काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नेपालले सधैं सम्झिइरहने बताएका छन् । प्रधानमन्त्री देउवाले महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक ठूलो प्रशंसक गुमाएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा बेलायती शाही परिवारप्रति समवेदना प्रकट गर्दै भनेका छन्, 'महारानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाले नै आफैलाई प्रतिष्ठित बनाउनु भएको थियो । अन्य संस्कृति तथा मानवताप्रति अनुग्रह, सादगी र सम्मान व्यक्त गर्ने गुणले नै महारानीलाई नेपाली नागरिकले श्रद्धापूर्वक सम्झिइरहनेछन् ।'
त्यस्तै प्रधानमन्त्री देउवाले सन् १९६१ र १९८६ मा भएको महारानीको राजकीय भ्रमणलाई पनि नेपालले सम्झिइरहने बताएका छन् । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुई १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।
महारानी एलिजाबेथले जीवनमा थुप्रै उतारचढाव सामना गरेकी थिइन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।
कमेन्ट गर्नुहोस्