बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

0
13

काठमाडौं, माघ ५ गते । लामो समयसम्म बार्सिलोनाका लागि खेल्दै आएका लियोनल मेस्सीले पहिलोपटक रेड कार्ड पाउनुभएको छ । आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा मेस्सी आबद्ध बार्सिलोनाले एथलेटिको बिल्बाओसँग ३–२ ले पराजित हुन पुग्यो । अतिरिक्त समयको अन्तिम सेकेण्डमा लियोनल मेस्सीले ऐजर भिलालिब्रेलाई लडाउन पुग्नुभयो । भिडियो ‘रिभ्यु’मा मेस्सीले लडाएको पुष्टि भएपछि बार्सिलोनाका लागि ७५३ औं खेलमा पहिलोपटक उहाँ मैदानबाट रेडकार्ड खाएर बाहिरिनुपर्यो ।
१२० औं मिनेटमा भिलालिब्रेलाई लडाउँदा रेफ्रीले उक्त क्षणलाई नजरअन्दाज गरे । तर भिडियो ‘रिभ्यु’ले ३३ वर्षीय मेस्सीको गलती पुष्टि भएपछि रेफ्रीले रातो कार्ड देखाउन पुगे ।
यसअघि मेस्सी दुई पटक रातो कार्ड पाएका छन् । दुबै पटक आर्जेन्टिनाका लागि खेल्दै गर्दा उहाँले रातो कार्ड पाउनुभयो । सन् २००५ मा आर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दा हंगेरी विरुद्धको खेलमा मेस्सीले पहिलोपटक रातो कार्ड पाउनुभएको थियो । पहिलो रातो कार्ड पाएको करिब १४ वर्षपछि उहाँले सन् २०१९ मा कोपा अमेरिका प्रतियोगितामा चिली विरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड पाउनुभएको थियो ।
एन्टोनियो ग्रिजमनको गोलको सहयोगले बार्सिलोनाले दुई पटक अग्रता लियो तर ओस्कर डी मार्कस र भिलालिब्रेले प्रत्येक अग्रताको जवाब फर्काउँदा बार्सिलोनाको स्पेनिस कप जित्ने योजना विफल हुन पुग्यो । एथलेटिको बिल्बाओका लागि इनाकी विलियम्सले निर्णायक गोल गर्नुभयो । सन् १९८५ पछि एथलेटिकोले ट्रफी हात पारेको यो पहिलो अबसर हो ।