मुख्यमन्त्री चयन: प्रदेश १ र ३ ले ४ लाई दिएको सन्देश

पार्टी संसदीय दलको नेता चयनका लागि शुक्रबार भएको प्रदेश १ र ३ को चुनावमा अध्यक्ष केपी ओली पक्षले बाजी मारेको छ । प्रदेश १ मा शेरधन राई संसदीय दलको नेता चुनिएका छन् । प्रदेश नम्बर ३ मा डोरमणि पौडेलले चुनाव जितेका छन् । राईले पार्टी सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गरे भने पौडेलले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । प्रदेश नम्बर ५ र ६ मा क्रमश शंकर पोखरेल र यामलाल कडेंल संसदीय दलको नेता छानिएका छन् । प्रदेश नम्बर ६ र ७ मा वाम गठबन्धन सहयात्री माओवादी केन्द्रलाई एमालेले मुख्यमन्त्रीमा सघाउने सहमति गरेको छ । प्रदेश नम्बर २ मा मधेसी गठबन्धनसँग बहुमत छ ।

प्रदेश नम्बर ५ मा पोखरेल मुख्यमन्त्रीका एकमात्र दावेदार छन् । अव आइतवार एमालेले प्रदेश–४ को संसदीय दलको नेता चयन गर्दैछ । प्रदेश–४ मा मुख्यमन्त्री बन्ने दौडमा प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा भइरहेको छ । किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशमा एमालेका २७ जना सदस्य छन् । संसदीय दलको नेताका विषयमा सहमति हुन नसकेपछि एमालेले संसदीय दलको बैठक आइतवारका लागि बोलाएको छ । आइतवार बस्ने बैठकले निर्वाचनमार्फत् नेता चयन गर्ने बताइएको छ । एमाले स्थायी समितिको बैठकले सहमति नभएको स्थानमा मतदानबाट नेता छान्ने निर्णय गरेको थियो । प्रदेश ४ मा मुख्यमन्त्रीको उम्मेदवार छान्न एमालेलाइ सकस परेको छ ।

लोकतान्त्रिक पद्धति अनुसार हुने चुनावलाई दुवै नेताले सहज रुपमा लिनेछन् तर प्रदेश १ र ३ को चुनावले ४ लाई केही गम्भिर सन्देश दिएको छ । प्रदेश १ र ३ मा संस्थापन पक्षले एकलौटी गरेको आरोपका बीच हुने प्रदेश ४ को चुनावबाट राम्रो सन्देश दिन संस्थापनका लागि अवसर भएको धेरैको भनाई छ । हुनत.  दुई जना आकांक्षी नै अध्यक्ष केपी ओली निकट छन् । नवौं महाधिवेशनमा ओली प्यानलवाटै किरण गुरुङ पार्टी उपाध्यक्षको उम्मेदवार बनेका थिए भने पृथ्वी सुव्वा सचिवको उम्मेदवार बनेका थिए । दुवै जना अहिलेसम्म पनि ओली निकट रहेर काम गरिरहेका छन् । किरण गुरुङ उपाध्यक्ष बामदेव गौतमसँग पनि नजिक छन् ।

एमालेमा दुई गुट छन् । दुई गुटबाट एक एक जना उम्मेदवार हुनु त स्वभाविक थियो तर यहाँ एउटै गुटवाट २ जना उम्मेदवार छन् । प्रदेशमा किरण बढि सन्तुलित र साझा नेताका रुपमा स्थापित छन् । किरण गुरुङलाई छान्दा इतिहास बोकेको योद्धा  मुख्यमन्त्री बन्नेमात्र होइन केपी ओलीले सबैलाई समेटेर लान्छन् भन्ने सन्देश पनि जानेछ । त्यसवाट अध्यक्ष ओलीले छक्याएको र चरम गुटबन्दीको शिकार भएको बताउने अष्टलक्ष्मी शाक्य वा माधव नेपाल पक्षले पनि जवाफ पाउनेछ । पार्टीभित्र सन्तुलन कायम गर्न र चिडिएको पक्षलाई साइजमा ल्याउन पनि संस्थापन पक्षले ओली पक्षकै नेता एवम् प्रदेश संयोजक किरण गुरुङलाई आधिकारिक उम्मेदवार बनाउने उच्च स्रोतले बताएको छ ।

को बन्दैछ मुख्यमन्त्री

गत सोमवार प्रदेश नम्वर ४ को प्रदेश सभा बैठकसँगै सभामुख, उपसभामुख चयनको बाटो मात्र खुलेको छैन, प्रादेशिक सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री चयनको गृहकार्य पनि सुरु भएको छ ।  प्रदेश ४ को ६० सदस्यमध्ये प्रमुख दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना छन् । प्रदेशको मुख्यमन्त्री बन्नका लागि ३१ सदस्यको समर्थन प्राप्त गर्नुपर्नेछ । प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीका रुपमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङ र पार्टी सचिव पृथ्वीसुव्वा गुरुङ रहेका छन् ।

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चुनिनुपर्नेछ । अघिल्लो साता एमाले स्थायी कमिटीले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो । प्रदेश नम्वर ४ का दुवै आकांक्षी अध्यक्ष केपी ओली निकट हुन् । शीर्ष नेताले नै अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेकोले चुनावबाटै नेता चयन हुने सम्भावना बढेको छ । दुवै संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो देखिएको छ । दाबेदार दुवै नेताले आफुले जित्ने दाबी गर्दै आएको भएपनि चुनाव हुने अवस्थामा प्रदेश संयोजक किरण गुरुङको संम्भावना बलियो देखिएको स्रोतले बताएको छ । केन्द्रीय स्तरमा प्रभाव राख्ने प्रदेश ४ मा रहेका अधिकांश नेता किरण गुरुङको पक्षमा छन् । पार्टीलाई एकतावद्ध बनाउन र बाम एकतालाई मुर्त रुप दिन पनि ४ नम्वर प्रदेशमा किरण गुरुङको बिकल्प खोज्न नहुने एमाले नेता-कार्यकर्ता बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here