काठमाडौँ — एबी डी भिलियर्सले ४८ रन बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा रोयल च्यालेजर्न्स बेंग्लोरले शुक्रबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।
डी भिलियर्सले २७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेपछि बेंग्लोरले अन्तिम बलमा लक्ष्य पूरा गरेको हो ।
डी भिलियर्स खेल सकिनु २ बलअगाडि आउट भए, जतिखेर बेंग्लोरलाई जितनिम्ति २ रन चाहिन्थ्यो । विजयी रन बटुलेका हर्शल पटेल ४ रनमा अविजित रहे । ग्लेन म्याक्सवेलले २८ बलमा ३ चौका र २ छक्कासहित ३९, कप्तान विराट कोहलीले २९ बलमा ४ चौकासहित ३३ र वासिङटन सुन्दरले १० रन बनाए । मुम्बईका जसप्रित बुमराह र मार्को जेन्सनले २–२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पाण्ड्येले १–१ विकेट लिए ।
यसअघि हर्शल पटेलको ५ विकेटमा बेंग्लोरले मुम्बईलाई १५९–९ को स्कोरमा रोकेको थियो । गत सिजन दिल्ली क्यापिटल्सबाट ५ खेलमा ३ विकेटमात्र लिन सकेका पटेलले अन्तिम ओभरमै ३ विकेट लिई सानदार बलिङ गरे। पटेलले फालेको इनिङ्सको अन्तिम ओभरमा मुम्बईले ४ विकेट गुमाउँदा २ रनमात्र बनाउन सक्यो । उनले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिई म्यान अफ द म्याच प्रदर्शन गरे । केयल जेमिसन र सुन्दरले १–१ विकेट लिए ।
मुम्बईबाट ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए । उनले ३५ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । सूर्यकुमार यादव ३१, इशान किशन २८, कप्तान रोहित शर्मा १९ र हार्दिक पाण्ड्ये १३ रनमा आउट भए । मुम्बईले नोभेम्बरमा दिल्लीलाई पराजित गरी कीर्तिमानयुक्त पाँचौंपल्ट आईपीएल जितेको थियो ।
कमेन्ट गर्नुहोस्