जकार्ता — इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार गएको भीषण बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ । कम्तीमा ७० जना बेपत्ता छन् ।
अधिकारीहरूले बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको पुष्टि गर्दै केही हराइरहेको जनाएका छन् । मृतकमध्ये १ सय ४० जना इन्डोनेसियाली हुन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । इन्डोनेसियाको विपद् न्यूनीकरण संस्थाले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाएका छन् ।
‘बाढीपहिलोपछिको लेदो र मौसमका कारण उद्धारमा चुनौती थपिएको छ,’ संस्थाका प्रवक्ता रादित्य जातीले भने । उनका अनुसार ड्यामहरूबाट बगेको पानीका कारण बस्तीहरू डुबानमा परेका हुन् । जसका कारण दर्जनौं घर तथा भौतिक संरचनाहरू क्षतिग्रस्त बनेका छन् । घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । फ्लोर्स टापुको विपद् संस्थाका प्रमुख अल्फोन्स हादा बेथानले ‘अझै केही हराइरहेका’ बताए ।
प्रभावितलाई औषधि, खाना र कपडा आवश्यक भएको उनको भनाइ छ । त्यस्तै, इस्ट टिमोरका अधिकारीहरूले बाढीपहिरोका कारण ३७ जना मृत्यु भएको पुष्टि गरेका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाप्रति दुःख व्यक्त गर्दै मौसममा सुधार नआएसम्म अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्