काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनविरुद्ध थप बल प्रयोग गरे नयाँ प्रतिबन्ध घोषणा गर्ने चेतावनी दिएका छन् । बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै बाइडेनले युक्रेनमाथिको सैन्य दबाब अन्त्य गर्न आग्रह गरेका ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले बताइन् ।
‘रुस–युक्रेनबीचको तनाव कम गर्न बाइडेनले आग्रह गर्नुभएको छ,’ साकीले भनिन्, ‘यदि रुसले युक्रेनमाथिको कारबाही जारी राखे अमेरिका र साझेदार मुलुकले निर्णायक रूपमै जवाफ दिने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।’
युक्रेनी सीमामा हजारौंको संख्यामा रुसले सेना परिचालन गरी आक्रमणको तयारी गरेको भन्दै विगत केही सातायता रुस र युक्रेनबीच तनाव बढेको छ । मस्कोले भने बारम्बार उक्त आरोपको खण्डन गर्दै आएको छ । रुसले आफ्नो क्षेत्रभित्र सेनालाई स्थानान्तरण गरेको र उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्रको रहेको पनि दाबी गरेको छ । रुसी सीमानानजिक नाटोको सैन्य गतिविधि बढेको र यसले मुलुकको सुरक्षालाई खतरामा पारेको उसको आरोप छ ।
रुसले पनि बाइडेनले चेतवानी दिएको पुष्टि गरेको छ । बाइडेनले आफ्ना रुसी समकक्षीलाई फोनवार्तामा युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम ननिक्लने बताएका पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले मस्कोमा पत्रकारहरूसँग बताए । जवाफमा पुटिनले रुसमाथि प्रतिबन्ध लगाए गम्भीर परिमाण भोग्नुपर्ने भन्दै अमेरिकालाई सचेत गराएका छन् । ‘यदि रुसमाथि त्यस्तो कदम चालिन्छ भने त्यो गम्भीर गल्ती हुनेछ, जसको परिणाम सुखद हुने छैन,’ पुटिनको भनाइ उद्धृत गर्दै उसाकोभले भने ।
उनले वार्ता निकै अर्थपूर्ण भएको र नयाँ वर्षपछि पनि निरन्तरता दिने सहमति भएको बताए । ‘सैद्धान्तिक रूपमा हामी वार्ताबाट सन्तुष्ट छौं, किनभने विषय र कुराकानी स्पष्ट, ठोस र विशिष्ट थियो । वार्ताको भावना रचनात्मक थियो,’ उनले भने ।
दुई समकक्षीबीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको संयुक्त राष्ट्रसंघले भने स्वागत गरेको छ । राष्ट्र संघ प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकसँग भनेकी छन्, ‘हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्छौं ।’
कमेन्ट गर्नुहोस्