सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरु भई सोमबार समाप्त हुनेछन् ।
यो चरणमा दुई स्थानमा खेल खेलाइनेछ । ६ खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । काठमाडौंमा शुक्रबार दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेल विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने पौने ५ बजेको खेलमा फ्रेन्ड्स र न्युरोड टिम एनआरटी भिड्दै छन् ।
यस्तै, शनिबार तीन खेल हुनेछ । काठमाडौंमा दिउँसो १ बजे र साँझ पौने ५ बजे हुनेछ भने पोखरामा दिउँसो २ बजे घरेलु टोली मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)को चुनौती लिनेछ । काठमाडौंमा पहिलो खेल थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् ।
तेस्रो दिन एक मात्रै खेल हुने आयोजकले जनाएको छ । आइतबार साँझ पौने ५ बजेको खेल नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । यस चरणको अन्तिम दिन अर्थात् सोमबार दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् ।
जारी लिगको छैटौँ चरणको खेल समाप्त हुँदा १४ अंकसहित मच्छिन्द्र शीर्षस्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मी तेस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्