काठमाडौं : बाललेखक समीर कोजू र बालकलाकार आश्रिती श्रेष्ठको बालचित्र कथा ‘करण र कार्टुन’ सार्वजनिक भएको छ। नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले उक्त पुस्तकको विमोचन गरे।
कार्यक्रममा जोशीले कला र संस्कृतिको प्रवद्र्धन गरे मात्रै देश समृद्ध हुने बताए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विशेष लागेको बताउँदै चित्रकार, लेखक र समीक्षक पनि बालप्रतिभा भएकैले विशेष रहेको बताए। बाल समीक्षक सोइना दाहालले किताबका बारेमा चर्चा गर्दै बालबालिकामा मौलाउँदै गएको मोबाइल संस्कृतिले विकृतिको रूप लिएको सुनाइन्। यस्तै, पुस्तकका लेखक समीर कोजूले आफूले सोच्दै नसोचेको उपहार पुस्तक प्रकाशनपछि पाएको बताए। बालकलाकार आश्रितीले सबैलाई धन्यवाद दिँदै हौसलाले काम गर्न आफूलाई प्रेरणा मिलेको बताइन्।
कार्यक्रममा कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको बताउँदै आश्रितीका चित्रका बारेमा चर्चा गरे। कार्यक्रममा बालकलाकार आश्रितीको एक दिवसीय चित्रकला प्रदर्शनीसमेत गरिएको छ।
कमेन्ट गर्नुहोस्