७७ वटै जिल्लाबाट सुझाव सङ्कलन गर्दै काँग्रेस नेताहरु

काठमाडौंँ, २७ जेठ ।
नेपाली कांँग्रेसका ७७ वटै जिल्ला सभापतिहरू काँग्रेसलाई नयाँ ढाँचा र शैलीमा लैजाने विषयमा कार्यकर्ताबाट राय सुझाव सङ्कलन गर्न व्यस्त छन् । असारको ५ देखि ७ गतेसम्म हेटौंडामा हुने जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने उद्देश्यले सभापतिहरूले टोल, गाउँ, नगर, क्षेत्र र जिल्लामा कार्यकर्ता भेला गराएर राय सुझाव सङ्कलन गरिरहेका हुन् । पार्टीका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई नयाँ ढङ्गले लैजान सबै जिल्लामा राय सुझाव लिन निर्देशन जारी गरेको बताउनुभयो । उहाँले सङ्घीय संरचना अनुसार पार्टीको अबको सङ्गठन ढाँचा कस्तो हुने, नीति तथा कार्यक्रम र पार्टीले लिनुपर्ने भावी रणनीतिका बारेमा देशभर छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता विश्वप्रकाश शर्माले अबको पार्टीको विधान कस्तो बनाउने, क्रियाशील सदस्यताको वितरण प्रक्रिया कस्तो हुने, सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दामा काँग्रेसले खेल्नुपर्ने भूमिका जस्ता मुद्दामा हरेक जिल्लाको तल्लो तहसम्म गहन छलफल भइरहेको छ, भन्नुभयो । जिल्ला–जिल्लामा भएका कार्यकर्ता भेलामा काँंग्रेस कार्यकर्ताले अब केन्द्रको चाकडी गर्ने र गुटउपगुट चलाएर राजनीति गर्ने प्रथाको अन्त्य हुने गरी सङ्गठनको संरचना बनाउन जिल्ला सभापतिहरूलाई सुझाव दिएका छन् ।

संविधान जारी भएको लामो समयपछि पनि पार्टीलाई पुरानै ढर्रा र ढाँचामा सञ्चालन गरेको, स्थानीय तहमा नराम्रो हार व्यहोरेपछि पनि बिना योजना र तयारी सङ्घीय तथा प्रदेशको निर्वाचनको घोषणा गरेकाले निर्वाचनमा हार भोग्नुपरेको भनाइ पनि कार्यकर्ताबाट आएको छ । पाँचथरका काँग्रेस सभापति नरेन्द्रकुमार केरुङले टोल, वडा, गाउँपालिका, नगरपालिकामा भेला गरेर सुझावहरू सङ्कलन भइरहेको र अब जिल्लाको समग्रमा धारणा तय गरी असार ३ गते प्रदेश १ का १४ वटै जिल्लाका सभापतिहरूको भेलाले साझा सुझाव तय गर्ने बताउनुभयो ।

यसैगरी, प्रदेश २ को सप्तरीका सभापति दिनेश यादवले गाउँ, नगर, क्षेत्र र जिल्लास्तरमा भेलाहरू गरेर सुझाव सङ्कलन गर्ने कार्य जारी रहेको छ, भन्नुभयो । उहाँले अहिले पार्टीको नेतृत्व परिवर्तनको कुरा त आएको छैन तर निर्वाचनमा अनुशासनहीन कार्य गर्नेहरूलाई पार्टीले कडा कारबाही गर्नुपर्ने सुझाव आएको सुनाउनुभयो । प्रदेश ३, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीका अनुसार संविधान जारी भयो तर पार्टीलाई नयाँ सङ्घीय संरचनामा लाने कार्य भएको थिएन, त्यसै विषयमा जिल्लामा राय सुझाव सङ्कलन गर्ने कार्य जारी छ ।

निर्वाचनको हारको जिम्मेवारी केन्द्रीय समिति र पदाधिकारीहरूले लिन सक्नुभएन अब त्यसको जिम्मा जिल्ला सभापतिहरूले लिनेछौं भन्नुहुँदै उहाँले केन्द्रीय सदस्य हुनका लागि अब गाउँ तहबाटै निर्वाचित भएर आउनुपर्ने सुझाव आएको छ, भन्नुभयो । केन्द्रीय सदस्यहरू सधैं पदेन महासमिति सदस्य हुने परम्पराको अन्त्य हुनुपर्ने र नेताहरू जनता र कार्यकर्ताका माझ जानैपर्ने प्रावधान राखिनुपर्ने सुझाव कार्यकर्ताबाट आएको उहाँले सुनाउनुभयो ।

प्रदेश ४ मनाङका जिल्ला सभापति टेकबहादुर गुरुङले नेपालको संविधान जारी हुनासाथ जिल्लाहरूको भेला बोलाएर विधानलाई परिमार्जन गर्नुपर्दथ्यो र समग्र जिल्लाको अवस्था मूल्याङ्कन गरी निर्वाचनको रणनीति बनाउनुपर्ने थियो, भन्नुभयो । उहाँले यसै साता जिल्लामा बोलाएको कार्यकर्ता भेलामा पार्टीको विधान सङ्घीय संरचनाअनुसार बनाउनुपर्नेे, टिकटका लागि केन्द्रमा चाकडी गर्ने प्रथाको अन्त्य गर्नुपर्ने र गुटउपगुट बनाएर राजनीति गर्ने नेताहरूको शैली तुरुन्त परिवर्तन हुनुपर्ने सुझाव प्राप्त भएको जानकारी दिनुभयो ।

कतिपय जिल्लाका कार्यकर्ताले केन्द्रबाट सिधै टिकट वितरण गर्ने प्रणालीको अन्त्य हुनुपर्ने, केन्द्रमा चाकडी र पैसा दिएर टिकट किन्नुपर्ने प्रणाली रहेसम्म काँग्रेसले निर्वाचनमा राम्रो नतिजा ल्याउन नसक्ने सुझाव पनि दिएका गोरखापत्रमा खबर छ । पार्टीको जिल्ला सिफारिसलाई नै निर्णायक बनाउनुपर्ने, सहमति नभएमा निर्वाचन नै गरेर उम्मेदवार छनौटको अधिकार जिल्लालाई दिनुपर्ने सुझाव पनि आएका छन् । त्यसैगरी, स्थानीय तह तथा जिल्लालाई बढी जिम्मेवार बनाउने गरी विधान संशोधनको प्रस्ताव पनि कार्यकर्ताबाट आएको जानकारी सभापतिहरूले दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here