चितवन, मङ्सिर १८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासले देशभरका जनतालाई आकर्षित गरेको बताउनु भएको छ । शनिबार बिहान सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गर्दै उहाले यहाँको विकास हेर्न अहिले धेरै स्थानबाट आउने गरेको दाबी गर्नु भएको हो ।
उहाँले एमालको महाधिवेशनमा आएका नेता तथा कार्यकर्ताले समेत यहाँको विकास हेरेर गएको उल्लेख गर्नुभयो । ‘प्रचण्डको निर्वाचन क्षेत्रमा विकास भएको कुरा एमालेजनले थाहा पाएका छन्’, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले एमालले चितवनमा महाधिवेशन गर्नुलाई सकरात्मक रुपमा लिएको बताउनुभयो । । ‘एमालेको कार्यक्रमलाई सकरात्मक रुपमा लिन्छु, यस्तै कार्यक्रमहरु चितवनमै गर्न अन्य राजनीतिक दलहरुलाई समेत आह्वान गर्छु ।’
अध्यक्ष दाहालले एमालले महाधिवेशन गरेर देशको राजनीतिको केन्द्र चितवन बनेको प्रमाणित भएको बताउनुभयो । ‘एमाले कार्यकर्ताले चितवनको विकास मात्र देखेर फर्किएका छैनन्, चितवन जिल्लामा राजनीतिक महत्व के हो भन्ने कुरा स्थापित गरेको छ’, अध्यक्ष दाहालले भन्नुभयो ।
देशभरका जनताले चितवन, यहाँको विकास, नारायणी नदी, यहाँको धार्मिक पर्यटकीयस्थल बुझेर जानु भनेको चितवनबासीका लागि खुशी र गर्वको कुरा रहेको प्रचण्डको भनाइ छ । उहाँलेले सी बीच मोडलको विकासले राजनीतिज्ञ र पर्यटकलाई आकर्षित गर्ने कुरामा महत्वपूर्ण योगदान दिनेसमेत बताउनुभयो । उहाँले सिंगापुरको सन्तोषा आइसल्याण्ड जस्तै नारायणी नदी किनार र नगरवनलाई बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
नारायणी नदी किनार पछिल्लो समय आम मानिसको सुस्ताउने थलोको रुपमा विकास भएको छ । राजनीतिक केन्द्रदेखि मनोरन्जनात्मक कार्यक्रम यही हुने गरेकाले यहाँको विकासमा सरकारको ध्यान गएको छ । अध्यक्ष दाहालले शक्तिखोरमा सुरुङ मार्ग बनाउनेदेखि रेल लाइन ल्याउने, मकवानपुर र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउने सम्मका सपना रहेको भन्दै चितवन छिट्टै नमुना जिल्ला बन्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तानाराथ अधिकारीले सी बीच मोडलमा पर्यटन विभागले बहुवर्षिय योजना अन्तरगत बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले यस कार्य समयमै सम्पन्न हुनुपर्ने भन्दै भरतपुर महानगरले अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यस मोडल अन्तरगत २.५ किलोमिटर पैदल मार्ग र ३ वटा पार्किङस्थल निर्माण गरिने छ । यसै मोडलमा रहेर भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनको संयुक्त लगानीमा १.४ किलोमिटर पैदलमार्ग निर्माण भइसकेको छ ।
कमेन्ट गर्नुहोस्