पुर्वि नेपालमा औषधिमा यसरी गरिन्छ सिन्डिकेट

औषधि बिक्रीमा सिण्डिकेट लगाउने गरी लेटर अफ कन्सेन्ट(एलओसी) प्रणाली लागु गर्ने नेपाल औषधि ब्यवसायी संघ(एनसिडिए),कोशी शाखाको निर्णयको विराटनगरका पाँच औषधि व्यवसायी तथा बिक्री प्रतिनिधि संघले विरोध गरेका छन् । नेपाल औषधि थोक ब्यवसायी संघ, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, नेपाल औषधि संञ्चालक संघ, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन र खाद्य, आयूर्वेद, पौष्टिक आहार तथा सौन्दर्य सामाग्री विक्रेता संघ विराटनगरका प्रतिनिधिहरुको शुक्रबार विराटनगरमा भएको भेलाले एनसिडिएले एलओसी लागु गरि औषधिको विक्री वितरणमा सिण्डिकेट लगाई एकाधिकार कायम गर्न खोजेको भन्दै त्यसको विरोध गर्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।

उनिहरुले अहिलेको खुला अर्थतन्त्रलाई चुनौती दिने गरी एनसिडिएले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रणाली लगाएर एकाधिकार कायम गर्न खोजेको भन्दै विरोध भएपछि घुमाउरो पाराले एलओसी लगाएर औषधिको विक्री वितरणमा सिण्डिकेट लगाउन खोजेको उनिहरुको आरोप छ ।  एनसिडिएले तत्काल एलओसी प्रणाली खारेज नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत उनीहरुले दिएका छन् । औषधि विक्री वितरणलाई व्यवस्थीत पार्ने भन्दै एनसिडिएले गएको फागुन १० गते एलओसी प्रणाली लगाउने निर्णय गरेसंगै यी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

औषधिको विक्री वितरण गर्ने नयाँ कुनैपनि औषधि ब्यवसायी तथा डिष्ट्रिब्यूटर्सले एनसिडिएको अनुमती लिनुपर्ने र उसको सिफारिसमा औषधि कम्पनीहरुले उत्पादन गरेका औषधि विक्री वितरण गर्न पाउने एलओसी प्रणाली भएको उनीहरुको भनाइ छ । नेपाल औषधिगत विक्री प्रवन्धक संगठनका केन्द्रीय अध्यक्ष सुरजित दत्तले औषधि विक्री वितरण सहज र सरल हुनुको साथै विरामीले जुनसुकै औषधि पसलमा खरिद गर्न पाउने अधिकारबाट वञ्चित हुनेगरि र एकाधिकार कायम गरि औषधिमा पाउने छुट समेत नदिनेगरि एनसिडिए कोशी शाखाका अध्यक्ष कुमार खतिवडाले अन्य पदाधिकारीहरुलाई समेत प्रभावमा पारेर एलओसी प्रणाली लगाउने निर्णय गराएको आरोप लगाएका छन् ।

उनले भने ,‘ एलओसी एक प्रकारको सिण्डिकेट हो, यसले सिमित औषधि डिष्ट्रिब्यूटर्सहरु रातारात मालामाल हुने , नयाँ आउन खोज्ने औषधि ब्यवसायीलाई रोकेर आफुले हालीमुहाली गर्ने र उपभोक्तालाई ठग्ने प्रणाली हो , त्यसैले यो प्रणाली तत्काल खारेज गराउन सम्बन्धीत निकायको ध्यान जाओस् । ’ अध्यक्ष दत्तले सरल र सहज रुपमा औषधि नपाउँदा विरामीको ज्यान समेत जाने खतरा उत्तिकै हुने भएकोले एनसिडिएले यस्तो प्रणाली लगाएर विरामीको मृत्यु भएमा त्यसको जिम्वेवारी को हुने ? भनेर प्रश्न गर्दै यस्तो गैर जिम्वेवार र विरामीको जीवनसँग खेलवाड गर्ने कदमलाई तत्काल नेपाल औषधि ब्यवस्था विभाग र सामाजीक विकास मन्त्रालयले चासो दिएर खारेज गर्न लगाउनुपर्ने माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here