कालीकोट, फागुन १३ गते । यसपालिको हिउँदमा पटक–पटक परेको हिउँदे वर्षाले किसानलाई उत्साहित बनाएको छ । आकाशेपानीको भरमा खेती गर्ने क्षेत्रका कृषकलाई हिउँदे वर्षाले बाली सप्रने भएकाले उत्साहित बनाएको हो । हिउँदे वर्षाले कालीकोटको सुक्खा क्षेत्र मानिने पलाँतामा राम्रो उत्पादन हुने आशा किसानले गरेका छन् । पलाँता गाउँपालिका–२ का गोरेबहादुर बमले यसपालिको हिउँदे वर्षाले किसानलाई फाइदा गर्ने बताउनुभयो । यही अवस्था रहिरहेमा पलाँतामा दुई वर्षलाई पुग्ने उत्पादन हुने दाबी उहाँको छ ।
६५ वर्षीय बमले खडेरी परेको वर्ष पेट पाल्नका लागि जिल्लाको रास्कोट क्षेत्रमा अन्न खरिद गर्न जाने र त्यहाँबाट खरिद गरी ल्याएको खाद्यान्नले परिवारको हातमुख जोड्ने गरेको स्मरण उहाँले गर्नुभयो । यस्तै, पलाँता गाउँपालिका–२ का दुर्गलाल न्यौपानेले पलाँताको जमिन उर्वर भए पनि सिँचाइ सुविधा नहुँदा सधैँ खाद्य सङ्कट हुँदै आएको बताउनुभयो । पलाँताको वडा नं १, २, ३, ४ र ५ मा सिँचाइ सुविधा छैन । यहाँका कृषकले आकाशेपानीको भरमा खेती गर्नुपर्छ । आकाशेपानी पनि समय–समयमा आएमा राम्रो उत्पादन हुने न्यौपानेको भनाइ छ । उहाँले धान उत्पादन कम भए पनि राम्रो वर्ष भएमा मकै, कोदो, फापर, चिनु र कागुना उत्पादन हुने जानकारी दिनुभयो ।
पलाँतामा सिँचाइ सुविधा भए बाह्रै महिना उत्पादन लिन सकिन्छ । तर, सिँचाइ सुविधा नहुँदा खाद्य सङ्कट भोग्नुपर्ने र जसकारण कतिपयले बसाइँ सराइसमेत गर्ने गरेका छन् । यसपालि हिउँदे वर्षा राम्रो हुँदा पलाँताको जमिन पूरै हरियाली छ । कात्तिक, मङ्सिरमा छरेको गहुँ, जौ बाली अहिले हरियो भएका छन् ।
स्थानीय बासिन्दा सुमन बमले अहिले पलाँतामा जता हे¥यो उतै हरियाली भएको बताउनुहुन्छ । हिउँदे वर्षाले बाली सप्रेर भोकमरी सहनु नपर्ने उहाँको भनाइ छ । बाली हरियो हुँदा कृषकको मुहारमा खुसी देखिएको छन् ।
कमेन्ट गर्नुहोस्