काठमाडौं, भदौ २१ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीमाथि भएको ज्यादतीविरुद्ध बोल्न नसक्नु सरकारको कमजोरी भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेलालाई सोमबार यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । पाँच दलको गठबन्धन दल भएर पनि देश र जनताको रक्षा गर्ने काममा निरिह बनेको उहाँले टिप्पणी गर्नुभयो ।
देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ उहाँले भन्नुभयो । बोल्ने अधिकार संविधानले नै दिएको भए पनि जनताको बोल्ने अधिकार सरकारले खोस्ने प्रयास गरेको उहाँले टिप्पणी गर्नुभयो । अभिव्यक्तिको स्वतन्त्रता संविधानले प्रदान गरेको अधिकार भएको उहाँले बताउनुभयो ।
एमालेले मुलुकमा विकासकाे लहर ल्याएको भएपनि ‘केही पनि नभन्नु है’ भनेर सत्ता गठबन्धनले आफ्नो कार्यकर्तालाई प्रशिक्षित गरेको उहाँले चर्चा गर्नुभयो । ‘तुइनबाट नेपाली नागरिकलाई खसाइन्छन् तर सरकारले बोल्न सक्दैन’ उहाँले भन्नुभयो । नागरिकको सुरक्षा गर्न नसक्ने सरकारको काम नरहेको उहाँले टिप्पणी गर्नुभयो । छानविन समितिले भारतीय एसएसवीले तुइनबाट झारिएको प्रतिवेदन बुझाउँदा पनि सरकार निरिह बन्न नहुने उहाँले बताउनुभयो ।
“भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो, म आफूलाई अझ युवा नै ठान्छुँ, युवा संघको संस्थापक अध्यक्ष पनि हुँ” अध्यक्ष ओलीले भन्नुभयो । एमालेमा प्रवेश गरेका युवालाई पश्चाताप गर्नु नपर्ने भन्दै उहाँले देश र जनताको पक्षमा काम गर्ने अठोट बोकेका सबे युवा एमालेमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको समस्यामाथि छलफल हुने संसद अहिले निस्क्रिय रहेको बताउनुभयो । अदालतले पुनर्स्थापना गरेपनि संसद सक्रिय हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । ५० दिन नाघिसक्दा समेत मन्त्रीपरषद विस्तार हुन नसकेका बेला सरकारले संसदलाई विजनेश दिन नसकेको उहाँले बताउनुभयो ।
“सरकारसँग आवश्यक मन्त्री नै छैनन्, कोभिडले देश आक्रान्त छ तर सरकार विस्तारको नामसिना छैन, नेता नेम्वाङले टिप्पणी गर्नुभयो । जनादेशबाट आएको सरकारलाई ढालेर परमादेशबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने उहाँले चर्चा गर्नुभयो । निर्वाचन आयोग र सभामुख अग्नी सापकोटाले एमाले फुटाउने गरी गरिएको कार्य असंवैधानिक भएको पनि उहाँले टिप्पणी गर्नुभयो ।
युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतले युवाको भविष्य सुनिश्चित गर्ने पार्टी एमाले मात्र भएकाले युवा संघमा हातेमालो गर्न युवाहरुलाई आव्हान गर्नुभयो । आगामी निर्वाचनमा युवाकै साथ र सहयोगले एमाले पुनः पहिलो पार्टी बन्ने उहाँले दावी गर्नुभयो । एमसीसीको विषयमा बोल्न नपाइने उर्दी गर्नु सरकारको ठूलो कमजोरी भएको पनि उहाँले चर्चा गर्नुभयो ।
युवा नेता किरण पौडेलले निर्धक्कसाढ युवा संघको अभियानमा संलग्न हुन युवालाई आग्रह गर्नुभयो । युवाको समस्या समाधान र युवाको सिर्जनशीलताका लागि युवा संघ नै सहकर्मी संस्था भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य नेम्वाङ, युवा नेता बस्नेतले युवाहरुलाई युवा संघको टोपी, टीका लगाएर एमालेमा प्रवेश गराउनुभयो । सो अवसरमा संयौं युवाहरु एमालेमा प्रवेश गरेका थिए । प्रवेश गर्नेमा राष्ट्रिय रेस्लिङ खेलाडी विष्णु सिंह लगायतका हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्