बाँदर आतंकले बसाइँ चिन्ता

खोटाङ, २ असार ।

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन्। बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ। हुलकाहुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नुपरेको स्थानीय पद्म हिङमाङले बताए।

गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न तथा थाँक्रोमा राखिएको मकैको झुत्तासमेत लैजाने गरेको छ। बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण किनेर ल्याएको अन्नमा निर्भर हुनुपर्ने बाध्यता भएको किसानको गुनासो छ। दिनभर बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठनपाठनमा समेत नकारात्मक असर पुगेको नागरिकमा खबर छ । बाँदर नियन्त्रणको भरपर्दो व्यवस्था हुनुपर्ने, अन्नबालीको क्षतिपूर्ति पाउनुपर्ने, बन्दुक पड्काएर धपाउन पाउनुपर्ने पीडित किसानको माग छ।

यस्तै दिपु्रङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा बाँदर आतंकले किसानलाई सास्ती भएको छ। दिपु्रङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित बारलाङमा ३ सय रोपनी, याम्खाकै विभिन्न स्थानमा ८ सय रोपनीमा लगाइएको अलैंची बाँदरले नष्ट गरेको स्थानीय मेघकुमार खत्रीले बताए।