काठमाडौँ । मङ्सिर ३ गते । घरेलु लिग फुटबललाई हरेक देशको फुटबल विकासको आधार स्तम्भ मानिन्छ । विश्व फुटबलमा वर्चस्व जमाएका यूरोप र अमेरिकी देशको फुटबल विकासको मेरुदण्ड भनेकै त्यहाँको घरेलु लिग बलियो हुनु हो ।
मैदानमा हुने हार जितको रौनकता मात्र होइन, आर्थिक लगानी र बजेटको हिसावले पनि लिग फुटबलको मापन हुन्छ । जहाँ ठूलो लगानी छ, त्यहाँको लिग फुटबल व्यवसायिक हिसाबले पनि बलियो छ । चर्चित खेलाडीलाई महंगो पारिश्रमिकमा अनुबन्ध गर्ने होडबाजी आर्थिक हिसावले बलिया क्लबमै चल्ने गरेको छ ।
नेपालमा आयोजना हुँदै आएको शहिद स्मारक ‘ए’ डिभिजन लिगले पनि विस्तारै व्यवसायिक रुप धारण गर्न थालेको छ । दशरथ रंगशालामा शुक्रबारदेखि सुरु हुने लिग आर्थिक लगानीका दृष्टिले विगतको भन्दा ठूलो आकारको छ । लिग सञ्चालनका लागि एन्फा र क्लबहरुको बजेट हिसाव गर्दा ३५ देखि ४० करोड रुपैयाँ लगानी हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो । तुलाधरका अनुसार एन्फाले मात्र ‘ए’ डिभिजन लिगलाई सात करोड रुपैयाँ लगानी गरेको छ ।
यसबाहेक लिगका लागि हरेक क्लबले कम्तिमा दुई करोड रुपैयाँ लगानी गरेको अवस्था छ । ‘बजेटको हिसावले लिगको आकार ठूलो भएको छ । क्लबहरुले लिगको तयारी र खेलाडीको तलब–भत्ताका लागि ठूलो धनराशी खर्च गरेका छन्,’ तुलाधरले भन्नुभयो । लिगमा क्लबले खेलाडीको पारिश्रमिक र तयारीका लागि दुई करोडमाथि खर्च गरेको लिग निर्देशक सन्जीव मिश्रले बताउनुभयो । मिश्रका अनुसार लिगमा प्रत्येक क्लबले १५ देखि ५० जना खेलाडी अनुबन्ध गरेका छन् । प्रत्येक क्लबले खेलाडीलाई उसको स्तर हेरेर मासिक २० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलब दिएको जानकारी पनि मिश्रले दिनुभयो ।
क्लबले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ६० हजारदेखि एक लाख रुपैयाँसम्म तलब दिएका छन् । विदेशी खेलाडीलाई डेढलाखसम्म पारिश्रमिक दिइएको छ । लिगमा प्रत्येक क्लबले चारजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था छ । जसमा एक जना अनिवार्य दक्षिण एसियाली देश (साग) को हुनुपर्ने प्रावधान राखिएको छ । खेलाडीको अनुबन्ध चैतसम्म रहनेछ ।
एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसको अलावा क्लबलाई विभिन्न कर्पोरेट हाउस र व्यवसायिक घरानाले पनि आर्थिक प्रायोजन गरेका छन् । नेपालको लिग सञ्चालनका लागि विश्व फुटबल महासंघ (फिफा) ले एन्फालाई सात करोड रुपैयाँ प्रदान गर्दै आएको छ । नेपालको ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालनका लागि फिफाको ‘फिफा परवार्ड डेभलपमेन्ट कार्यक्रम’ बाट एन्फालाई सहयोग हुने गरेको जानकारी पनि एन्फाका महासचिव तुलाधरले दिनुभयो ।
तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगका लागि एन्फालाई कतार एयरवेजले एक करोड ८० लाख रुपैयाँ मुख्य प्रायोजन, नेपाल सरकारबाट ६० लाख, बागमती प्रदेश सरकारबाट ५० लाख, एभरेष्ट बैंकबाट १० लाख रुपैयाँ सह–प्रायोजन सहयोग भएको छ । यससँगै एन्फाले दर्शक टिकटका लागि एक करोड र टेलिभिजन ‘राइट’ बाट ३५ लाख रुपैयाँको सम्झौता पनि गरिसकेको छ ।
विजेतालाई ७५ लाख
१४ क्लबको सहभागिता रहने ‘ए’ डिभिजनको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ५० लाख र तेस्रो हुने टोलीलई २५ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । यसैगरी लिगमा प्रत्येक खेलको विजेतालाई ५० हजार र खेल बराबरी भएको अवस्थामा दुवै टोलीलाई २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ ।
लिगको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई तीन लाख, उत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोब’ सहित दुई लाख, सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ सहित दुई लाख रुपैयाँ र ‘राईजिङ प्लेयर’ लाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि एन्फाले जनाएको छ । लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबसहित साविक विजेता मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङ्दी, थ्री स्टार, एनआरटी, फ्रेन्ड्स, च्यासल युथ, जावलाखेल युथ, बिग्रेड ब्वाइज र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । गतवर्ष ‘बी’ डिभिजनबाट बढुवा भएको सातदोबाटो पहिलो पटक ‘ए’ डिभिजन खेल्दैछ । लिगको अन्तिममा रहने दुई टोली ‘बी’ डिभिजनका घटुवा (रेलिगेसन) हुनेछ ।
काठमाडौँ र पोखरामा खेल
एन्फाले शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल काठमाडौँ उपत्यका र पोखरा गरी चारवटा मैदानमा खेलाउने तयारी गरेको छ । लिग निर्देशक मिश्रका अनुसार लिगमा पहिलो र दोस्रो चरणका खेल दशरथ रंगशालामा हुनेछ । त्यसपछि दशरथ रंगशालासँगै ललितपुरको एन्फा कम्प्लेक्स मैदान सातदोबाटो, च्यासल मैदान र पोखरा रंगशालामा समेत केही खेल खेलाइनेछ ।
दर्शकलाई चिया, कफी र बर्गरको सुविधा
घरेलु लिग फुटबलमा दर्शकलाई आकर्षित गर्न शुक्रबार र शनिबारका खेल साँझ ५ः०० बजे दशरथ रंगशालाको ‘फ्लड लाइट’ मा खेलाइन लागिएको हो । एन्फाले लिग हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ एक सय र विशिष्ट (भीआईपी) प्यारापिटतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।
एन्फाले पहिलो पटक लिग हेर्न आउने दर्शकलाई मध्यनजर गर्दै शुल्क सहित ‘रिफ्रेसमेन्ट’ सुविधा पनि उपलब्ध गराउने छ । लिग हेर्ने दर्शकले प्यारापिटमा चिया, कफी र बर्गरलगायतका सुविधा पाउनेछन् ।
कमेन्ट गर्नुहोस्