउन सकिन्छ । प्रदेश सभा वैठकमा सम्बोधनका क्रममा पनि  गुरुङले सुशासन कायम गर्दै स्थानीय तहलाई बलियो बनाएर समृद्धिका लागि साधनस्रोतको अधिकतम उपयोग गरिनु आवश्यक भएको बताएका थिए ।

प्रदेश ४ तराईका भूभागमा अन्न उत्पादन, पहाडी भूभागमा फलफूल उत्पादन र उच्च हिमाली भेगमा जडीबुटी उत्पादनको सम्भावना समेत छ । चीनको सीमा नाका कोरलादेखि सुस्तासम्म फैलिएको प्रदेशमा पर्यटनको पनि पर्याप्त सम्भावना छ । उर्जा, कृषि, पर्यटन जस्ता क्षेत्रमा पूर्वाधार विकासलाई  प्राथमिकता दिएर अघि बढ्नुपर्ने गुरुङ बताउँछन् । देश र जनताका लागि घरभित्रैबाट विद्रोह सुरु गरेर नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनलाई यो उचाईमा ल्याइपु¥याउन निरन्तर संघर्षरत नेता गुरुङलाई पहिलो मुख्यमन्त्री बनाउनुपर्ने अधिकांश कार्यकर्ता बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here