काठमाडौं : नेकपा (माओवादी केन्द्र) को विधान परिमार्जनसहित पारित भएको छ। काठमाडौंको प्रज्ञा भवनमा शनिबार जारी बन्दसत्रमा पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामा केहि परिमार्जन गरेर पारित भएको हो।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएपनि विधान मस्यौदा पारित हुन नसकेपछि बन्दसत्र लम्बिएको हो। आठौं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्द सत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट उठेका प्रश्न, सुझाव र जिज्ञासाको जवाफ स्थायी कमिटी सदस्य गुरुङले दिएपछि विधान पारित गरिएको हो।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बुधबार र बिहीबार निष्कर्ष पेस गरेका थिए।
प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रबार बन्दसत्रमा प्रचण्डले जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित गरेपनि विधान मस्यौदा पारित हुन सकेन। विधान पारित भएकाले अब नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।
माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको थियो। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ। विधान पारित गरेपछि केही समयका लागि बन्दसत्र स्थगित भएको छ। अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको माओवादी केन्द्रले जनाएको छ।
पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भएपनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रुपान्तरण गरिएको थियो। प्रथम राष्ट्रिय सम्मेलनका लागि छनोट भएका प्रतिनिधि आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रुपान्तरण भएका हुन्।
कमेन्ट गर्नुहोस्