काठमाडौं, भदौ १७ गते । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशव्यापीरुपमा भदौ १८ गते शुक्रबारदेखि गाउँ/नगर वडा तहको अधिवेशन सुरु हुने बताउनुभएको छ । काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्ममा पार्टीको चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुरुप वडा तहको अधिवेशन सुरु हुन लागेको हो । ढिलै भए पनि वडा तहको निर्वाचनको सुरुवात हुँदैछ, यो अवस्थामा देशको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा काँग्रेस एउटा जनताको भरोसा बन्ने दिशामा काम गर्नुपर्छ, नेता पौडेलले बताउनुभएको छ ।
शुक्रबार बिहान नेता पौडेलले आफ्नो आधिकारि सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा यस्तो धारणा राख्नुभएको हो ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारी र वर्षात्को विषम् परिस्थितिमा पनि साना–तिना निजी कुराहरुलाई बिर्सेर पार्टीको महान् लक्ष्यलाई ध्यानमा राख्दै संघर्षलाई मूर्त रुप दिलाउन पनि उहाँले पार्टीपंक्तिमा आग्रह गर्नुभयो । कोभिड–१९ महामारीमा लामो लाइनमा बसेर भोट हाल्नुपर्ने स्थिति पनि हुनसक्छ, यस्तो अवस्थमा पार्टीको चौधौं केन्द्रीय महाधिवेशनको महायज्ञलाई सफल बनाउन स्वास्थ्य मापदण्ड अप्नाएर तथा सामाजिक दुरी कायम गरेर निर्वाचनमा सहभागी हुन नेता पौडेलले आग्रह गर्नुभएको छ ।
काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीले सबल नेतृत्व हासिल गर्ने विषयमा पनि चिन्तित हुनुपर्ने धारणा उहाँले राख्नुभएको छ ।
कमेन्ट गर्नुहोस्