खोजिँदैन अब दसैंमा सारंगी धुन

0
44

दाङ/बाँके — दसैं आउन थाल्यो कि गन्धर्वका सारंगी धुनले गाउँघर खुब गुन्जिन्थे । दुर्गा जनाउने भन्दै नवरात्रिमा त गन्धर्वको भीड नै लाग्थ्यो । मानिसहरू पनि यसलाई सहज रूपमा लिन्थे । दसैंमा घरघर पुगेर मालश्री धुन निकाल्नु र दसैंका गीत गाउनु गन्धर्वहरूको पेसा र अधिकार नै ठानिन्थ्यो ।

त्यतिबेला गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही थिएनन् । मनोरञ्जन र सञ्चारका भरपर्दो आधार गन्धर्वहरू नै थिए । एक ठाउँको खबर अर्को ठाउँ पुर्‍याउन गन्धर्वलाई नै कुर्नुपर्थ्यो । गाउँदागाउँदै देशका विभिन्न भागमा पुग्ने भएकाले मानिसहरू आफन्तलाई खबर पठाउँदा गन्धर्वकै सहारा लिन्थे । गाउँमा सारंगी बज्न थाले दसैं आउन थालेको महसुस हुन्थ्यो ।

‘अहिले त घरघर जान सकिने अवस्था छैन । गन्धर्व किन माग्न आएको होला भन्ने ठान्छन् । कोरोनाले त झन् आफैंलाई पनि जान अप्ठेरो लाग्ने बनायो,’ घोराही–११ नयाँबस्तीका ६० वर्षीय काला गन्धर्वले भने, ‘हाम्रो सारंगीको महत्त्व हराउँदै गएको छ । हाम्रो पेसालाई सबैले छिछि र दुरदुर गर्न थाले ।’ पहिले छोराछोरीको विवाह गराउँदासमेत दुवैतिर कुरा पुर्‍याइदिएर लमीको काम पनि गन्धर्वहरूले नै गर्ने गरेको उनको अनुभव छ । सारंगी धुनमा गीत गाउँदै हिँड्ने गन्धर्व अब पुरानो पेसाबाट थकित भएका छन् ।

‘मानापाथी उठाउने चलन हट्दै गएको छ । पहिले हरेक सिजनमा बाली उठाउन जान्थ्यौं । दसैंमा त झन् हाम्रो अधिकार नै हुन्थ्यो,’ काला गन्धर्वले भने, ‘तर, अहिले यसको महत्त्व कसले बुझ्ने ? यो हाम्रो पुर्खादेखिको संस्कार थियो । अहिले हामीलाई पेसा बचाउनै गाह्रो भयो ।’ पहिले गीत गाउँदै फिरन्ते जीवन बिताउने गन्धर्व अहिले विभिन्न ठाउँमा स्थायी बसोबास गरिरहेका छन् । यस क्षेत्रका सबै गन्धर्वको पुर्ख्यौली थलो सल्यान हो । पहिले उनीहरू सल्यानबाट दाङ आएर गीत गाउँथे र मानापाथी उठाउँथे ।

औलोको डर भएकाले लामो समय दाङ बसिरहन सक्दैनथे । धान उठाउन मंसिर र पुस तथा तोरी उठाउन माघ र फागुनमा दाङ झर्थे । सल्यानको फालाबाङ, नयाँगाउँ, बयलडाँडा, कजेरी, संकोटलगायत क्षेत्रमा गन्धर्वको बसोबास थियो । ‘पहिले पहिले सल्यानका बडाहाकिमहरूले गन्धर्वहरूको क्षेत्र तोकिदिन्थे,’ उनले ती दिन सम्झे, ‘त्यही क्रममा कोही रोल्पा, रुकुम र प्यूठानतिर छरिएर बसेका थिए । एउटाका क्षेत्रमा अर्को जान पाउँदैनथ्यो ।’

दाङमा औलोको प्रभाव कम भएपछि ०२४ सालपछि गन्धर्वहरूको बसोबास हुन थाल्यो । त्यतिबेलासम्म उनीहरूको स्थायी बसोबास थिएन । ‘ठाउँठाउँमा खानेकुरा उठाउँदै हिँड्थ्यौं । बेलुकापख कतै बास बस्थ्यौं,’ उनले भने, ‘छोराछोरी, डोकाडाला, कुखुरा, बाख्रा सबै साथमै लिएर हिँड्थ्यौं । सबैले आआफ्नो क्षेत्र बनाएका हुन्थे । एउटा गाउँ एउटाको जिम्मा हुन्थ्यो ।’ आफ्ना क्षेत्रमा हरेक चाडपर्व र बाली भित्र्याउने समयमा गन्धर्वहरू घरघर पुग्थे । सकभर एउटाका क्षेत्रमा अर्को जाँदैनथे ।

अहिले पनि काला ५९ वर्षीया श्रीमती मुसीलाई साथमै लिएर बेलाबेला गाउँ पस्छन् । पहिले जस्तो सबैका घरमा जाँदैनन्, चिनेचिनेका घरमा मात्रै पुग्छन् । ‘पहिले त विष्टले पनि मेरो गन्धर्व भन्थे । हाम्रो पनि अधिकारजस्तै हुन्थ्यो । विवाह, पूजा सबैको भाग छुट्याएर दिन्थे तर अहिले त्यस्तो छैन,’ मुसीले भनिन्, ‘उहिले त गन्धर्व आएन भने विष्टहरू आफैं पनि खोजी गर्थे । गन्धर्व आयो भने केही नयाँ खबर सुनाउला, कतै खबर लगिदेला भन्थे । अहिले त किन आएको होला भन्छन् ।’ अहिले सबैका घरमा रेडियो, टीभी, फोन छन् । त्यसैले पनि मनोरञ्जनका लागि गन्धर्व नै पर्खनुपर्ने अवस्था हराउँदै गएको उनको अनुभव छ ।

नयाँबस्तीकै ४८ वर्षीय राजु गन्धर्वले बुबा तिलकको पछि लागेर सारंगी बजाउन सिके । सानामा बा हात समाएर हिँडाउँथे । ठूलो हुँदै गएपछि विष्टले दिएको खानेकुरा बोकेर हिँड्थे । ‘त्यतिबेला विष्टहरूले धेरै मान गर्थे । गन्धर्व घरमा आए हुन्थ्यो भन्थे तर अहिले त्यस्तो खोजी हुँदैन,’ उनले भने, ‘घरमा धेरै मानसम्मान गरेर मीठोमीठो खानेकुरा दिन्थे । कसैले त बाख्राका पाठा, भैंसीका पाडासमेत दिन्थे ।’

तुलसीपुर–४ रक्षाचौरका ५८ वर्षीय टेकबहादुर गन्धर्व सारंगी बजाउँदै रोल्पाको थबाङ, दैलेख, सुर्खेत, काठमाडौंका साथै भारतका विभिन्न सहरमा पुगेका छन् । अझै पनि सारंगी बजाउँदै विष्टका घरमा पुग्छन् । उनले जीवनमा तीन खालको समाज देखेका छन् । ‘सुरुमा साह्रै सम्मान थियो, बीचमा छुवाछूत बढी भयो र अहिले फेसर अलिअलि महत्त्व हुन थालेको छ,’ उनले भने, ‘अहिले गन्धर्वहरू घरघर डुल्न छोडे । गन्धर्वहरू कम भएपछि कहिलेकाहीँ डुल्नेहरूको केही महत्त्व बढेको छ ।’

पहिले कुनै गाउँमा गन्धर्व पुगेपछि मानिसहरू गीत सुन्न रातभर झुम्मिने गरेको उनको अनुभव छ । ‘लौ, यो गाउँमा आज त गन्धर्व आएका छन्, गीत सुन्न जानुपर्छ भनेर मानिसहरू रातभर हाम्रो वरिपरि भेला हुन्थे,’ उनले भने, ‘हामी विभिन्न घटनाका मार्मिक गीत गाउँथ्यौं, त्यो सुनेर कोही कोही रुन्थे ।’ हरेक ठूला घटनालाई गीत, संगीतमा ढाल्ने गन्धर्व मात्रै भएको उनको दाबी छ । तिनै गीतका माध्यमबाट गाउँगाउँमा खबर पुर्‍याउने गरेको उनले बताए ।

सारंगी मागिखाने भाँडाका रूपमा बदनाम भएको रक्षाचौरका ५२ वर्षीय रामबहादुर गन्धर्वको अनुभव छ । सारंगी बजाएर माग्न जानुपर्ने, अरूका घरमा झुक्न जानुपर्ने र अनेक अपमान सहनुपर्ने भएका कारण यसप्रतिको मोह घट्दै गएको उनले बताए । ‘कोही वचन लगाउँछन् । मागिखान किन हिँडेको भन्छन् । सारंगी बोकेर हिँड्यो भने माग्ने भनेर बुझ्छन्,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई चोट पुगेको छ । अपमान दिने सारंगी किन बोक्ने भन्ने भएको छ । सारंगीको सट्टा अरू नै काम गरौं भन्नेमा जोडबल भइरहेको छ ।’

अपमान हुने भएका कारण अहिले धेरैले घरघर हिँड्न छोडिसकेको उनको भनाइ छ । उनको गाउँबाट उनीसहित ३/४ जना मात्रै गाउँ डुल्छन् । ‘हामी त पहिलेदेखि चिनेजानेका विष्ट भनेर अझै जान छोडेका छैनौं । बूढापाकाको मृत्युसँगै सारंगी बोक्ने चलन पनि हराउँदै जान थाल्यो,’ उनले भने, ‘पहिले हामीले बुबाको पछि लागेर सिक्यौं तर अहिले हाम्रा छोराछोरी हाम्रो पछि लाग्न तयार छैनन् ।’

अहिले सारंगी बनाउने र बजाउने दुवै खालका मानिसको अभाव हुन थालेको छ । ‘अब सारंगी बनाउने मान्छे नै पाइँदैनन् । बनाउनेले पनि उचित मूल्य पाउँदैनन् । बजाउनेहरू पनि घट्दै गएका छन्,’ नयाँबस्तीका ४९ वर्षीय डाइबर गन्धर्वले भने, ‘एउटा सारंगी बनाउन तीन दिन लाग्छ । त्यसमा प्रयोग भएको सामान र मिहिनेतको मूल्य उठ्दैन ।’ उनी सारंगी बनाउँछन् तर मूल्य नपाउँदा निराश छन् । उनी स्थानीय सरकारलाई प्रत्येक वडामा सारंगी राखिदिनुपर्‍यो भनेर अनुरोध गर्न गए तर सोचेजस्तो सहयोग पाएनन् ।

नयाँबस्तीकै ५६ वर्षीय पदम गन्धर्व पनि सारंगी बनाउँछन् । भनेजस्तो बिक्री नभएपछि उनी पनि काममा त्यति हौसिन सकेका छैनन् । बिक्री नभएपछि उनी सारंगी बोकेर गाउँतिर गाउन हिँड्छन् । केही खानेकुरा उठाउँछन् अनि जीविका चलाउँछन् । ‘दसैंमा मालश्री धुन बजाउँदै घरघर पुग्छु । मानिसले राम्रो नमाने पनि सारंगीको धुन निकाल्न छोडेको छैन,’ उनले भने, ‘सकेसम्म सारंगीको इतिहास बचाउनु छ । यो कला गन्धर्वसँग जोडिएको छ ।’

राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा गन्धर्वको जनसंख्या ६ हजार ७ सय ९१ छ । यसमध्ये अधिकांश ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । ५ हजार २१ जना गाउँमा बस्दा १ हजार ७ सय ७० मात्रै सहरी इलाकामा छन् । यसैगरी ठूलो जनसंख्या पहाडी क्षेत्रमा छ । ४ हजार २ सय १७ जना पहाड, २ हजार ५ सय ५४ तराई र २० जना हिमालमा बसोबास गर्छन् । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रमा गन्धर्वको बसोबास बढी छ । पश्चिमाञ्चलमा २ हजार ८ सय ३ र मध्यपश्चिममा २ हजार ७ सय ४६ जनाको बसोबास छ । पूर्वाञ्चलमा २ सय ५३, मध्यमाञ्चलमा ९ सय ४० र सुदूरपश्चिममा ४९ जना मात्रै गन्धर्व छन् ।

कोरोनाका गीत कोर्दै गन्धर्व

‘कोरोनाले नपारोस् रुन

नबिर्सनू साबुनले हात धुन

माछामासु पखाली खानू

मास्क नलाई बाहिर नजानू…।’

बाँकेको कोहलपुर–११ का ५७ वर्षीय वीरबहादुर गन्धर्वले यस्तै गीत गाउन थालेका छन् । समयअनुकूलका गीत लेखिएन भने जगत्को प्यारो भइँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ । त्यसैले उनले कोरोनाका समसामयिक गीत कोरेका हुन् । सरकारले गत वर्ष मिलाइदिएको एकीकृत बस्तीमा बस्न थालेपछि घामपानीबाट ढुक्क थिए । सारंगी बजाएर छाक टारेका थिए । घरघरै डुल्ने, सारंगी बजाउने उनको पुर्ख्यौली पेसा अहिले संकटमा छ । ‘यस वर्ष सारंगी नबजाई बित्ने भो,’ उनले भने, ‘मान्छेदेखि मान्छे डराउने बेला आयो, कसले सुन्छ र सारंगीका धुन ?’

लोकनगरमा मात्रै गन्धर्वका १० घर छन् । यहाँका अधिकांश पाको पुस्ताको आयआर्जन सारंगीबाटै हुन्छ । युवापुस्ता अटोरिक्सा चलाएर पेसा फेर्न थालेका छन् । दमका बिरामी वीरबहादुरको स्वर हराउँदै छ तर हौसला कम छैन । सारंगी रेट्ने दम छ । कोहलपुर बजार डुल्दा पनि दिनमा ३ हजार रुपैयाँ कमाउने उनी अहिले बेकामे भएका छन् । छोराछोरी आआफ्नै घरव्यवहार चलाउन व्यस्त छन् । पत्नीको र आफ्नो स्वास्थ्योपचारको जिम्मेवारी उनकै बूढो काँधमा छ । त्यही सारंगीका सहारामा बुढेसकाल बिताउनु छ उनलाई । गएका वर्षमा उनले थुप्रै सचेतनामूलक कार्यक्रममा सहभागी भई पैसा कमाएका थिए । वन, वातावरण, संघसंस्थाका सन्देशमूलक गीत गाउने अवसर हुन्थ्यो । ‘अहिले सबै काम ठप्प छ,’ उनले भने, ‘सारंगी बनाएको छु, बिक्री हुँदैन ।’

बस्तीका प्रेमबहादुर गन्धर्व गाडी चल्न थालेपछि सारंगी बोकेर बजार डुल्न थालेका छन् । दिनभरि डुल्दाडुल्दै बेलुका थकानबाहेक उनका हातमा केही पर्दैन । उसै त गाइने भनेर टाढैबाट तर्किने समाजमा कोरोना महामारीले झनै विभेद महसुस गराएको उनले बताए । ‘कोरोना सर्छ, नआऊ भन्दै तर्किन्छन् मान्छे,’ उनले भने । कोरोना प्रभावले ओझेल पर्न थालेको सारंगी बचाउन उनी विकल्प खोज्दै छन् । १३ वर्षको उमेरदेखि गीत गाउँदै सारंगी बजाउँदै हुर्किएका उनले समय सान्दर्भिक धेरै गीत गाए । ५० वर्षका उनी १५ वर्ष पहिले बाढीपहिराका गीत खुब गाउँथे । खास गरी बर्खायाममा पहिरो जाँदा हुने घटनाका समाचार उनी भाका मिलाएर सुनाउँथे । अचेल ती समाचार गीत बन्दैनन् । पत्रपत्रिका, रेडियो र टेलिभिजनले समाचार भनिसकेका हुन्छन् । युवापुस्ताको फर्माइस (माग) अनुसारका गीत उध्रेको चोली…जस्ता आइटम गीतमा समेत सारंगी बजाउनुपरेको प्रेमको अनुभव छ । ‘पुराना भाका हराउन थाले, जस्तो माग उस्तै गाउन सिकेको छु,’ उनले भने, ‘अहिले महामारीकै विषयमा गाउँछु ।’

महामारी नहुँदो हो त दलबहादुर गन्धर्वले सारंगी बोकेर सुदूरपश्चिमदेखि पूर्वसम्म पुग्ने योजना बनाएका थिए । विभिन्न कार्यक्रम र समारोहमा सारंगीको माग हुन्थ्यो । आम्दानी राम्रै हुने आशा थियो । महामारीले आएको सबै काम खेर गएपछि आयआर्जनका अरू विकल्प सोच्न बाध्य हुनुपरेको उनले बताए । ‘युट्युबमा सारंगीको धुन अपलोड गर्न सिक्दै छु,’ उनले भने, ‘अब घरघरै डुल्ने संस्कृति हराउँदै छ ।’ कोहलपुरमा ३० वर्ष अघिदेखि सल्यान, सुर्खेत, स्याङ्जाबाट बसाइँसराइ गरी आएका गन्धर्व समुदायको बाहुल्य छ । लगभग ३५ घर रहेको यो समुदायका पाका पुस्ता मात्रै सारंगी संरक्षण गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here