न्युयोर्क : साविक विजेता नाआमी ओसाका अमेरिकन (यूएस) ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन्। शनिबार बिहान भएको खेलमा क्यानडाकी लेहलाह फर्नान्डेजसँग पराजित हुँदै ओसाका यूएस ओपनबाट बाहिरिएकी हुन्।
यूएस ओपनबाट अप्रत्यासित रुपमा बाहिरिएपछि ओसाकाले टेनिसबाट टाढा हुने संकेत गरेकी छन्। ‘मैले पुनः एक पटक टेनिसबाट केही समय विश्राम लिने निर्णय लिएको छु’, ओसाकाले खेलपछि भनिन्, ‘मलाई थाहा छैन, म फेरि कुन प्रतियोगितामार्फत टेनिसमा फर्कन्छु। म मनैबाट खुसी छैन। मलाई पुनः पहिलाजस्तै समस्यासँग जुध्नुपर्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ। म सामान्य अवस्थामा छैन।’
तेस्रो वरीयताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिका सेट भने गुमाएकी थिइन्। १८ वर्षीया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेट ७–५ ले जितेकी थिइन्। युवा खेलाडी फर्नान्डेजले सशक्त प्रदर्शन गर्दै पुनरागमन गरेपछि ओसाका ७–६ (७–२), ६–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन्।
२३ वर्षीया ओसाकाले गत वर्ष बेलारुसकी भिक्टोरिया अजरेन्कालाई पराजित गर्दै दोस्रो पटक यूएस ओपनको उपाधि जितेकी थिइन्। गत मेमा फ्रेन्च ओपनबाट नाम फिर्ता लिएपछि उनी पहिलो पटक ग्रान्डस्लाम भिडन्तमा उत्रिएकी हुन्। आफ्नै देशमा भएको टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी ओसाकाले घरेलु कोर्टमा कुनै जादु देखाउन सकिनन्। उनी तेस्रो चरणबाट बाहिरिएकी थिइन्।
सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै ओसाका मानसिक रोगको सिकार भएकी थिइन्। अमेरिकामा सञ्चालन भएको यूएस ओपनमा सेरेनालाई पराजित गरेपछि आफू मानसिक रुपमा विचलित हुँदै आएको ओसाकाले बताएकी थिइन्। फ्रेन्च ओपन बिचैमा छाडेकी ओसाकाले गत जुनमा आयोजना भएको विम्बल्डनबाट पनि नाम फिर्ता लिएकी थिइन्।
साविक विजेता ओसाकालाई स्तब्ध पारेकी फर्नान्डेजले अर्की ग्रान्डस्लाम विजेता एन्जलिक कर्बरको सामना गर्नेछिन्। ‘साविक विजेता ओसाकासँग सुरुदेखि नै उत्कृष्ट खेल खेल्छु भन्ने आत्मविश्वास थियो’, फर्नान्डेजले खेलपछि भनिन्, ‘म ओसाकामाथि होइन, आफ्नो खेलमाथि ध्यान दिइरहेको थिएँ। दर्शकले पनि मेरो पक्षमा हुटिङ गरे। त्यसले पनि खेल जित्न मलाई उत्साहित बनायो।’
जर्मनीकी कर्बरले पनि शनिबार नै चौथो चरणमा स्थान पक्का गरेकी थिइन्। उनले अमेरिकी खेलाडी स्लोएन स्टेफेन्सलाई ५–७, ६–२, ६–३ ले पराजित गरिन्। यसैगरी अर्को खेलमा स्पेनकी गार्बिन मुगुरुजाले बेलारुसकी भिक्टोरिया एजरेन्कालाई ६–४, ३–६, ६–२ ले पराजित गर्दै चौथो चरणमा स्थान बनाइन्। उनले अन्तिम १६ को खेलमा चेक रिपब्लिककी बारबोरा क्रेजिकोभाससँग प्रतिस्पर्धा गर्ने छन्। बारबोराले रसियन टेनिस सुन्दरी कामिला राखिमोवालाई पराजित गर्दै चौथो चरणमा स्थान बनाएकी थिइन्।
कमेन्ट गर्नुहोस्