सत्ताको छायामै सकियो अख्तियार प्रमुख घिमिरेको कार्यकाल

0
36

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १४ गते बाँकेका उपसचिवस्तरका एक इन्जिनियरलाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गर्‍यो । उनीविरुद्ध आरोप थियो– स्रोत नखुलेको रकम बोकेर हिँडेको । तीन दिनपछि अर्का कर्मचारी त्यसैगरी पक्राउ परे । अख्तियारले लाख रुपैयाँभन्दा बढी रकम बोकेर हिँडेका कर्मचारी भेट्नासाथ नियन्त्रणमा लिन र रकमको स्रोत खुलाउन केरकार गर्न थाल्यो । एक जना कर्मचारी त घर बनाउँदाको सरसापटी तिर्न रकम लिएर काठमाडौं आउँदै गर्दा पक्राउ परे । अख्तियारले उनलाई केही दिन हिरासतमा राखेर छाडिदियो ।

यातायात कार्यालयमा काम गर्ने उमेश, हरि, श्याम (परिवर्तिन नाम) लगायत आठ जनाको गल्ती भन्नु लाइसेन्स दिँदा राजस्वबापत सय रुपैयाँको रसिद काट्न भुल्नु थियो । छुटेको राजस्व तिराए हुनेमा अख्तियारले उनीहरूलाई मुद्दा चलायो । गत वर्षदेखि घुसखोरी भएका कार्यालयहरूमा निगरानी गर्ने घोषणा गरेको अख्तियारले लेनदेनको आशंकाका भरमा कर्मचारी उठाउँदै, थुन्दै मुद्दा चलाउँदै गरेको थियो ।

‘उहाँमा मुद्दा र प्रतिवादीको संख्या धेरै देखाएर अख्तियारका प्रमुखहरूबीच रेकर्ड ब्रेक गर्ने अनौठो महत्त्वाकांक्षा थियो,’ आइतबार उमेरहदका कारण अवकाश लिन लागेका अख्तियार प्रमुख नवीनकुमार घिमिरेबारे अख्तियारकै एक उपसचिवले टिप्पणी गरे, ‘ठूला र शक्तिशालीलाई केही गर्न नसक्ने तर सानालाई पेल्ने स्वभाव देखियो । यो शैलीले मुलुकको भ्रष्टाचार नियन्त्रणमा योगदान गरेको देखिएन ।’

करिब ३५ वर्ष सार्वजनिक प्रशासनमा बिताएका पूर्वगृहसचिव नवीन घिमिरे तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको प्रगाढ सम्बन्धका कारण पार्टीको कोटाबाट २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका थिए । लोकमानसिंह कार्कीको स्वेच्छाचारिता र मनोमानीपन उत्कर्षमा पुगेका बेला उनी करिब डेढ वर्ष ‘मौन’ बसिदिए । कार्कीको कालखण्डमा भएका गलत र फर्जी अभियोजनमा घिमिरेले एउटा पनि निर्णयमा फरक मत राखेनन् ।

२०७५ असोज ४ गते प्रमुख आयुक्त नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण अवकाश लिँदै छन् । तुलनात्मक रूप सफा छविका पूर्वप्रशासक मानिए पनि उनी अख्तियारमा पहिलेकै परम्परालाई कायम राखेर बिदा हुँदै छन् । स्पष्ट दृष्टिकोण, काममा प्रतिबद्ध हुनु र केही महत्त्वपूर्ण नजिरसमेत बसाल्न प्रयास गर्नु उनको सकारात्मक पाटो हो । शक्ति र सत्ताको दबाब थेग्न नसक्नु, ‘ठूला खेलाडी’ सँग निरीह बन्नु तर सानालाई अत्याचारकै शैलीमा प्रहार गर्नु नकारात्मक पाटो हो । अख्तियारका एक सहसचिवको भनाइमा उनको सुरुवाती आशालाग्दो थियो तर पछिल्ला दिनमा उनले लत्तो छाडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here