पुष्पलाल स्मृति ब्याडमिन्टन : प्रिन्स र जेशिका च्याम्पियन

0
13

काठमाडौँ — सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङले सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याकिङ प्रतियोगिताको उपाधि उचालेका छन् ।

सेमिफाइनलमा शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले फाइनलमा एपीएफकै दीपेश धामीलाई २१–१८, २१–१३ को सोझो सेटमा पराजित गर्दै पुष्पलाल स्मृति ब्याडमिन्टनमा नयाँ इतिहास कोरेका छन् ।

सिरहाको गोलबजार कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिकाले उपाधि उचालिन् । १८–२१, २१–१५, २२–२० को स्कोरमा उपाधि जितेकी जेशिकाको यो पुष्पलाल ब्याडमिन्टनमा दोस्रो उपाधि हो । यसअघि इटहरीमा भएको सातौं संस्करणमा उनले उपाधि जितेकी हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरीयताबाहेक एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले आर्मीका दिवस शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधि जिते । शीर्ष १२ वरीयताबाहेक महिला एकलमा कैलालीकी प्रार्थना देउवाले बाजी मारिन् । उनले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले हराइन् ।

पुरुष डबल्सतर्फ आर्मी क्लबका रत्जजित तामाङ र नवीन श्रेष्ठको जोडीले उपाधि जित्यो । उनीहरूले आफ्नै टिमका सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथि २१–१९, १९–२१, २१–१३ को जित निकाल्यो । महिला डबल्सतर्फ सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपीएफका जेशिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गर्‍यो ।

ब्वाइज एकलतर्फ आर्मीका भोजबहादुर गुरुङ विजेता बने । भोजबहादुरले सेनाकै आयुष्मान नागरीलाई २१–१५, १९–२१, २१–१० ले पराजित गरे । गर्ल्समा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१–१०, २१–१० ले हराएर उपाधि रक्षा गरिन् ।

भेट्रान्स डबल्सतर्फ चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिलकुमार लाखे विजयी भए । उनीहरूले कास्कीका शोभाकर भण्डारी र नवीन पराजुलीको जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । लाखेले १२ वर्षपछि कोर्टमा उत्रँदै उपाधि उचालेका हुन् । र्‍याकिङबाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, ४५ वर्षमाथिको भेट्रान्स युगलका विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनल पुग्नेले ५–५ हजार पुरस्कार प्राप्त गरे । छात्र/छात्रा यू–१७ का विजेताले १५ हजार, उपविजेताले ८ हजार र सेमिफाइनल पराजित खेलाडीले ४–४ हजार प्राप्त गरे ।