काठमाडौं : ‘टुगेर राइजिङ स्ट्रङ्कर’ भन्ने नाराका साथ एसियन युथ पारा गेम्स आगामी डिसेम्बर २ तारिखदेखि बहराइनमा सुरु हुँदैछ। डिसेम्बर ६ तारिखसम्म आयोजना हुने एसियन युथ पारा गेम्समा नौ खेलका आठ सय जनाले प्रतिस्पर्धा गर्ने छन्।
एसियाका ३२ राष्ट्रको सहभागिता रहने एसियन युथ पारा गेम्समा नेपालले पनि सहभागिता जनाउने भएको छ। फरक क्षमता भएका खेलाडीहरूको बृहत प्रतियोगितामा नेपालबाट तेक्वान्दो र ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल पारा ओलम्पिक कमिटीकी अध्यक्ष राधा घलेले जानकारी दिइन्। ‘अहिलेसम्म तेक्वान्दो र ब्याडमिन्टनको सहभागिता निश्चित भएको छ’, घलेले भनिन्।
अन्तर्राष्ट्रिय पारालिम्पिक र बहराइन सरकारको संयुक्त आयोजनामा हुने एसियन युथ पारा गेम्सका लागि तेक्वान्दो खेलाडीले भने तयारी थालिसकेका छन्। प्रतियोगितामा तेक्वान्दोका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। के–४४ विधाको ५७ केजीमुनिको तौल समूहमा पारा ओलम्पियन पलेसा गोवद्र्धन, ५८ केजीमुनि विशाल गर्बुजा र ५२ केजीमुनिको तौल समूहमा सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने पारा तेक्वान्दोका मुख्य प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।
एसियन युथ पारा गेम्सका लागि पारा तेक्वान्दोको बन्द प्रशिक्षण शुक्रबारबाट सुरु भएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा कविराज नेगी लामाले खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन्। ‘हामीले यसअघि पनि प्रशिक्षण गर्दै आएका थियौं। बन्द प्रशिक्षण भने शुक्रबारबाट सुरु भएको छ’, प्रशिक्षक लामाले भने, ‘अहिले दैनिक तीन पटक प्रशिक्षण सञ्चालन भइरहेको छ। खेलाडीहरूले पनि निकै मेहनत गरिरहेका छन्।’ पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेसासँगै अरु खेलाडीबाट पनि पदकको आशा गरेको प्रशिक्षक लामाले बताए। ‘टोकियो पारालिम्पिकमा पलेसाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्यही प्रदर्शनलाई एसियन युथ पारा गेम्समा निरन्तरता दिने विश्वास गरेका छौं। उनीसँगै अरु खेलाडीबाट पनि पदकको आशा राखेका छौं।’
एक साताको तयारीपछि नेपाली पारा तेक्वान्दो टोली मंसिर ११ गते बहराइन जाँदैछ। नेपाली पारा तेक्वान्दो टोलीको व्यवस्थापकमा नन्दा बस्याल रहेकी छन्। यसैगरी ब्याडमिन्टनबाट प्रकाश अधिकारीले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।
कमेन्ट गर्नुहोस्