कांग्रेस बैठकमा कसले के भने ?

काठमाडौं, १० वैशाख ।

कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।

आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे ।

कांग्रेसले नाकाबन्दी देखेनः प्रदीप पौडेल
अहिलेको परिणाम नआएको भए नेतृत्व समीक्षाका लागि तयार हुने थिएन । तर, म यस्तो मान्यता मात्र राख्दिनँ । निर्वाचनको सेरोफेरोमा भएका घटनाको मात्र समीक्षा होइन कांग्रेस सत्तामा जान थालेदेखि समीक्षा जरुरी छ । १५ सालमा कांग्रेसले दुईतिहाइ मत ल्याउँदा कम्युनिस्ट ७ प्रतिशत थिए । तर, अहिले हामी ३३ प्रतिशतमा खुम्चिँदा कम्युनिस्टले ४८ प्रतिशत मत ल्याएका छन् ।

यस्तो हुने वातावरण हामी कांग्रेसहरूले बनायौँ । हामीले विचार, रूपान्तरण र अग्रगमनबारे बहस गरेनौँ । बिपी बितेको ३५ वर्ष भयो । तर, हामीले बदलिँदो यो समयमा पनि त्यतिखेरकै आर्थिक विषयसहितका विषयबाटै काम चलायौँ ।

अब यसरी मात्रै चन्दैन । नीति, सिद्धान्त, संगठनात्मक कार्यशैली, चरित्र र व्यवहारको समीक्षा हुनुपर्छ । निर्वाचनको सम्मुखमा भएका घटनाले अझ बढी निर्वाचनलाई असर गरेको छ । सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा हामी चुक्यौँ । बेलायत र अमेरिकामा भएका नेपालीको जुलुसले नाकाबन्दी भन्दै विरोध गरे । तर, काठमाडौंमा भएका कांग्रेसले नाकाबन्दी भनेर स्विकारेनौँ । बिपीले दुःख गरेर जोगाएको हाम्रो राष्ट्रियतामा दाग लागेको छ ।

प्रधानमन्त्रीको कामले मतदाता तर्सिए । लोकतान्त्रिक गठबन्धन शक्तिशाली नेताको थियो, कांग्रेसको थिएन । एमाले र माओवादीले एक–अर्कालाई भोट हाल्दैनन् भन्ने हिसाब निकाल्यौँ । तर, निर्वाचन जित्ने गरी टिकट दिएनौँ । सही मान्छेलाई टिकट नदिँदा ३० सिट घाटा लागेको छ । यसको जिम्मेवारी कसले लिने ?

आसेपासेको सानो घेराले घेरिने, आर्थिक लाभलाई महत्व दिने, पार्टीलाई निजी कम्पनी सम्झने प्रवृत्ति सभापतिलगायत सबैमा छ । गणेश भयो भने पुरस्कृत र कुमार भए दुःख पाइने प्रवृत्तिको अन्त्य नभएसम्म कांग्रेस उँभो लाग्दैन । विधानभन्दा माथि कोही हुँदैन । विधानले व्यवस्था नगरेका विषय कार्यान्वयन गर्ने अधिकार कसैलाई छैन ।

आलोचनाको नाममा पार्टीको बदनाम नगरौँ : ईश्वरी न्यौपाने
हिजो निर्वाचनअघि टिकट बाँड्ने समितिमा बस्न नेताहरूबीच प्रतिस्पर्धा भयो । आफू परेपछि सबैथोक जितियोजस्तो गरियो । हामीले मानेका नेताहरू रामचन्द्र दाइ (रामचन्द्र पौडेल), प्रकाशमान दाइ (प्रकाशमान सिंह) हरूले समितिमा बसेर निर्णय गर्नुभयो । टिकट बाँड्नुभयो अनि अहिले पार्टीको बदनाम र बेइज्जत हुने गरी सार्वजनिक रूपमा लिखित प्रस्ताव ल्याउनु राम्रो होइन । निर्णय प्रक्रियामा सहभागी भएपछि तपाईंहरू पनि उत्तिकै दोषी हुनुहुन्छ । सभापतिलाई मात्र लाञ्छना लगाउने र दोषी देख्ने प्रवृत्ति पटक्कै सुहाउँदिलो देखिएन ।

टिकट बाँड्ने समितिका सबै दोषी : देवेन्द्रराज कँडेल
हिजो गिरिजाप्रसाद कोइरालाको समयमा पनि शान्ति प्रक्रियापछि पहिलो संविधानसभामा माओवादीभन्दा पछाडि परेका थियौँ । द्वन्द्वबाट देशलाई निकाल्दै गर्दा पहिलो पार्टी भएका थिएनौँ । अहिले तीन तहको निर्वाचन गराए पनि हामी जित्न सकेनौँ । तर, हामी हारेपछि आरोप–प्रत्यारोपमा उत्रिएका छौँ । टिकटमा भागबन्डा गर्ने, आफूनिकटलाई टिकट चाहिने अनि आफू अनुकूलको नतिजा नआएपछि सभापतिलाई मात्र दोष थोपर्ने कुरा सान्दर्भिक छैन ।

पदाधिकारी चयनसहितका विषय निर्वाचनलगायतका विषयले ढिलाइ भएको छ । हिजो सुशील कोइरालाको पालामा पनि तीन वर्षपछि पदाधिकारी मनोनीत भएको हो । अहिले मिडियामा अनावश्यक प्रचार गरिँदै छ ।

अन्तर्घातीलाई कारबाही गर्रौं : बहादुरसिंह लामा
निर्वाचनमा हार्नेवित्तिकै सबैथोक सकिए जसरी आरोप–प्रत्यारोपमा उत्रिरहेका छौँ । यो शैली उचित छैन । हो, गल्ती भएका छन्, तर निर्वाचनमा टिकट बाँड्ने समितिमा बस्ने सबै दोषी छैनौँ ? हिजो समितिमा बसेर टिकट लानेले आज सभापतिलाई मात्र दोषी देख्न मिल्दैन । निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउने गरी अन्तर्घात भएका छन् । यसका लागि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here