काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् । पार्टी केन्द्रीय कमिटी बैठकअन्तर्गत शनिबार समूहगत छलफलमा उठेका विभिन्न प्रश्न टोली नेताले प्रस्तुत गरेका थिए ।
बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेलले विधान संशोधनको विषयमा जवाफ दिने कार्यक्रम छ ।
‘तीनै जना नेताले जवाफ दिने र त्यसपछि अध्यक्षले सम्बोधनसँगै केन्द्रीय कमिटीको बैठक सकिनेछ,’ केन्द्रीय सदस्य हिक्मत कार्कीले भने ।
आगामी साता पहिलोपटक आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनबारे छलफल गर्न शुक्रबारबाट बैठक सुरु भएको हो ।
कमेन्ट गर्नुहोस्